|

काठमाडौं : आइतबार नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समयअघि नै कारोबार बन्द भएको शेयर बजार आज भने झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ। कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो।

आज सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, निर्जीवन बीमाको ४ सय  ५, उत्पादन समूहको २ सय २४, व्यापारको १ सय ३०, माइक्रो फाइनान्सको १ सय २७, जलविद्युतको ९८, अन्यको ८०, होटलको ६० र बैंकिङ समूहको शेयर ३१ अङ्कले बढेको छ।

आज दुई सय ६ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन्। आज रसुवागढी हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

यसैबीच पुनर्बिमा र निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीहरुलाई ‘एनएफआरएस’ विधिमार्फत वित्तीय विवरण प्रकाशन गर्न बिमा समितिले निर्देशन दिएको छ। बिमा समितिले आज परिपत्रमार्फत उक्त निर्देशन दिएको हो। बिमा समितिले पुनर्बिमा गर्ने कम्पनीका लागि ‘पुनर्बिमा व्यवसाय गर्ने बिमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७’ जारी गरेको छ।

नेपालमा पुनर्बिमा व्यवसाय गर्नेमा हाल एक मात्र ‘नेपाल पुनर्बिमा कम्पनी’ सञ्चालनमा रहेको छ। यस्तै, बिमा समितिले निर्जीवन बिमा कम्पनीका लागि ‘निर्जीवन बिमा व्यवसाय गर्ने बिमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरणसम्बन्धी निर्देशिका, २०७७’ जारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.