|

पछिल्लो समय मुलुकभरका विभिन्न ठाउँमा राजतन्त्र समर्थितको आन्दोलन र गणतन्त्रविरोधीले प्रदर्शन गर्न थालेका छन्।

२०६२-६३ सालको जनआन्दोलनको आडमा आएको गणतान्त्रिक व्यवस्था असफल भएको भन्दै देशभर गणतन्त्र विरोधी आन्दोलन दिन प्रतिदिन हुँदै गएको छ। राजनैतिक दलको अकर्मण्यता र शासकहरुले जिम्मेवार बहन गर्न नसक्दा पनि दिनहुँ यस्ता प्रदर्शन भइरहेका छन्।

सत्ता सञ्चालन दलभित्र किचलो भइरहेको समयमा सडकमा गणतन्त्रविरोधी आवाज निस्केको समयमा समाजशास्त्री तथा प्राध्यापक डा. पीताम्बर शर्मासँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको संक्षिप्त अंश :

देशभर पछिल्लो समय राजतन्त्र र हिन्दु राज्यको पक्षमा आवाज उठ्न थालेको छ। गणतन्त्र र संघीय शासन व्यवस्था असफल हुने संकेत हो?

असफल हुने संकेत होइन। राजनीतिको क्षेत्रमा जुन असंगति देखिएका छन् त्यसको फाइदा उठाउने अवसर मात्र हो। राजतन्त्रको भविष्य नेपालमा छैन। गणतन्त्र कसैले सिध्याएर सिद्धिने होइन। बेला-बेलामा आइलाग्ने समयको फाइदा उठाएर गर्ने मात्र हुन्।

सामन्तवादको अवशेष भनिएको राजतन्त्र हटाएर जनताको शासन व्यवस्था ल्याइएको गणतन्त्र र संघीयता प्रति यति चाँडै वितृष्णा बढेकै हो?

संघीयता र गणतन्त्रबाट जुन अपेक्षा साधारण जनताले गरेका थिए। राजनीतिक, आर्थिक, विकासका हिसाबका दृष्टिकोणले  र सामाजिक रुपान्तरणका हिसाबले नेपाल नयाँ बाटोमा हिँडछ भन्ने थियो। त्यो प्रति मानिसको भ्रम सिर्जना भएको छ।

भ्रमलाई राजनीतिक दलहरुले चिर्नुपर्छ र अहिले भएको खबरदारी प्रदर्शन उनीहरुको लागि चुनौती पनि हो। यसले सुध्र नभए अब विकल्प पनि छैन भन्न खोजेको जस्तो भएको छ। यसलाई समयमा उनीहरुले बुझ्नुपर्छ।

जब-जब सत्ताधारी राजनीतिक दलमा अस्थिरता पैदा हुन्छ यस्ता गतिविधि बढेका नेपालमा घटना सार्वजनिक भएका छन्। यस पटक सडकमा देखिएका राजावादीहरुका कारण गणतान्त्रिक व्यवस्थालाई चुनौती बढेकै हो त?

अहिले काम गर्न नसकेर चुनौती थपिँदै गएको छ। दुई तिहाइको बहुमत भएको सरकार छ। जनताका काम गर्न छोडेर र उनका स्वर सुन्न छोडी दलहरु आफ्नो किचलोमा रुमलिएर बसेका  छन्। सत्ता पक्ष यो सयमा बढी जिम्मेवार हुनुपर्ने हो त्यो पनि देखिदैन अझ प्रतिपक्ष पनि मौन छ। खाली ठाउँको फाइदा लिने उपाय हो जहाँसम्म यो राजनीतिक दलको अकर्मण्यताको परिणाम हो।

यो समयमा राजावादीहरुको जुन एउटा शक्ति छ त्यो पनि उदाउन खोजेको छ। राजा वादीको वैकल्पिक शक्ति जुन छन तिनीहरुलाई एकदमै सहज भएको छ तिनिहरुको लागि अगाडि आउन राम्रो अवसर बनेको छ। स्थापित राजा वादी पार्टीहरूबाट केही भएन अहिले चलेको लहरको भिडबाट हामी माथि निस्कन सकिन्छ भनी उनीहरु अगाडि तम्सेका हुन सक्छन्। आफ्नो पनि अस्तित्व छ भनेर देखाउने अवसर हुन सक्छ र यसलाई उनीहरुले आफ्नो वर्चस्व कायम गरिराख्ने अवसर पनि हुन सक्छ।

कम्युनिष्ट नेतृत्वको सरकार छ। तर, किन नागरिकहरु यतिसारो रुष्ट भएका हुन्?

नेपालमा कम्युनिष्ट भनिएकाहरु कोही पनि कम्युनिष्ट होइनन कम्युनिष्ट भनेकाहरू यस्ता हुँदैनन्। यिनीहरुको चरित्र मैले भन्नुभन्दा पनि उनीहरुको आम व्यवहारले देखाइरहेको छ।

उनीहरु को हो भनेर त्यसैले नेपालमा कोही पनि कम्युनिष्ट छैनन्। समाजवाद के हो त्यो पनि  बुझेका छैनन र समाजवादउन्मुख कसरी हुने त्यसका विशेषताहरु के हुन कति चरण कस्ता नीतिहरु हामीले अपनाउनुपर्छ भनेर स्पष्ट दिशाबोध नभएको पार्टीलाई  कम्युनिष्ट कसरी भन्ने त? कम्युनिष्टको सरकार भनेको भ्रममात्र हो। यो सरकारले लिएको नीति र यस अगाडि कंग्रेसले लिएको नीतिमा केही अन्तर रहेको छैन। नारा र व्यवहार अर्को भएको पाइन्छ। अहिले भइरहेको प्रदर्शनहरु नारा र व्यवहार बिचको विभेद हो त्यो विभेद प्रतिको प्रश्न चिन्ह अहिले छताछुल्ल भएको छ।

सरकारले काम गर्न नसकेको हो या नागरिकको अपेक्षा धेरै भएर यस्तो गडबडी भएको हो?

सरकारले काम गर्न नसकेर पनि र जनताको बढी अपेक्षा भएर यस्तो भएको हुन सक्छ। सरकारले गरेको काममा सन्तुष्टि लिन सकियोस् त्यो कुनैपनि काम हुन सकेको छैन। कोभिड महामारीको बेलामा सरकारले जुन कार्यक्रम ल्याउनुपर्थ्यो त्यो ल्याउन सकेनन्।

जनताले सरकारको आभास गर्ने भनेको संकटमा हो तर त्यस्तो केही पनि देख्न सकिदैन। स्थानीय,प्रदेश र केन्द्र सरकारले मिलेर तिनै तह मिली काम गर्दै जानुपर्थ्यो तर त्यसमा कुनै पनि काम हुन सकेन। जनताको सामाजिक र आर्थिक समस्या समाधान गर्न कोही पनि जागरुक देखिएनन्। कोभिडमा आशा लाग्दो काम केही गर्न नसकेपनि विकासको काम त गर्नुपर्थ्यो त्यो पनि पुरै ठप्प छ।

भएको रोजगारी सकिएको छ गुमेको रोजगारी कसरी सिर्जना गर्ने हो त्यस विषयमा केही ध्यान दिएको पाइदैन। जनतामा निराशाको परिणाम र अहिले भएका प्रदर्शन त्यसैका विम्वहरु हुन्। जुन नयाँ शासन हुने बेला थियो त्यस बखतमा यस्तो महामारी भएको छ यस्तो बेलामा जनताको बढी अपेक्षा थियो नै त्यसको परिणाम हो। घर-घरमा सिंहदरबार पुग्छ भन्ने थियो त्यसको आभास कसैले गर्न पाएका छैनन् त्यो सिंहदरबार सिमित वर्गले कब्जा गरेर कब्जा गरेर बसेका छन्। सत्तामा बसेकाले जसरी दुरुपयोग गरेका छन गाउँका सिंह दरबारमा पनि त्यहीँ भएको छ। काठमाडौंमा भन्दा पनि गाउँमा बढी राज्यको आवश्यकता महसुस गर्ने मानिसहरु बसेका छन्। पहिलेका शासक र अहिलेका शासकमा फरक देखिनुपर्छ। जनताले शासकमा फरक चाहेका छन्। 

दलहरु गैरजिम्मेवार हुँदैमा दरबारबाट हटाइएको राजालाई फेरि फर्काउन सकिन्छ र?

जनताले राजतन्त्रलाई बिर्सिए त्यो रछानमा गइसकेको  छ। राजतन्त्रलाई देखाएर एक प्रकारको पश्चगामी तत्वहरु अहिले सल्बलाएका हुन्। तिनीहरुलाई जवाफ दिने काम भनेको गणतन्त्र र संघीयता समर्थित दलहरुले त्यसको जवाफ दिनुपर्छ। सत्ताधारी राजनीतिक दलहरु र प्रतिपक्ष दलले पनि यस्तो समयमा आवाज निकाल्नुपर्छ। सर्वसाधारण तथा बुद्धिजीवीले एकै ठाउँमा आएर आफ्नो स्वर बुलन्द बनाउनुपर्छ। उनीहरुको अग्रसरतामा गणतन्त्र आएको भन्छन भने त्यसको रक्षा गर्नु पनि दायित्व हो। सरकार र अहिलेका राजनीतिको मूलधारमा रहेकालाई यो एक प्रकारको खबरदारी पनि हो।

अहिलेको अवस्थामा ल्याउन जनताले धेरै संघर्ष गरे तर अहिले आएर फेरि शासन व्यवस्था फेर्न खोज्नु कतिको उचित हुन्छ ?

मानिसहरुले आशा गरेको कुरा नपाउँदा निराश हुन्छन र स्वभाविक पनि हो। गैरजिम्मेवार हुँदा फेरबदलको कुरा हुनु स्वभाविक हो। खास सोचद्वारा यो अहिलेको आन्दोलन सञ्चालित छन्। त्यो बाहेक पनि साधारण जनता आक्रोश हुनु र माग राख्नु स्वभाविक हो। अहिले केही भएको छैन र माग उठाउनु स्वभाविक हो। निर्णायक तहमा बसेकाले यस विषयमा निर्णय गर्नुपर्छ। ठूलो लहर आयो भने व्यवस्थाप्रति प्रश्न चिन्ह खडा गर्ने र त्यसको मूल्यांकन पनि गर्दा हुन्छ। जनताले पनि गर्छन् यसमा कुनै दुईमत छैन र अहिले व्यवस्थामाथि प्रश्न चिन्ह खडा गर्ने बेला भएको छैन। खडा गरिएको पनि होइन अहिले भएको यो सबै खबरदारी हो।

दल बिग्रिए भन्दैमा गणतन्त्र पनि बिग्रियो भन्न मिल्छ र ?

सरकार जुन काम गर्नको निम्ती सरकारमा छ त्यो काम गर्नुपर्छ। दलले घोषणापत्रमा भएका कुरालाई बिर्सनुहुदैन। जे कुरा गर्छु भनी गए त्यसको त कार्यान्वय गर्नुपर्‍यो नि। त्यस अनुसार उनीहरुले काम गरेमा यस्ता समस्या आउदैंनन्। विकास, आर्थिक क्रियाकलापको काम अगाडि बढाउनुपर्यो र रोजगारी सिर्जना गर्नुपर्छ। भ्रष्टाचार निर्मुल गर्नुपरो र त्यसलाई संरक्षण गर्ने हो भने यस्ता आवाज उठ्नु स्वभाविक हो।

समाज र राजनीतिक दलको तादम्यता नमिल्दा पनि यस्ता गतिविधि बढेको हो?

समाजमा आर्थिक,शैक्षिक र सामाजिक रुपान्तरण होस भन्ने ठूलो चाहना छ। तर, चाहनालाई एकदमै धेरै बेवास्ता गरिएको छ। जनताको चाहना अनुरुप राजनीतिक दलले काम गर्न सकेका छैनन्। राजतन्त्रको नाममा राजनीतिक दलको विरोध भएको छ त्यो काम स्वयं सत्ताधारी र प्रतिपक्षका मानिसमा पनि छन्। तर, ति मानिसहरु निस्कन नसकेका मात्र हुन्। त्यस्ता मानिसहरु जब सडकमा निस्कन थाल्छन तब परिणाम भयावह पनि हुन सक्छन्। समाजलाई सधैंभरी राज्य र राजनीतिक दलले सम्मान गर्नुपर्छ। यो भनेको जनताको आवाज हो। जनताको आवाजलाई सुन्नुपर्छ सधैंभरी नसुन्दाको परिणाम कोही बेला सोचेभन्दा पनि फरक आउन सक्छ त्यसबेला त्यस्ता परिणामको सामना गर्न सक्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.