२० प्रतिशत नि:शुल्क, शुरूमा स्वास्थ्यकर्मीलाई लगाइने

|

काठमाडौं : यतिखेर विभिन्न विकसित मुलुकले कोरोना भाइरसविरुद्ध बनाएको खोपको तेस्रो परीक्षण गरिरहेका छन्। परीक्षण सफल हुनासाथ नेपालले पनि खोप ल्याउने तयारी तीव्रतासाथ अघि बढाएको छ। 

नेपालले कोरोना विरुद्धको खोप अब भारत र चीनबाट ल्याउने भएको छ। दुई छिमेकी देशबाट ल्याउँदा नेपालले २० प्रतिशत खोप नि:शुल्क प्राप्त गर्नेछ।

अमेरिकी कम्पनी फाइजरले बनाएको खोप आपतकालीन प्रयोग गर्न खोजेपनि नेपालले उपयोग गरेको थिएन। सो कम्पनीले बनाएको खोप धेरै महंगो र भण्डारणमा समेत समस्या पर्ने देखिएकाले अब नेपालमा भारत र चीननिर्मित खोप उपयुक्त हुने पाटन अस्पतालमा कार्यरत डा. बुद्ध बस्नेतले बताए। उनी औषधी विज्ञानमा अनुसन्धानरत चिकित्सक हुन्‌। 

‘अहिले आपतकालीन प्रयोग निम्ति अनुमति मागेका केही खोपको मूल्य धेरै हुनुका साथै भण्डाण गरेर राख्न पनि गाह्रो हुने हुँदा हाम्रो लागि चीन भारतजस्ता देशमै बनेका खोप प्रयोग गर्नु उपयुक्त हुन्छ,' उनले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनाको आनुवंशिक संरचना अध्ययन गरिसकेको र त्यसको निष्कर्षले यहाँ फैलिएको भाइरस भारत र साउदी अरेबियामा फैलिएको भाइरसको प्रकृतिसँग मिल्दोजुल्दो रहेको देखाएको थियो।

मन्त्रालयको कोभिड भ्याक्सिन सल्लाहकार समितिले नेपालमा भ्याक्सिन पाउने मानिसको संख्या, आवश्यक भ्याक्सिनको परिमाण, लागत टुंगो लगाइसकेको छ। नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ।

कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशत र बाँकी सरकारले ब्यहोर्दा कोरोना विरुद्धको खोपमा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने अनुमान मन्त्रालयले गरेको छ। कोभ्याक्स फ्यासिलिटीमा खोपमा काम गर्ने संख्याहरू विश्व स्वास्थ्य संगठन, गाभीलगायत संस्था आवद्ध छन्‌।

नेपालमा शुरूमा २० प्रतिशत भ्याक्सिन नि:शुल्क ल्याइनेछ। पहिलो चरणमा ल्याइने ३ प्रतिशत भ्याक्सिन जोखिमका आधारमा स्वास्थ्यकर्मीलाई दिइनेछ।

बाँकी १७ प्रतिशत भ्याक्सिन सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने व्यक्ति, दीर्घरोगी र वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई लगाइने योजना सरकारले बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.