|

काठमाडौं : मेलम्चीको पानी चार महिनाभित्र सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झारिने भएको छ। सुरूङमा रहेका त्रुटि सच्याइरहेको खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताएका छन्।

गत असार महिनामा सुरूङ परीक्षण गर्ने क्रममा दुर्घटना भएको थियो। सूचना अधिकारी पन्तले थाहाखबरसँग भने, ‘विदेशबाट प्राविधिक टोली आउँदैछन्, परीक्षणलगायत सबै काम सकेर चार महिनाभित्र सुन्दरीजलमा पानी झर्छ।’

उनका अनुसार प्राविधिक टोली आइसकेपछि पुनः परीक्षण गर्न दुई महिना समय लाग्ने छ। टोलीले प्रतिवेदन बुझाइ सकेपछि मात्रै पानी झारिने छ।

सुन्दरीजलमा पानी झरेलगत्तै उपत्यकामा वितरण

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले सुन्दरीजलमा पानी झारे लगत्तै उपत्यकाका घर-घरमा पानी वितरण गरिने बताए। ​उनका अनुसार अहिले पानी प्रवाह गर्ने मुख्य लाइनको काम भइरहेको छ। मुख्य प्रसारण लाइनअन्तर्गत १४ सयदेखि ६ सय एमएमका ७७ किलोमिटरमा काम सकिसकेको छ। ‘यो सुन्दरीजलबाट उपत्यकाको पानी ट्यांकीसम्म पुर्‍याउने मुख्य पाइप हो,’ उनले भने, ‘चक्रपथमा १० वटा पानी ट्यांकी बनाउनुपर्नेमा ९ वटा सकिसकेको छ।’

निर्देशनालयले ट्यांकीबाट पानी घरघरमा पुर्‍याउन एक हजार १० किलोमिटर पाइप विस्तार गर्नुपर्नेछ। अहिलेसम्म ९ सय ९० किलोमिटर पाइप बिछ्याउने काम सकिएको र धारा जडानको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

तत्कालका लागि नयाँ पाइप लाइन र सुन्दरीजलबाट वितरण गरिरहेको पुरानै वितरण प्रणालीबाट मेलम्चीको पानी वितरण गरिने जानकारी दिँदै उनले भने, ‘हामीले साना क्षेत्रमा बिछ्याएका पाइप परीक्षण गरिसकेका छौँ, अब ठूला पाइपमा परिक्षण गर्न बाँकी छ, यसको पनि दुई महिनाभित्र त्यो पनि गरिसक्छौँ।’ 

लामो समयपश्चात् गत असारमा पहिलो मेलम्ची खानेपानी आयोजनाको परीक्षण भएको थियो। त्यस क्रममा रहेको सुरूङको गेट फुट्दा इञ्जिनियर सतिश गोइत र सवारीचालक राधाकृष्ण थापामगर बेपत्ता भएका थिए।

इञ्जिनियर गोइतको शव भोलिपल्ट फेला परेको थियो भने चालक थापामगर अझै बेपत्ता छन्। परामर्शदाता दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनाल घाइते भएका थिए।

यसरी शुरू भएको थियो मेलम्ची खानेपानी आयोजना 

सन् २००१ मा ३७ अर्ब रुपैयाँ बजेट विनियोजन गरी यो आयोजना निर्माणको काम आधिकारिक रूपमा शुरू भएको थियो। 

देशमा निर्दलीय पञ्चायत व्यवस्था भएकै बेला २०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजना सम्भाव्यता अध्ययन गरेको थियो। तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो।

२०४७ मा स्टेनले एन्ड एसोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने, २०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो।

खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरो ग्रुप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो।

सम्झौता अनुसार काम नभएपछि ६ किलोमिटर सुरूङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो। त्यसपछि ०७३ वैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनीको अपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरूङ र बाँधको काम सक्ने गरी नयाँ ठेक्का सम्झौता गरियो।

मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्य अनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको थियो। 

पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर, दोस्रो चरणमा याङ्‌रीबाट १७ करोड लिटर र तेस्रो चरणमा लार्केबाट दैनिक १७ करोडसमेत गरी काठमाडौं उपत्यका दैनिक ५१ करोड लिटर पानी लैजाने योजना रहेको छ। अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजना निर्माणको काम गरिरहेको छ।

२०४७ पछि र गणतन्त्र आएपछिका सरकारले पटक–पटक कहिले दशैँको बेला त कहिले नयाँ बर्षमा उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने भनी आश्वासन दिएपनि अहिलेसम्म काम पूरा भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.