सामुदायिक वनका उपभोक्ताको अवरोधले दुई वर्षदेखि काम हुन सकेन

|

ओखलढुंगा : उदयपुरमा प्रसारण लाइन निर्माणमा अवरुद्ध भएपछि राष्ट्रिय गौरवको आयोजना सोलु करिडोरको विद्युत् खेर गइरहेको छ। प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा दुई वर्षदेखि अवरुद्ध भइरहेकाले यो अवस्था आएको हो। 

उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताले दुई वर्षदेखि प्रसारण लाइन विस्तारमा अवरोध गरिरहेका छन्। अवरोधका कारण प्रसारण लाइन निर्माण दुई वर्षयता रोकिएको छ।

कटारी नगरपालिका–४ मरुवाका स्थानीयवासीले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइनमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याइरहेका कारण कममा ढिलाइ भएको करिडोर प्रमुख जनार्दन गौतमले बताए।

मरुवाको समस्या समाधान भए समयमा काम सकिने उनको भनाइ छ। सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय ग्रिडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको भए पनि उदयपुरको अवरोधका कारण काम बढ्न सकेको छैन।

गत २०७६  माघ २०  देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ दशमलव ५ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको सोलु करिडो आयोजना प्रमुख गौतमले बताए।

यो प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा १९ मेगावाट बढी विद्युत् खेर गइरहेको र प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बू र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिन सम्भव हुने उनले बताए। प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यस प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो। बिनाअवरोध काम भएको भए २०७६ माघमा यो आयोजनाको निर्माण सम्पन्न भइसकेको हुने थियो।

उदयपुरमा पनि टावर निर्माणमा अवरोध

त्यसैगरी उदयपुरमा पर्ने १४१ टावरमध्ये १० वटा टावर निर्माणमा अवरोध भएको छ। ओखलढुंगामा ११२, सोलुखुम्बुमा २४ र सिरहामा २५ वटा टावर निर्माण भइसकेका छन्।

सोलुखुम्बूको तिन्लादेखि बेलीडाँडासम्म ४.५ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सकिएको छ। तिङ्लामा १३२, ३३, ३३ र ११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सिरहाबाट गएको ३३ केभी लाइनलाई तिङ्ला सबस्टेसनमा जोडिएको छ।

प्रसारण लाइनको काम २०७६ को माघभित्र सक्ने लक्ष्य राखिएको थियो। यो प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग पिपिए गरेका १२ जलविद्युत् आयोजनाको ३२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ। सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलुखोला आयोजना पनि यही लाइनमा जोडिनेछन्।

यी आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाले प्रसारण लाइन अभावमा खेर जाने चिन्ता प्रवर्द्धकले गर्दै आएका छन्। यी आयोजनाको विद्युत् जोड्न प्राधिकरणले प्रसारण लाइन समयमा तयार नगरे प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नुपर्ने व्यवस्था पिपिएमा छ। सोलु आयोजना विद्युत् उत्पादनको चरणमा पुगेकाले प्राधिकरणले ३३ केभी लाइनमा जोड्ने विकल्प दिएको छ।

३३ केभी लाइनमार्फत सबै विद्युत् जोड्न सम्भव नहुने प्रवर्द्धकले बताउँदै आएका छन्। नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झण्डै दुई वर्ष ढिला गरी सुरु भएको थियो।

प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो। निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिसकेको छ।

सन् २५ सेप्टेम्बर २०१६ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.