|

विराटनगर : पर्यटकीय सिजनका बेला लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक/पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्न समेत मुस्किल पर्थ्यो।

तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ। पर्यटन आवागमन शुरू हुन थालेपछि सम्भवत: यो पालि नै खुम्बु क्षेत्र बढी सुनसान भएको हो। 

१५ वर्षयता होटल व्यवसाय गरिरहेका आङदावा शेर्पा अहिले पर्यटक हिँड्ने बाटो हेर्दै चिन्तित हुने गरेका छन्‌। ‘होटल नर्थफेस रिसोर्ट’ संचालक शेर्पा फाट्टफुट्ट आउने गरेका आन्तरिक पर्यटककै भरमा यहाँ मुस्किलले टिकिरहेका छन्‌। 

लुक्लामा वर्षको दुईपटक पर्यटकको ओइरो लाग्छ। मार्च–अप्रिल (फागुन–वैशाख) र सेप्टेम्बर–नोभेम्बर (भदौ–कात्तिक) तिर होटलमा बास पाउनै मुस्किल पर्छ। यो मौसममा पर्यटकहरू होटल ‘बुक’ गरेरै आउने गर्थे।

लुक्लामा साना ठूला गरी ५० होटल छन्। यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन्। पर्यटक नआउँदा उनीहरू सबैको खाने मेलो गुमेको छ

लुक्लालाई सगरमाथाको प्रवेशद्वार भनिन्छ। तर, ‘एभरेष्ट ट्रेल’ मा जाने पर्यटकको गन्तव्य लुक्लाबाटै शुरू हुन्छ। कोरोना भाइरस महामारीको असर लुक्ला देखिकै होटल तथा पर्यटन व्यवसायमा परेको छ।

हवाइजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, तेङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्छन्। यी सबै गन्तव्यको शुरूवाती विन्दु लुक्ला नै हो।

सरकारले बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै यो क्षेत्रमा पर्यटक घटेको होटल व्यवसायीहरू बताउँछन्‌। कोरोना फैलनुअघि होटल लुक्ला गत मार्च (फागुन दोस्रो हप्ता) देखि नै बुकिङ भएको थियो। मार्च र अप्रिलमा ५० भन्दा बढी विदेशी समूहले उक्त होटलका लागि गरेका बुकिङ रद्द भए। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको सिजनमा त कुनै बुकिङ नै भएन। होटल बुकिङ गर्ने एउटा समूहमा कम्तीमा ६ जना र बढीमा २० जनासम्म हुन्छन्।

कोरोनाको असर खुम्बु क्षेत्रका सानाठूला सबै होटलमा परेको छ। यसपटकको कथा भने बेग्लै रह्यो। एयरलाइन्सहरू नेपालीलाई लैजान प्याकेज बनाइरहेका छन्। तर, त्यसअघि चैत यता ६ महिना लुक्ला विमानस्थल सुनसान भयो।

५ असोजमा आन्तरिक उडान खुलेपछि बल्ल फाट्टफुट्ट हवाइजहाज आउन थाले। नेपालको डोमेस्टिक विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामै छ।

अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने यो विमानस्थलमा सामान्य अवस्थामा दैनिक १०० हाराहारीमा उडान र अवतरण हुन्छ। तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका निमित्त प्रमुख ज्योति प्रकाश शाहका अनुसार यतिखेर दैनिक बढीमा पाँच वटा उडान हुँदै आएको छ।

खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले कोरोना संक्रमण भएसँगै लुक्ला क्षेत्रमा गएको साउनदेखि कात्तिक मसान्तसम्मको पहिलो चौमासिकमा १ सय ८० जना विदेशी पर्यटक आएको जानकारी दिए। बुढाथोकीका अनुसार यो सिजनमा समान्य अवस्थामा दैनिक ८ सय जनासम्म विदेशी पर्यटक आउने गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.