|

उदयपुर : उदयपुरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। योसँगै नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम ६१ जिल्लामा लागू गरेको छ।

स्वास्थ्योपचारमा पहुँच नभएका र सामान्य परिवारका बिरामीलाई समेत उपचारमा पहुँच पुर्‍याउने उद्‍देश्यले नेपाल सरकारले राष्ट्रिय बिमा बोर्डमार्फत यो कार्यक्रम अघि सारेको हो। बोर्डले बुधबार सदरमुकाम गाईघाटमा औपचारिक कार्यक्रमको आयोजना गरी बिमा कार्यक्रम लागू भएको जनाएको छ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले उदयपुरका ज्येष्ठ नागरिक भुवनसिंह श्रेष्ठलाई बिमा परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा बोल्दै सांसद थापाले संविधानले नै स्वास्थ्य अधिकार सुरक्षित राखेकाले बिमामा जनताको थोरै सहभागितामा धेरै प्रतिफल लिन सकिने बताइन्।

कार्यक्रममा कार्यकारी निर्देशक दामोदर निरौलाले केन्द्र र प्रदेश बिमा बोर्डमार्फत जिल्लाका आठ वटै स्थानीय तहमा कार्यक्रम सुरु भएको जानकारी दिए। कार्यक्रम सुरु हुनपुर्व जिल्लाका ७५ वटै वडामा एक जना दर्ता सहयोगी छनोट गरी यसबारे उनीहरूलाई अभिमुखीकरण गराइएको बताए। 

उनले भने, ‘सहयोगी छनोटदेखि अभिमुखिकरणसमेत भइसकेको छ, अब दीक्षित भएका व्यक्ति घरघरै पुगेर अभियानको जानकारी दिने र इच्छुकलाई बिमामा आवद्ध गराउने काम गर्नेछन्।

स्वास्थ्य बिमामा आबद्ध हुन चाहने परिवारका अधिकतम पाँच जनाका लागि तीन हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

यसका अलावा थप सदस्य भए प्रति व्यक्ति सात सय रुपैँया दस्तुर लाग्नेछ। उपचार सेवा लिने व्‍यक्तिले परिचय पत्रका आधारमा तोकिएको अस्पताल वा स्वास्थ्य केन्द्रबाट एक वर्षसम्म एकलाख रुपैयाँसम्मको उपचार खर्च छुट पाउनेछन्।

त्यसैगरी, थप गरिएका सदस्यको हकमा भने अधिकतम दुई लाखसम्म लिन सकिने व्यवस्था रहेको बिमा बोर्डका सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए। स्वास्थ्य बिमामा आबद्ध व्यक्तिले उपचारका लागि बोर्डले स्वीकृति दिएका अस्पतालमा मात्र उपचार गराउनु पर्नेछ।

स्वास्थ्य बिमा कार्यक्रम पूर्ण रुपका अपांगता भएका, एचआइभी संक्रमित, कुष्ठरोग भएका व्‍यक्ति र ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले भने बिमाबापत लाग्ने कुनै पनि शुल्क तिर्नु नपर्ने उनले बताए।

बोर्डका निर्देशक टीका चापागाईंका अनुसार स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिनेछ। साथै बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन्।

नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यअनुरूप राष्ट्रिय बिमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष ०७२/७३ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.