|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्या हिंसाको बाटो छोडेर वार्तामा आउन आग्रह गरेको छ। बिहीबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले विप्लवका कार्यकर्ताले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको तीन दिनपछि कांग्रेसले यस विषयमा छलफल गरेको हो। 

‘२९ गते कांग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। त्यसैको तयारीको लागि आजको पदाधिकारी बैठक बसे पनि अन्य केही विषयमा पनि छलफल भयो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले थाहाखबरसँग भने, ‘बैठकमा मोरङमा शिक्षक हत्याको घटनाको विषयमा पनि छलफल भयो। हत्याको जिम्मा लिने विप्लव समूहलाई मारकाटको बाटो छोडेर शान्तिमा आउन कांग्रेसको आग्रह छ।’ 

उनले शान्तिको बाटोमा आएर वार्ताको माध्यमबाट समस्या हल गर्न सकिने बताए। ‘शान्तिको बाटोमा आएर वार्ताको माध्यमबाट समस्या हल गर्न सकिन्छ,’ उनले भने, ‘वार्ताका लागि सरकारी पक्षको पनि चाहना हुनुपर्‍यो प्रयास गर्नुपर्‍यो।’

आजको बैठकले शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कानून बमोजिम कारबाहीको माग पनि गरेको छ। ‘उक्त घटना असाध्यै निर्मम घटना हो,’ उनले भने, ‘राज्यको व्यवस्थाप्रति असन्तुष्ट भएर निर्दाेष जनतालाई दुख दिने, व्यक्ति हत्यामै उत्रिनु सही होइन। कांग्रेसले उक्त घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गरेको छ।’  

गत मंगलबार विप्लव नेतृत्वको नेकपाले मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरी घटनाको जिम्मा लिएको थियो। विप्लव माओवादीले आफ्ना कार्यकर्ता पक्राउ गर्न राज्यलाई सहयोग गरेको, सुराकी गरेको आरोप शिक्षक श्रेष्ठमाथि लगाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.