|

अर्जुन मैनाली

सन्‌ २०१९ को नोभेम्बरमा थाहा लागेको कोरोना भाइरस महामारीकै रूपमा विश्वव्यापी रूपमा फैलियो। करोडौँ मानिसहरू संक्रमित भए। लाखौँले जीवन गुमाए। 

मानिसहरू डराएर घरभित्रै बस्न थाले। पूर्वनिर्धारित रक्तदान कार्यक्रमहरू रद्द भए। रगतको आपूर्ति घट्यो। अस्पतालमा बिरामीहरूले रगत पाउन सकेनन्।

यस्तै बीचमा न्यूयोर्क ब्लड सेन्टरले बिरामीहरूको लागि रगत र रक्त तत्व एकदमै कम छ भन्दै मलाई इमेल पठाइरहे। उनीहरूले सामाजिक दूरी राख्दै मास्क लगाएर सुरक्षित तरिकाले रक्तदान गर्न सकिन्छ भन्न थाले। अमेरिकन रेडक्रस रक्त सेवाले पनि त्यस्तै भन्यो।

यसरी महामारीको यो ९ महिनाको अवधिमा २१ पटक रगत (तीन पटक होल ब्लड र अठार पटक प्लेट्लेट्स) दान गरेँ। रक्तदान कार्यक्रम गर्न सहयोग गरेँ। रक्तदान उत्प्रेरणाको लागि सहयोग गरेँ। 

मलाई पनि यस्तै महामारीको बेलामा झन बढी रक्तदान गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले अप्रिल २४ मा अमेरिकन रेडक्रस,फार्मिङ्गटन,कनेक्टी कटमा रक्तदान गरेँ। घर फर्केपछि श्रीमतीलाई 'आज मैले रक्तदान गरेँ नि!' भनेँ। समुदायका मानिसहरूलाई पनि रक्तदान गर्न हौसला मिलोस्‌ भनेर सामाजिक सञ्जालमा रक्तदान गर्दै गर्दाको फोटो राखेँ। रक्तदान कार्यक्रम आयोजना गर्न सक्ने सम्भावित संघ संस्थालाई यस्तो महामारीका बीच मैले रक्तदान गरेको इमेल लेखेँ।

श्रीमती डराउँदै, बाहिरको एकजना बिरामी बचाउन घरका सबैजना मार्ने भन्दै गाली गर्न थालिन्। मैले सम्झाउँदै रक्तदान गर्दैमा कोरोना सर्दैन भनेर बुझाउन प्रयास गरेँ। श्रीमतीले मेरो कुरा सुन्ने प्रयत्न नै गरिनन्। त्यसपछि हरेक दुई-तीन हप्तामा न्यूयोर्क ब्लड सेन्टरमा गएर प्लेटलेट्‌स दान गर्न थालेँ। तर, श्रीमतीलाई भनिनँ।

जुन २६ मा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङले फोन गर्दै, 'हामी पनि रक्तदान कार्यक्रम आयोजना गर्छौं' भन्नुभयो। उहाँहरू र ब्लड बैङ्कबीच समन्वय गराएँ। रक्तदान कार्यक्रममा आवश्यक खर्चका लागि २०० डलर सहयोग गरेँ। त्यसपछिका ५ महिनाको अवधिमा विभिन्‍न ८ वटा नेपाली संघसंस्थाले न्यूयोर्कमा रक्तदान कार्यक्रम राखेँ। यी सबै रक्तदान कार्यक्रममा सहभागी भएँ। 

करीब ६०० जना नेपालीहरूले रक्तदान गरे। रक्तदान गर्ने धेरैजसोले रक्तदान गरेका फोटोहरू सामाजिक सञ्जालमा राखे। रक्तदान गर्दैमा कोरोना लाग्दो रहेनछ भन्ने श्रीमतीलाई महसुस भएको जस्तो लाग्यो। मैले पनि पछिका दिनहरूमा खुसुखुसु ब्लड बैंक जाँदै रक्तदान गरेका धेरै तस्वीरहरू सामाजिक सञ्जालमा राखेँ। श्रीमती छक्क परिन्‌। 

रक्तदान सम्बन्धी मेरा हरेक गतिबिधि जाजरकोटका जनक केसीलाई थाहा रहेछ। उनले पनि आफ्नो जिल्लामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न इच्छा राखे। विगतमा जाजरकोटमा रगत अभावमा सुत्केरी तथा बिपन्न समुदायका नागरिकहरूले जीवन गुमाउनु परेको समाचार आएका थिए।

न्यूयोर्कमा यी कामहरू हुँदै गर्दा नेपालमा पनि रगत संकलन एकदमै कम भइरहेको थियो। कोरोना नफैलियोस् भनेर नेपाल सरकारले विभिन्‍न कार्यालयहरू बन्द गर्दै जनताहरूलाई घरभित्रै बस्न भनेको थियो। अस्पतालका बिरामीहरूलाई रगत उपलब्ध गराइ राख्न ब्लड डोनर्स एसोसिएसन नेपालले हरेक दिन रक्तदान कार्यक्रम राखेको थियो। मैले पनि रक्तदान कार्यक्रममा आवश्यक खर्चको लागि ५० हजार रुपैयाँ सहयोग पठाएँ। तीन महिनाको अवधिमा १०० वटा रक्तदान कार्यक्रम गर्दा ६,२७२ युनिट रगत संकलन भएछ। यसै गरी रक्तदान कार्यक्रम गरिरहनु भनेर पुन: २५ हजार रुपैयाँ सहयोग पठाएँ।

कोरोना महामारीका बेला काठमाडौंमा लक डाउन हुँदा बेरोजगारी मजदुरलाई सामूहिक खाना खुवाउने कार्यक्रममा काठमाडौं महानगरपालिका २९ नम्बरका वडा सदस्य अर्जुन बहादुर श्रेष्ठमार्फत १० हजार रुपैयाँ सहयोग पठाएँ। त्यसताका बाजुरा र हुम्लाका गरीब व्यक्तिहरूलाई  खाद्यान्न वितरण गर्ने कार्यक्रममा बाजुराका प्रकाश सिंहमार्फत १०/१० हजार रुपैयाँ सहयोग पठाएँ। काठमाडौंको हाम्रो लाइफ बैङ्कलाई १५ हजार रुपैयाँ सहयोग गरेँ।

बाजुरामा रक्तदाता संस्था गठन गर्न लक्ष्मीराज पाण्डेमार्फत १० हजार रुपैयाँ सहयोग पठाएँ। त्यसैगरी बैतडीमा पनि रक्तदाता संस्था गठन गर्न र जिल्ला अस्पतालसँग मिलेर सम्भावित युवाहरूको रक्त समुह परीक्षण गर्न तृप्ति शाहीमार्फत २० हजार रुपैयाँ सहयोग पठाएँ।

रक्तदानसम्बन्धी मेरा हरेक गतिविधि जाजरकोटका जनक केसीलाई थाहा रहेछ। उनले पनि आफ्नो जिल्लामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न इच्छा राखे। विगतमा जाजरकोटमा रगत अभावमा सुत्केरी तथा विपन्न समुदायका नागरिकहरूले जीवन गुमाउनु परेको समाचार आएका थिए।

त्यस क्षेत्रका युवाहरूमा रक्तदान गराउन उत्प्रेरणा कार्यक्रम गर्नैपर्ने थियो। जनक केसीसँग मिलेर 'म रक्तदान गर्नेछु' विषयमा जाजरकोटका माध्यमिक विद्यालयहरूमा निबन्ध प्रतियोगिता गराउन ६० हजार रुपैयाँ सहयोग पठाएँ। डिसेम्बर ७ मा सयौँ विद्यार्थीको उपस्थितिमा १६ जना विद्यार्थीहरूले निबन्ध प्रतियोगितामा भाग लिएछन्। भविष्यमा रक्तदाताहरूको संख्यामा उल्लेख्य वृद्धि गर्न र रक्तदानजस्तो पवित्र काममा युवा पुस्तालाई यो प्रतियोगिताले प्रेरित गर्छ जस्तो लाग्यो।

रक्तदान गरेर अरुको जीवन बचाउने काम संसारकै पवित्र हो भन्ने सन्देश दिन सकेँ। नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले रक्तदान बढाउनका लागि महत्वपूर्ण सहयोग र चासो राखेको भन्दै मलाई धन्यवाद दिएछन्।  

यता न्यूयोर्कमा कोरोना महामारीका बेलामा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्षहरूलाई वर्ल्ड ब्लड डोनर अवार्डबाट सम्मान गरेँ। वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली संस्थाको अध्यक्षका हैसियतले समाजमा राम्रा काम गर्नेलाई सहयोग र सम्मान गर्न पाउनु पनि मेरो लागि ठूलै अवसर थियो।

यसरी महामारीको यो ९ महिनाको अवधिमा २१ पटक रगत (तीन पटक होल ब्लड र अठार पटक प्लेट्लेट्स) दान गरेँ। रक्तदान कार्यक्रम गर्न सहयोग गरेँ। रक्तदान उत्प्रेरणाको लागि सहयोग गरेँ। 

१ पटक रक्त तत्व दान गर्न जाँदा करीब ४ घण्टा समय लाग्दोरहेछ। त्यस हिसाबले २१ पटक दान गर्दा ८४ घण्टा र ८ वटा रक्तदान कार्यक्रममा ५ घण्टाका दरले ४० घण्टासहित कोरोना महामारी बीच १२४ घण्टा बिताएको छु। यत्तिका समय, साधन श्रोत र रक्तदानबाट समुदायका धेरै बिरामीहरूलाई बच्चाउन सकिएको छ। धेरै खुशी लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.