|

सोलु : ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने पत्ताले मनोरम हिमालका दृष्यावलोकन गर्नका लागि उपयुक्त डाँडा बनेको छ। यहाँबाट सगरमाथा, मकालु, कन्चनजङ्गा, लोत्से, नुम्बुर, कार्यालुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कुलगायतका सुन्दर हिमालको दृश्यावलोकन गर्न सकिन्छ।

पत्तालेमा विभिन्न प्रजातिका लाली गुराँस र जडीबुटीको दृश्यावलोकन र सुगन्धमा रमाउन पनि सकिन्छ। हिमशृंखला अवलोकनको नयाँ गन्तव्य बनेको पत्ताले डाँडा सोलु दूधकुण्ड नगरपालिकामा पर्दछ। कटारी–सोलुसल्लेरी जोड्ने सडकमा पर्ने यो डाँडाबाट बिहानीपख मौसम खुलेको समयमाआँखै सामुन्ने सर्वोच्च शिखर सगरमाथा प्रष्ट हेर्न सकिन्छ। सँगै गौरीशंकर, मेरापिक, चो यू, ल्होत्सेलगायत अन्य हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ।

सल्लेरी जाने पिच सडकले छिचोलेर सहजै पुग्न सकिने भएकाले यो ठाउँ पिकनिक स्पट र सुटिङस्थल बनेको छ। पछिल्लो समय पत्तालेमा पर्यटकको आवागमन बढेको छ । नजिकबाट सगरमाथालाई हेर्ने सहज गन्तव्यका रुपमा रहेको पत्ताले घुम्न आउने पर्यटकको संख्या बढेको हो।

आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेपछि पत्तालेमा होमस्टेसहितका सुविधा सम्पन्न होटलहरु खुलेका छन्। पत्तालेमा दुई दर्जनभन्दा बढी होटल तथा लज पनि सञ्चालनमा छन्।

पत्तालेमा विभिन्न चाडपर्व मनाउन सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलगायतका जिल्लाबाट मानिसहरुको बाक्लो उपस्थिति हुने गर्छ। खोटाङको हलेसी घुम्न आउने र काम विशेषले सोलु, ओखलढुङ्गा र खोटाङ आइपुग्नेहरुको प्रमुख गन्तव्यस्थलमा पत्ताले पर्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथा पत्तालेबाट नजिकै देख्न सकिन्छ। त्यहाँ पुग्ने सबै पर्यटकको पहिलो आकर्षण सगरमाथा नै हो । विशेषत:  बिहानको समयमा मौसम सफा हुने भएकाले बेलुका पत्ताले पुगेर बस्ने र बिहान दृश्य हेरेर हिउँ र तुषारोमा रमाउँदै पर्यटकहरु फर्कने गर्छन्। सोलुखुम्बु र ओखलढुङ्गाको सीमानामा पर्ने पत्ताले डाँडा राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको सुन्दर पर्यटकीय क्षेत्र हो।

पत्ताले आउन काठमाडौंदेखि करिब २५० किलोमिटर पार गर्नुपर्छ। यस्तै‚ तराई क्षेत्रबाट पनि उदयपुरको कटारी–घुर्मी भएर ओखलढुङ्गा हुँदै आउन सकिन्छ। यसको उचाइ करिब ३१०० मिटर छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.