|

सल्यान :  त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष करुणा खड्का भैंसी पालन व्यवसाय गर्छिन्। उनीसँग १३ वटा भैँसी छन्।

यो व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी गरेको उनको भनाइ छ। ‘दिउँसो सर्वसाधारणको काम गरी बिहान बेलुकी भैंसीपालनमा खट्छु,’ उनले भनिन्। व्यवसायमा पतिले पनि सघाउँछन्। कृषि व्यवसायबाट छोटै समयमा सफलता पाएपछि उनी गत वर्ष त्रिवेणी गाउँपालिकाबाट पुरस्कृतसमेत भएकी थिइन्।

कपुरकोट बजारका तिलक शर्मा १० वर्षदेखि कृषि व्यवसायमा छन्। यस वर्ष २० लाख रुपैयाँको टिमुर र अन्य फलफूलका विरुवा बिक्री गरेको उनले सुनाए। १० रोपनीभन्दा बढीमा फैलिएको छ उनको नर्सरी।

‘माग बढे पनि यसपालि कोरोनाका कारण खरिदकर्ता कम आएकाले सबै विरुवा बिक्री हुन सकेन’ उनले भने।

टीकाराम ओली कुनै बेला माओवादीका बटालियन कमिसार थिए। पार्टीका थुप्रै जिम्मेवारीमा रही लडाइँका विभिन्न मोर्चामा पनि सहभागी रहे। अहिले उनी नेकपाको कर्णाली प्रदेशका सदस्य छन्। ४० वर्षीय ओली राजनीतिसँगै कृषि व्यवसायमा पनि संलग्न छन्।

उनले बागचौर नगरपालिका-२ मा सभ्यता नर्सरी सञ्चालन गरेका छन्। पाँच वर्षअघि चार लाख लगानीमा थालेको व्यवसायले यस वर्ष १० लाख आम्दानी दिएको सुनाउँछन्। विभिन्न फलफूलका  विरुवा बेचेर उनले पाँच जनाको परिवार पाल्दै आएका छन्।

पार्टीमा पहिलेजस्तो खटिन नपर्दा फुर्सदिलो भएकाले जीविकाको लागि कृषि पेसालाई अँगालेको ओलीको भनाइ छ।

‘२०७१-०७२ मा नर्सरी दर्ता गरेको थिएँ। पाँच रोपनी जग्गामा अहिले कागती, सुन्तला, टिमुर, हलुवाबेद लगायत विभिन्न फलफूल र जडीबुटीका १ लाख ५० हजार विरुवा लगाएको छु’, उनले भने, 'राजनीतिलाई व्यवसाय बनाउन सकिँदैन। राजनीति त सेवा मात्र हो। जीविकोपार्जन गर्न अन्य काम आवश्यक हुन्छ। त्यही भएर मैले नर्सरी व्यवसाय अँगालेको हुँ।’

नेकपाकै कर्णाली प्रदेश सदस्य रहेकी पत्नी सुम्निमा डिसीले पनि उनलाई कृषि पेसामा सहयोग गर्दै आएकी छन्। आफ्नो नर्सरीमा थप दुई जनालाई रोजगारीसमेत दिएका छन्। यसपालि कोरोना र बिचौलियाका कारण बजार पुर्‍याउन नसक्दा अझै ५० हजार टिमुरका विरुवा बिक्री हुन नसकेको ओलीको गुनासो छ।

नेकपाकै अर्का नेता लोकबहादुर डाँगीले पनि फलफूल नर्सरी सञ्चालन गरेका छन्। उनी कृषिमै बढी समय दिन्छन्। सुन्तला व्यवसायबाट पनि राम्रो आम्दानी गरिरहेका छन्। गत वर्ष जिल्लाकै उत्कृष्ट कृषकका रूपमा समेत पुरस्कृत भएका उनले २५ रोपनीभन्दा बढी जग्गामा सात सय सुन्तलाका बोट लगाएका छन्।

त्यस्तै, १० रोपनी जग्गामा सुन्तला, कागती, टिमुर नर्सरीसमेत सञ्चालन गरेका छन्। उनको नर्सरीमा दुई जनाले रोजगारी पाएका छन्।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेशमबहादुर बस्नेत जिल्लामा राजनीतिसँगै कृषिमा लागेका एक दर्जनभन्दा बढी व्यक्तिले राम्रो प्रगति गरेको बताए। गत वर्ष फलफूल तथा जडीबुटीका विरुवाबाट दुई दर्जनभन्दा बढी किसानले ५ करोड ६० लाख आम्दानी गरेको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.