सल्यान : ग्रामीण क्षेत्रमा समेत प्लाष्टिकका सामानहरू भित्रिन थालेपछि बाँसका सामान बनाउने पेशा संकटमा पर्दै जान थालेको छ।
बाँसका सामान बनाउने परम्परागत पेशाबाट जीविकोपार्जन गर्दै आइरहेका यहाँका किसानहरू पछिल्लो समय प्लाष्टिकका सामान आउन थालेपछि चिन्तित बनेका छन्।
बाँसका चोयाबाट डोको, भकारी, थुन्चे, डाली, नाङलो बनाउँदै आएका धेरैजसोले पेशा छाड्दै जान थालेका छन्। गाउँ-गाउँमा शहरबाट आयातित प्लाष्टिकका सामान छ्यापछ्याप्ती पाइन थालेपछि आफूहरूको परम्परागत पेशा संकटमा पर्दै जान थालेको व्यवसायीहरूको भनाई छ।
झट्ट हेर्दा आर्कषक, सस्तो र सुलभ रुपमा पाइने भएपछि बाँसबाट बनेका सामानको माग निकै कम हुन थालेको कुमाख गाउँपालिका-३, राम्रीका रमेश पुनले बताए। उनले भने, ‘पहिले पहिले बाँस र निगालोबाट बुनेका सामान मात्र प्रयोग हुन्थ्यो, आजभोली बजारमा जस्तो खोजे पनि पाइन्छ, सबै प्लाष्टिकका सामान किन्न लागिपरेका छन्।’ विगतमा महिनामा ३० देखि ४० वटासम्म डोको विक्रि हुने गरेकोमा आजभोली महिनामा मुस्किलले १५ देखि २० वटासम्म बिक्रि हुने गरेको पुनले बताए।
बाउबाजेको गर्दै आइरहेको परम्परागत पेशालाई निरन्तरता दिन निकै समस्या हुने गरेको कपुरकोट गाउँपालिका दानवाङका हरिबहादुर डाँगीले बताए। निमार्ण गरिएका सामाग्री बजारमा पहिले जति माग हुन्थ्यो अहिले निकै घटेर आउने गरेको उनको भनाइ छ।
उनले भने, ‘परम्परागत पेशाबाट चटक्कै हात धुनु परेको त छैन, तर हिजो बाँसका सामान खोजी खोजी राख्ने चलन थियो भने आजभोली धार्मिक कार्यका लागि चाहिने टोकरी, डकनी र डोकोको मात्र थोरै माग हुने गरेको छ।’
बाँसको चोयाबाट बनेको सामानको विक्रि गर्न जाँदा झाँपी र टोकरीको माग धेरै हुने दानवाङका अर्का किसान देवीराम बुढाले बताए। यी सामाग्री विवाह, पूजाआजामा बढि प्रयोगमा आउने गर्छ उनले भने। झाँपीको ५००, टोकरीको २०० रुपैयाँसम्म बिक्री गर्ने गरेको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।