|

काठमाडौं : काठमाडौं महानगरपालिकाले २०७५ सालमै ‘स्र्माट’ शौचालय बनाउने योजना ल्यायो। सोही योजना अनुसार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा चालू सार्वजनिक शौचालय सुधार तथा नयाँ निर्माण गर्नुपर्ने संख्या, स्थान र नमूनाबारे अध्ययन गर्न टोली समेत बन्यो। सोही टोलीले स्मार्ट शौचालय निर्माणका लागि विभिन्न ६९ वटा ठाउँ पहिचान गरेको थियो। 

पहिलो चरणमा टेकु चोक, सानेपा पुल, कालिमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगन्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जय बागेश्वरीमा बनाउन सिफारिस गरिएको थियो।

तर, योजना बनेको दुई वर्ष बितिसक्दा बल्ल एक वटा स्मार्ट शौचालय मात्रै बनाउन महानगर सफल भएको छ। महानगरपालिका वडा–१५ को स्वयम्भूमा बनेको सो शौचालय गत मंसिर ५ गते उद्घाटन गरिएको हो।

शौचालय नहुँदा बाहिरै शौच
उपत्यकामा भएका शौचालय पनि व्यवस्थित हुन नसक्दा सहरबासी खुलाठाउँमै शौच गर्न बाध्य छन्।

स्वयम्भूमा भेटिएकी कलंकीका विनिता श्रेष्ठ भन्छिन्‌,‘उपत्यकामा सार्वजनिक शौचालय नै छैन। भएका पनि व्यवस्थित छैन। त्यसैले त बाहिरै शौच गर्न बाध्य होइन्छ।’

रत्नपार्क र सुन्धारा क्षेत्रको सार्वजनिक शौचालय फोहोर र दुर्गन्धित हुने हुँदा त्यस स्थानबाट हिँड्नै नसकिने उनले  सुनाइन्‌। महानगरपालिकाले विभिन्न शौचालय निर्माणका लागि योजना ल्याएपनि समयमै कार्यन्वयन गर्न नसक्दा सर्वसाधारणमा सकसमा पर्ने गरेको उनी दुखेसो पोख्छिन्।

‘कुनै काम परेर बजार जाँदा शौच आयो भने नजिक ट्वाइलेट नै हुँदैन। त्यो बेला बहाना बनाएर शौचकै लागि कि होटल छिर्नुपर्छ कि अस्पताल नै छिर्नुपर्छ।’ उनले भनिन्।

शौचालय बनाउन महानगरको अल्याङमल्याङ 

महानगरपालिकाले २०७३ सालमा नै १ सय ३० सार्वजनिक शौचालय बनाउने योजना ल्याएको थियो। ती शौचालय निर्माण गर्न दुई करोड रुपैयाँ बजेट समेत छुट्याएको थियो। तर, शौचालय निर्माण हुन सकेन।

सार्वजनिक शौचालय बनाउन नसकेको महानगरले फेरी स्मार्ट शौचालयको अवधारणा ल्यायो। 

खाली जग्गा प्राप्त नहुँदा सार्वजनिक शौचालय निर्माण हुन नसकेको महानगरका अधिकारीहरू तर्क गर्छन्‌। प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिएअनुसार प्रत्येक वडामा स्मार्ट शौचालय बनाउने र अहिले तत्कालका लागि भीडभाड हुने ४० ठाउँमा स्मार्ट शौचालय बनाउने योजना महानगरको छ।

‘स्वयम्भूमा स्मार्ट शौचालय बनिसकेको छ,’ उनले भने, ‘अब अन्य ठाउँमा पनि स्मार्ट ट्वाइलेट निर्माण कार्य अगाडी बढ्छ। सबै वडामा बन्ने शौचालयमा एकै दरमा शुल्क लिइनेछ। शौच गर्ने प्रत्येक व्यक्तिबाट १५ रुपैयाँ लिने र त्यही रकमबाट चिया खुवाउने अवधारणा पनि छ।’ स्वयम्भूको शौचालय निर्माणमा ५५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए। 

के हो स्मार्ट शोचालय ?

स्मार्ट शौचालय प्रविधिमैत्री हुन्छ। यसमा पर्याप्त पानी, बत्ती र शौच गर्ने सुविधाजनक ठाउँ हुन्छ। बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुन्छन्। शौचालयमा स्वचालित बत्ती जडान हुन्छ, जुन मान्छे छिर्दा बल्छ र निस्कँदा आफैं निभ्छ। शौच सकिएपछि सफाइ निम्ति पानी, ट्वाइलेट पेपर, स्प्रे लगायत व्यवस्था हुन्छ।

शौचपछि स्वचालित उपकरणले पानी झार्छ र फोहोर पखाल्छ। स्मार्ट शौचालय प्रयोगकर्ताले मोबाइल एप अथवा अटोमेटिक बिलिङ मेसिनबाट पैसा तिर्न मिल्छ। प्रवक्ता डंगोलका अनुसार स्वयम्भूमा बनेको नयाँ स्मार्ट शौचालयमा पुरुषका लागि ४ वटा युरिनल र २ कोठे शौचालय छन्।

‘२ रुपैयाँको ३ वटा सिक्का हालेर स्यानिटरी प्याड निकाल्न मिल्ने मेसिन जडान गरिएको छ,’ उनले सुनाए, ‘महिलाले प्रयोग गरेका प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन पनि छ। चियाकफी ख्वाउने व्यवस्था छ। दिसा गरिसकेपछि स्वचालित प्रविधिबाट पानी र झोल साबुन आउँछ। यसका लागि प्रयोगकर्ता ३० सेकेन्डसम्म​ त्यहीँ बस्नुपर्ने हुन्छ।’

उनका अनुसार हात सुकाउने मेसिन जडान, बायो ग्याँस प्रविधिबाट दिसाजन्य लेदो व्यवस्थापन गर्ने प्रविधि जडान गरिएको छ। दिसा प्रशोधन भइसकेपछि त्यहाँको पानी फेरि ट्यांकीमा जान्छ। बायो ग्यासका लागि प्लान्ट छ। यसबाट मासिक झण्डै १.५ सिलिन्डर बराबर ग्यास उत्पादन हुन्छ। 

कति छन्‌ महानगरमा सार्वजनिक शौचालय ?

वडा नागरिक मञ्चले तीन वर्ष अगाडी उपत्यकाभित्र ४ सयभन्दा बढी शौचालय आवश्यक रहेको प्रतिवेदन महानगरलाई बुझाइसकेको छ। तर, खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार हाल महानगरमा ३८ वटा मात्रै सार्वजनिक शौचालय छन्। तर, ती सबै अहिले सञ्चालनमा छैनन्। महानगरपालिकाले ती शौचालय व्यवस्थित गर्न सकेको छैन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.