व्यवस्थापनको पहल भइरहेको स्थानीय तहको दाबी

|

धनगढी : कैलालीको चुरे गाउँपालिकाले दुई सय ११ पहिरोपीडित परिवारलाई पाँच महिनादेखि व्यवस्थापन गर्न नसक्दा टाउको दुखाईको विषय बनेको छ।

गत साउन १५ देखि २५ गतेसम्मको अविरल वर्षाका कारण पहिरो लागेपछि कैलालीको चुरे गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका दुई सय ११ परिवार घरबार विहीन भएका थिए। पहिरोबाट घरबारविहीन दुई सय ११ परिवारलाई व्यवस्थापन गर्न गाउँपालिकाले चासो नदिकै कारण अहिले टाउको दुखाईको विषय बनेको हो।

घरबारविहीन परिवारलाई स्थानीय सरकारले केही समयका लागि भन्दै स्थानीय विद्यालय र भीमदत्त राजमार्गको सडक किनारमा टेन्ट दिएर अस्थायी बसोबासको व्यवस्था मिलाएको थियो। विगत पाँच महिनादेखि टेन्टभित्रै रात कटाएका पहिरो पीडितहरु जाडो बढ्न थालेपछि स्थायी बसोबासका लागि ठाउँ खोज्दै अहिले  गौरीगंगा नगरपालिका १ चौमाला बजार नजिकै रहेको पशुपति सामुदायिक वनमा पुगेका छन्। 

गत असोज १५ गते चुरे गाउँपालिकाको कार्यपालिका बैठकले पहिरोपीडित परिवारलाई बसोबासका लागि भन्दै छनोट गरेको प्रस्तावित स्थानमा पुनस्र्थापना गराउन सिफारिस गरेको थियो। कार्यपालिकाको बैठकको निर्णयअनुसार पहिरो पीडित परिवारहरु वडा नम्बर ४ को टाँकगडामा बसोबासका लागि आएका हुन्।

बस्नका लागि उचित ठाउँ खोज्दै तराई झरेका पहिरो पीडितहरु पशुपति सामुदायिक वनको खुला आकाशमा बस्न बाध्य छन्। उनीहरु टाँकगडा बस्न आएको खबर पाउनेबित्तिकै आफूहरुको सामुदायिक वन पर्ने भन्दै गौरीगंगा नगरपालिका–१, चौमालास्थित पशुपति सामुदायिक वनले त्यहाँ नजान भनेपछि पीडित परिवार जंगलमै खुला आकाशमुनि दुई दिनदेखि बस्दै आएका हुन्।

गाउँपालिकाले यता न उताको बनाइदियो

गाउँपालिकाले आफूहरुलाई टाँकगडा भन्ने स्थानमा छनोट गरेर बसोबासका लागि सिफारिस गरेको बताउँदै पहिरो पीडित संघर्ष समिति अध्यक्ष टीकाराम कार्कीले गाउँपालिकाले सिफारिस गरेको ठाउँमा आफूहरूलाई जान नदिएको बताए। उनले आफूहरू जंगलमा बस्नु परेको भन्दै गाउँपालिकाले यता न उताको बनाइदिएको बताए।

गाउँ कार्यपालिका बैठकले पहिरो पीडित परिवारलाई पुनर्स्थापित गर्ने भन्दै वडा नम्बर १ को खामाहाल्ने, लाउनगडा, कोलगडा, वडा नम्बर ३ को करलेगडा, आरुखर्क र विचारगडा, वडा नम्बर ६ को राताखाली, बसर र वडा नम्बर ४ को सिताखाली, चोरपानी र टाँकगडालाई छनोट गरेको थियो।

छनोट गरिएका सबै स्थानभन्दा उपयुक्त टाँकगडा भए पनि त्यो क्षेत्र अर्को स्थानीय तहको भएको अर्का पहिरो पीडित रन्जी बोहराले बताए। पहिले बसेको ठाउँ छोडेर यहाँ आउँदा जंगलमा बास बस्नु परेको पीडा उनले सुनाए। ‘कति राम्रो घरबारी थियो, पहिरोले उजाडिदियो,’ उनले भने,‘अहिले स्थानीय सरकारको भर पर्दा जंगलमा बास बस्नु परेको छ।’

विगत ५ महिनादेखि खानीडाँडाको सडक किनारमा बस्दै आएको बताउँदै पीडित देव कामीले भने,‘साउनदेखि गाउँपालिकाले नै सडक किनारमै बस्न अनुमति दियो, अहिलेसम्म केही बन्दोबस्त नभएपछि उसैले रोजेको विकल्पका आधारमा टाँकगडा जान हिँडेका हामी बीच बाटोमै अलपत्र भयौँ।’

यससम्बन्धी प्रतिक्रिया लिन खोज्दा चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगर, प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहरा कोही सम्पर्कमा आएनन्। त्यसपछि वडा नम्बर चारका वडा अध्यक्ष कृष्ण मल्ललाई बुझ्दा आफूहरुले त्यहाँ नपठाएको उनीहरुको व्यवस्थापनको लागि पहल भइरहेको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.