राजतन्त्रका पक्षको आन्दोलनका छद्‍म आयोजकहरू

|

अहिले देशका विभिन्न ठाउँमा राजतन्त्रको पक्षमा देखिएका जुलुसहरूका पछाडि कुनै शक्ति छ? चाहे त्यो स्वदेशी होस् वा विदेशी छुट्याउन बडो कठिन छ। कतै कुनै २ बाह्यशक्तिले संयुक्त रूपमा मोर्चा सम्हालेको पनि हुन सक्छ।

नेपालका राजतन्त्रवादीहरूले सधैँ भन्ने गरेको एउटा भनाइ छ; त्यो के भने 'राजतन्त्र एकताको प्रतीक हो।' सांस्कृतिक रूपमा यो कुरा साँचो जस्तो पनि लाग्छ किनकि झण्डै  ९५ प्रतिशत हिन्दु भएको देशमा राजालाई विष्णुको अवतार मानिने हुँदा, सांस्कृतिक रूपमा राजा एकताको प्रतीक हुन सक्छन्। तर, सोचनीय विषय के हो भने आस्थाको एकताले राज्य निर्माण हुन सक्दैन। 

राजतन्त्रवादीको एउटा तर्क प्रति कहिल्यै कसैले बिमति राख्नु पर्ने आवश्यकता छैन देश बडामहाराजले नै एकीकरण गरेको हुनाले उहाँको वंशलाई इज्जतदार स्पेश दिनु पर्छ, कुरा जायज छ।  सम्भ‍वतः पूर्वराजाले यो पाउनु भएको छ।

आस्था कुनै शक्ति होइन यो केवल भावना हो त्यसैले राजा आएमा देशको एकता कायम रहने र न आएमा देश छिन्न भिन्न हुने प्रश्न रहँदैन। तर्सथ सवै काम छोडेर राजा ल्याउ देश बचाउको नारा घन्काउदै हिड्नु पर्ने अवस्था र आवश्यकता कम्तिमा यो लेखले देख्दैन।

राजाको समयमा शान्ति थियो र भ्रष्टाचार कम थियो भन्ने तर्क पनि छ। हो  २०१७ देखि २०४६ को बीचमा ३६ र ४६ सालको अवधिमा अपवादलाई छोडेर देश शान्त थियो, आम्दानी थिएन भ्रष्टाचार पनि कम नै  थियो । त्यो ज्यादै साँचो कुरा हो यो संसारमा कि धेरै खाएको खन्चुवा शान्त हुन्छ कि खान नै नपाएको निरीह शान्त हुन्छ।

२०१७ देखि ४६ सम्म नेपालको अर्थतन्त्र १ प्रतिशतदेखि २.५ प्रतिशतसम्म बढेको छ। राजनीति गर्न पाइँदैन पञ्चायतले एक क्वायल पाइप दियो भने विकास भयो भन्छ, अलि बोल्ने टाढो बाठोलाई थुन्दथ्यो लाटो सधैँ शान्त नै बस्दथ्यो तसर्थ अधिकार र सम्भा‍वनाहीन चुपचाप पन शान्ति हो कि मुर्दा शान्ति त्यो बारेमा पनि सोचौं।

राजतन्त्रवादीको एउटा तर्कप्रति कहिल्यै कसैले विमति राख्नुपर्ने आवश्यकता छैन देश बडामहाराजले नै एकीकरण गरेको हुनाले उहाँको वंशलाई इज्जतदार स्पेश दिनुपर्छ, कुरा जायज छ। सम्भ‍वतः पूर्वराजाले यो पाउनु भएको छ।

उहाँ नार्गुजनमा बसेपनि उहाँको व्यवस्था र सम्मान राज्यले गरेको छ गर्नुपर्छ। राजतन्त्रको सन्दर्भमा सवै दलको गोलमेच सम्मेलन बसेर अरु स्पेश दिएमा पनि यो लेखक विरोध गर्ने पक्षमा छैन। मात्रै कुरा के हो भने आज नेपालमा देखिएका जल्दा बल्दा भोक रोग र शोक सम्वन्धी समस्याहरु फेरी राजतन्त्र फर्किएमा समाधान हुन्छन् भन्ने कुरा जुलुसमा हिड्ने पनि विश्वास  छैन तर कहिले काहीँ आशा नभएका ठाउँमा पनि सहभागिताले आत्म सन्तुष्टि दिन्छ भन्ने उदाहरण हो यो अहिलेको जन जुलुस।

पार्टीले गरेका जुलुसमा व्यक्तिले केही न केही लाभ जीवनको कुनै मोडमा पाउन सक्छ किनकी राजनीतिक पार्टिको संगठन र सम्भा‍वना विशाल हुन्छ। जुन सम्भा‍वना स्थानीय निकायदेखि संघीय राजनीतिका अनेक कुना-कुनामा भेट्न सकिन्छ तर राजतन्त्र भनेको एउटा सेरेमोनीयल सञ्जाल हो यसले कुनै पनि ठाउँमा जनता तथा जुलुसाभागीलाई कुनै लाभ दिन सक्ने अवस्था पनि देखिदैन।

त्यो पनि सम्भ‍व हुन्थ्यो यदि  सक्रिय राजतन्त्र आउने  भएको भए, अव त्यस्तो अवस्था छैन। यस्तो अवस्थामा पनि राजतन्त्रवादी सडकमा आउनु भनेको सामान्य विषय होइन।

राप्रपाले पनि राजावादीलाई समर्थन गर्ने जनाएको छ। हिजो गणतन्त्र र धर्म निरपेक्षता सहितको संविधानमा हाँसीहाँसी समर्थन जनाएको राप्रपाले राजावादीलाई समर्थन गर्नु केही भोट तान्ने उपायबाहेक अरू केही होइन। अर्थात् आत्मबाट राप्रपाले पनि राजतन्त्र बोकेको छैन। यदि राजतन्त्र उसको बटमलाइन हुन्थ्यो भने उसले संविधानमा केही रिजर्वेशन राखेको हुन्थ्यो।

राजतन्त्र आजको मितिमा राष्ट्रिय दृष्टिकोणबाट हेर्दा बहसको विषयभन्दा प्रहसन विषय बनेको छ। किनकि राजतन्त्र किन भन्ने प्रश्नको उत्तर स्वयं सडकमा हिँड्ने समूहलाई पनि थाहा छैन। सम्भ‍वतः पूर्वराजालाई पनि यो आन्दोलन कसरी सञ्चालन भएको छ भन्ने जानकारी नहोला।

अहिले यो आन्दोलनको जडमा को छ भन्ने यकिन उत्तर कसैले दिन सक्दैन। नेपालका एक नेताले वर्तमान सरकार अहिलेको आन्दोलनप्रति नरम भयो भन्ने आरोप लगाएका थिए। उनको पनि त्यो सतही आशंका भए जस्तो लाग्छ। किनकी सरकारले कहि कतै धरपकड र विरोध गरेको भए यो आन्दोलन उहिल्यै उग्ररूप लिन्थ्यो चर्चाको उचाइमा पुग्ने थियो जुन आजसम्म युट्युबमा सीमित छ। त्यसैले जानीजानी सरकारले त्यहाँ अहस्तक्षेपको रणनीति लिएको छ।

अब प्रश्न उठ्छ यो आन्दोलनको पृष्ठछायामा को छ  कोही एउटा पक्का छ। जो अगाडि सडकमा झण्डासहित देखिन्छन् उनीहरू यो आन्दोलनका मूलपात्र हुन् जस्तो पटक्कै लाग्दैन किनकि आन्दोलन कहिले बुटवल, पोखरा , विराटनगर काठमाडौं हुँदै विभिन्न शहरमा भइरहेको छ। कुनै केन्द्रीय आयोजक अग्रमोर्चामा देखिएको छैन। यसको अर्थ हो आन्दोलनको नेतृत्व बडो सोचेर सम्झे‍र छद्‍म आयोजकहरूबाट सञ्चालित छ। बिडम्वना  ती छद्म आयोजकलाई यसका लागि रकम कहाँ बाट आएको छ, झण्डाहरु कसले बनाएको छ भन्नेसमेत थाहा छैन।

राजतन्त्र आएमा राम्रो हुन्छ भन्ने विचारलाई सम्मान छ तर राजतन्त्रपछि आम नेपाली जनजीविका, आर्थिक वृद्धि विज्ञान प्रविधिमा विकास हुन्छ भन्ने आधार प्रस्तुत नगरी यो सुतेको तन्त्रलाई नजगाउने हो कि। जनताले प्रजातन्त्र र गणतन्त्रलाई जतिसक्दो बलियो बनाउनुपर्नेमा व्यक्ति र वंशवादी चिन्तनलाई स्वागत गर्न आतुर किन भइरहेका छौँ।

नारामा पनि सर्वसम्मति खोज्ने प्रयास भएको छ। सबै मिलेर राजा ल्याउ देश बचाऊ, कसैले आफै आउ भनेको पनि छैन। यसरी सोचेर  आन्दोलन भइरहेको छ। यसको पछाडि को छ त? यसको सहि उत्तर भेट्नका देशका सिमानाहरु नाघ्नु पर्ने हुन्छ।

एउटा समूह भन्छ भारत नेपालमा राजतन्त्र फर्काउन चाहन्छ, किनकि विश्वको एउटा मात्र हिन्दू बहुल  राज्यमा राजा हुनु शोभनीय विषय हो। केही वर्ष अगाडि पूर्वराजाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको दृश्यबाट  केही राजावादी हर्षित भएको दृश्य भाइरल भए तापनि पछिल्ला दिनमा भारत राजा ल्याउनका लागि ज्यादै पछि लागेको  छ जस्तो लाग्दैन।

तैपनि, सन्त समाजले एउटा हिन्दुराज्य बनाउने दिशामा सहयोग गर्न त्यहाँको सरकारलाई अनौपचारिक माध्यमबाट दबाब नदिएको होला भन्न सक्ने अवस्था नरहे पनि राजतन्त्र फाल्न सारा सहयोग गरेको भारतले त्यही राजा ल्याउने आन्दोलनका लागि मास्टर फण्डिङ गरेको होला जस्तो कसैलाई पनि लागेको छैन।

देशका जल्दाबल्दा अहिलेका समस्याहरू समाधान गर्नका लागि राजतन्त्र कतैबाट समर्थन छैन। तर, मदन भण्डारीले भनेझैँ जनताको काममा खासै दख्खल नदिई सामान्य सम्मानमा राजा बस्छन् भने खासै विरोध गर्नुपर्ने कारण किमार्थ छैन। अलिकति खतरा राजतन्त्र आउनासाथ संघीयता फेरि थप ओझेलमा पर्छ। संघीयता पनि विकासविरोधी पाइला हो भन्न थालियो भने हामी पटमूर्खबाहेक केही हुँदैनौँ।

यस्तो अवस्था राजतन्त्रको पक्षमा कहाँ र कसरी आवाज बुलन्द भयो भन्ने गहिराइबाट हेर्दा कसै कसैको शंका चीनप्रति पनि छ। किनकि पूर्वराजा ज्ञानेन्द्र मात्र दक्षिण एशियाका एक्ला त्यस्ता पात्र हुन जसले सार्क संगठनमा चीनलाई ल्याउनुपर्छ भनी औपचारिक रूपमा भनेका थिए।

हुनसक्छ चीन पनि कुनै न कुनै रूपमा नेपालमा राजतन्त्र आए स्थायित्व र स्थिरता हुन सक्छ भन्ने चाहाना राख्ने मुलुक नहोला भन्न सकिँदैन। तैपनि आजको मितिमा नेपाल प्रजातान्त्रिक संस्कृतिमा अभ्यस्त हुँदै गएको छ।

अनेक आलोचना गरिए पनि गणतन्त्रले कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको अविलम्ब राजीनामाले नेपाली राजनीतिको नैतिकतामा आलीशान उदाहरण देखाएको छ।  त्यसैले प्रजातान्त्रिक वा गणतान्त्रिक खुल्ला आकाश भित्र साझा नेपालीको भविश्य खोज्नु पर्नेमा किन राजतन्त्र निम्त्याउन उफ्रिरहेका छौँ यसबारे हामी सबैले आत्म चिन्तन गर्ने हो कि।

राजतन्त्र आएमा राम्रो हुन्छ भन्ने विचारलाई सम्मान छ तर राजतन्त्रपछि आम नेपाली जनजीविका, आर्थिक वृद्धि विज्ञान प्रविधिमा विकास हुन्छ भन्ने आधार प्रस्तुत नगरी यो सुतेको तन्त्रलाई नजगाउने हो कि। जनताले प्रजातन्त्र र गणतन्त्रलाई जतिसक्दो बलियो बनाउनुपर्नेमा व्यक्ति र वंशवादी चिन्तनलाई स्वागत गर्न आतुर किन भइरहेका छौँ।

हामीले खुल्ला समाजको निर्माण गरौँ बहुलवादको निर्माण गरौँ आइसकेको संघीयतालाई सरापेरभन्दा त्यसलाई व्यवस्थित गरेर जाऊ राजा आउनु पर्ने केही कारण छन् भने प्रजातन्त्रभित्रबाट नै बहुमतीय बाटो खोजौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.