|

पर्सा : कोरोना महामारीबाट बच्ने उपाय र दूरी कायम गर्ने पार्टी सभापतिको निर्देशनलाई उल्लंघन गर्दै पर्सामा पनि नेपाली कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको छ। 

सरकारविरुद्ध कांग्रेसले विरोध सभा गरेको छ। आम सर्वसाधारणलाई कोरोनाबाट बच्ने सुरक्षा सतर्कता नअपनाए पनि हुन्छ भन्ने सन्देश प्रवाह हुने गरी कांग्रेस पर्साले वीरगन्जमा पनि सरकारविरुद्ध विरोध जनाएको हो।

कांग्रेसको शक्ति प्रदर्शन वीरगन्जको घण्टाघरबाट सुरु भएर नगर परिक्रमा पश्चात घण्टाघर चोकमै नै पुगी सभामा परिणत भएको छ। सभालाई कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल र अर्का केन्द्रीय सदस्य अजय चौरसिया लगायत स्थानीय नेताले सम्बोधन गरेका छन्।

सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेताहरुले मुलुकमा भ्रष्टाचार र बेथिति कम्युनिष्ट सरकारका कारण बढेको जिकिर गरे। हत्या हिंसा, भ्रष्टाचार र बेथिति बढ्नुमा तानाशाह प्रवृत्तिमा हिँडेको कम्युनिष्ट सरकार र पार्टीको जनविरोधी कार्यशैली प्रमुख रहेको उनीहरुको भनाइ थियो। 

एकले अर्कालाई आरोप लगाएझैं गरी कम्युनिष्टहरु कमाउ धन्दामा मात्र लागेको विरोध सभामा बोल्ने कांग्रेस नेताहरुले बताए। अधिनायकवाद लाद्न ओली सरकार र कम्युनिष्ट पार्टी उद्धत रहेको कांग्रेसका केन्द्रीय सदस्य रिजालले बताए।

हालको नेपाल समाजवादी पार्टीले चारै सिट कब्जा गरेको पर्सामा कांग्रेसका नेता कार्यकर्ताले सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरेका छन्। सो क्रममा कम्युनिष्ट पार्टी र ओली सरकारविरुद्ध चर्का नारा लगाइएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.