विद्यार्थी र उद्योग बढी प्रभावित

|

काठमाडौं : पछिल्लो समयबाट बिजुली जाने समस्या बढ्न थालेको छ। हरेक दिनजसो बिनाजानकारी बत्ती जाँदा उपभोक्ता समस्या परेका छन्। 

फर्निचरको काम गर्दै आएका काठमाडाैं गोकर्ण नाम्गेलका विनय श्रेष्ठ बत्ती जाने समस्या बढ्दा आफ्नो व्यवसायमा प्रभाव परेको बताउँछन्। ‘पहिला लोडसेडिङ नै भएको थिएन,’ उनले भने, ‘जब कुलमान घिसिङ बाहिरिए, त्यसपछि बत्ती जाने समस्या आएको छ। केही जानकारी पनि हुँदैन। कहिले दिनभर नै बत्ती आउँदैन।’  

प्राधिकरणले बिनासूचना बत्ती काटिदिँदा सबैभन्दा बढी मारमा त विद्यार्थी र शिक्षक परेका छन्। हाल सबै ठाउँमा विद्यालय खुलिनसकेको र अनलाइन तथा भर्चुअल कक्षा लिइरहेका र दिइरहेकाहरु यसबाट प्रभावित भएका छन्। उनै श्रेष्ठ भन्छन्, ‘घरमा छोराछोरी अनलाइन कक्षा पढ्छन्। कहिले बिहानै उठ्न नपाउँदै बत्ती गइसकेको हुन्छ। त्यस्तो बेला पढाइ नै छुट्छ।’ 

काठमाडाैंमा बत्ती जाने समस्या बढ्दै जाँदा यहीँ घर भएर बसेका भन्दा भाडामा बस्नेलाई बढी समस्या भएको श्रेष्ठ बताउँछन्। ‘टहरा बनाएर बस्नेले कहाँको सोलार बत्ती ल्याउनू? अँध्यारोमै बस्नुबाहेक अरु विकल्प छैन।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदावधि पूरा गरी बाहिरिएपछि देशभर बिजुली बत्ती अनियमित भइरहेको छ। संयोग होस् या नियतवश घिसिङ भएको बेलाझैं विद्युत् नियमित हुन सकेको छैन। 

कतिपयले प्राधिकरणमा पुरानै रोग बल्झिएको बताइरहेका छन् त कतिले माफियाको चंगुलमा प्राधिकरण फसेको आरोप लगाइरहेका छन्। यद्यपि आम नागिरकले भनेझैं कुलमानको बहिर्गमनपछि विद्युत् अनियमित हुने आशंका वास्तविक हुँदै गएको छ। साथै प्राधिकरणमा कुलमानको पुनर्नियुक्ति हुनुपर्ने मागहरु पनि उठिरहेका छन्। 

‘ठाउँठाउँमा वितरण कार्यले बत्ती आउने जाने गर्छ’

ठाउँठाउँमा विद्युत् वितरण कार्य जारी भइहेकाले बिजुली बेलाबेलामा अनियमित भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिना भन्छन्, ‘सूचना नदिई बत्ती गएको छैन। ठाउँठाउँमा विद्युत् वितरण मेन्टेन गर्दा बत्ती जाने गरेको हो। सूचना वेबसाइटमा राखेका हुन्छौँ। भ्याली बाहिर भए स्थानीय रेडियोमा बत्ती जाने सूचना दिएका हुन्छौँ।’

घिसिङ बाहिरिएपछि बारम्बार यस्तो समस्या निम्तिएको हो भन्ने प्रश्नमा प्रवक्ता तिम्सिनाले घिसिङको कार्यकालमा पनि विद्युत् अवरोध हुने गरेको दाबी गरे। ‘अहिले मात्रै होइन, घिसिङ सरको पालामा पनि केही समय सम्म बत्ती आउने जाने समस्या थियो। बिनाजानकारी बत्ती जानुचाहिँ केही समस्याले गर्दा हो,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.