बेलैमा परीक्षण गरी उपचार गराउन चिकित्सकको आग्रह

|

काठमाडौं : नेपालमा ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भइसकेका छन्। तर पिसिआर रिपोर्ट नेगेटिभ आएकाहरुमा पनि गम्भीर खालको निमोनिया रहेको चिकित्सकहरुले बताइरहेका छन्। उनीहरुमा कोभिड निमोनिया देखिएको चिकित्सक बताउँछन्। 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिड संक्रमितको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा निरज बमका अनुसार पिसिआरपछि कोरोना रिपोर्ट नेगेटिभ आएकामा यसखाले समस्या देखिएको छ। 

'कोरोना रिपोर्ट नेगेटिभ आएकाको छातीको एक्सेरे तथा सिटी स्क्यानमा कोभिड निमोनिया देखिएको छ,' उनले भने, ‘सुरुदेखि नै केही बिरामीमा कोरोनाका सबैखाले लक्षण देखिए पनि दुई पटकसम्म पिसिआर परीक्षणपछि नेगेटिभ आउँछ, तर छातीको एक्सरे र सिटि स्क्यान गर्दा कोभिड निमोनिया पाइएको छ।'

डा बमका अनुसार संक्रमण समुदायमा पुगिसकेको अवस्थामा मानिसले कोभिडको लक्षण देखिँदा पनि बेवास्ता गर्ने क्रम बढेको छ। श्वास प्रश्वासमा समस्या आएपछि मात्रै अस्पताल आउने र त्यसबेला पिसिआर नेगेटिभ आउनेहरुमा पनि कोभिड निमोनिया देखिने गरेको उनको भनाइ छ।

‘माैसम चिसो छ, अर्कोतर्फ संक्रमण समुदायमा पनि भएकाले यस्तो बेलामा संक्रमणको पूरै लक्षण देखिँदा पनि मानिसले ढिलो परीक्षण गरिरहेका छन्, जसका कारण पिसिआरले नेगेटिभ रिपोर्ट देखाए पनि कोभिड निमोनया देखिएको छ,' उनले भने। 

यस्ता खालका बिरामीलाई पनि कोरोना संक्रमित निमोनियाका बिरामीझैं उपचार विधि अपनाउने गरिएको उनले बताए। साथै त्यस्ता बिरामीलाई आवश्यकताअनुसार रेमडिसिभर पनि प्रयोग गर्ने गरेको उनले बताए। 

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेर बहादुर पुनका अनुसार संक्रमितले ढिला गरी परीक्षण गराउँदा कोभिड निमोनियाका बिरामी बढेका बताउँछन्। उनी भन्छन्, 'पछिल्लो समय मानिसहरुले कोरोनालाई रुघाखोकीजस्तै मानेर धेरै गाह्रो हुँदा मात्र कोरोना परीक्षण गराउन थाले, जसले गर्दा यस्तो समस्या बढेको छ।'

उनका अनुसार संक्रमितले लक्षण देखिएको पाँच–सात दिनसम्म पिसिआर नगरिँदा कोरोना रिपोर्ट नेगेटिभ आउने सम्भावना धेरै हुन्छ। पछिल्लो समय पिसिआर तथा  एन्टिजेन  परिक्षणमा नेगेटिभ आउनेमा पनि कोभिड निमोनिया देखिएको उनले बताए। 

त्यस्ता बिरामीमा कोभिडकै कारण फोक्सोमा निमोनिया देखिने गरेको र पिसिआर नेगेटिभ आए पनि कोभिड संक्रमित नै मानेर उपचार गर्ने गरिएको उनले पनि बताए। 

सरकारको पछिल्लो विवरणअनुसार हालसम्म देशभर सक्रिय संक्रमित संख्या ९ हजार ७५७ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.