कोरोना लागेका अभिभावकबाटै संक्रमण जोखिम

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणका मामिला पहिचान भएको झन्डै एक वर्ष पुगिसकेको छ।

सरकारी विवरण अनुसार हाल नेपालमा संक्रमितमध्ये ९५ प्रतिशत कोरोना संक्रमणमुक्त भइसहेका छन्। नेपालमा बालबालिकाहरूमा अन्य उमेर समूहका भन्दा कम संक्रमित छन्‌। नेपालमा संक्रमितमध्ये १० वर्ष उमेर समूहको हिस्सा एक प्रतिशतमात्रै छ। युवा, दीर्घरोगी र वृद्धवृद्धासहित अन्य जोखिमयुक्त क्षेत्रमा रहेकाहरू धेरै संक्रमित छन्।

तथ्याङ्कअनुसार पछिल्लो समय संक्रमणदर घटेको देखिएपनि समुदायमा पुगिसकेको छ। कोभिडको लक्षण देखिँदा पनि बेवास्ता गर्ने क्रम बढेको छ। श्वास प्रश्वासमा समस्या दखिएपछि मात्रै अस्पताल आउने र त्यसबेला पीसीआर नेगेटिभ आउनेहरूमा पनि कोभिड निमोनिया देखिने गरेको छ। कोभिड निमोनियाबाट ग्रसितहरूको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्‌।

बालबालिकामा पनि कोभिड निमोनिया देखिने समस्या बढ्दै गएको छ। चिसो मौसममा अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि अन्य खालका संक्रमणको दर बढी हुन्छ। बच्चामा हुने निमोनिया पनि चिसोमा अलि बढी हुने भएपनि पछिल्लो समय बालबालिकाहरू पनि कोभिड निमोनियाका कारण बिरामी पर्न थालेका छन्‌।

नेपालकै बालबालिकाको उपचार गर्ने एक मात्रै केन्द्रीय सरकारी कान्ति बाल अस्पतालका निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो समय पीसीआर नेगेटिभ आएपनि एक्स-रे र सिटीस्क्यान गर्दा कडा खालको निमोनिया देखिएको बताए।

निमोनिया एक वर्ष मुनिका शिशुमा धेरै हुनेगर्दछ। त्यसपछि दुईदेखि तीन वर्षका बच्चामा अलि कम हुन्छ। त्यसैगरी, चारदेखि पाँच वर्षका बच्चामा निमोनियाको जोखिम कम हुन्छ। जति उमेर बढ्यो, त्यति नै निमोनिया हुने सम्भावना कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकाहरूलाई निमोनिया हुने जोखिम बढी हुन्छ।

कोभिड निमोनियाकै कारण एक जनाको मृत्यु

डा. पौडेलका अनुसार पछिल्लो पटक कान्तिमा भर्ना भएकामध्ये छ जना बालबालिकामा कोभिड निमोनिया देखिएको छ। एक जनाको यही निमोनियाका कारण मृत्यु भएको छ।

उनले भने, ‘हाम्रोमा उपचार निम्ति आएका बालबालिकामध्ये हालसम्म ७० जनामा कोरोना पुष्टि र उपचार भएको छ, पछिल्लो समय ६ जना बालबालिकामा पीसीआर नेगेटिभ देखिएपनि कोभिड निमोनिया भएको छ, यी मध्ये एक जनाको हृदयघात भई ज्यान गएको छ।‘

उनका अनुसार पीसीआर र एन्टिजेन नेगेटिभ भएपनि, एन्टीबडी पोजेटिभ र शरिरमा धेरै एन्टीबडी बन्दा यसले बालबालिकाको शरिरमा थप जटिलता आउँछ। यसले शरिरका अगंहरूलाई असर गरेकाले एक जनाको मृत्यु भएको हो। हाल कान्तिमा दैनिक १०/१५ जना बालबालिका पीसीआर परीक्षण गर्नुपर्ने खालका आउने गरेका ‌डा. पौडेल बताउँछन्।

कोभिड निमोनिया र नर्मल निमोनिया कसरी छुट्याउने

सामान्यतया: कोभिड निमोनिया र नर्मल निमोनियाको लक्षण उस्तै हुने भएपनि कोभिड निमोनिया लागेपछि शरिरमा अक्सिजनको मात्रा निकै कम हुन्छ। श्वास-प्रश्वासमा समस्या हुने, नाक बन्द हुने, अन्य भाइरल लागेका बेलामा भन्दा बढी ज्वरो आउने र खोकी लाग्ने हुन्छ। 

‘कोभिड निमोनिया र नर्मल निमोनियाको लक्षण सामान्यतया: उस्तै हुने भएपनि एक्सरे र सिटीस्क्यान गर्दा कोभिड निमोनियाले फोक्सोमा धेरै असर गरेको देखिन्छ।‘

बालबालिकालाई यसरी जोगाउने

काठमाडौं लगायत देशभर चिसो बढेको छ। सामान्य समयमा पनि चिसो बढेसँगै रुघाखोकी, श्वासप्रश्वासको समस्याले धेरैलाई सताउने गर्छ। बालबालिकाहरू चिसोबाट बढी प्रभावित हुन्छन्‌।

चिसोमा बालबालिकालाई रुघाखोकी लाग्ने र स्वासप्रश्वासको समस्या देखिने हुँदा विशेष हेरचाह गर्नुपर्ने हुन्छ।

कोभिड भएका अभिभावक सतर्क रहने

यदी घर परिवारमा कसैलाई कोभिड भएको छ र कोभिडसँग मिल्ने लक्षण देखिएको छ भने सकेसम्म बालबालिकासँग घुलमिल हुन नहुने चिकित्सकहरू बताउँछन्‌। डा. पौडेलले भने, ‘घर-परिवारमा कसैलाई कोभिड भएको छ वा लक्षण देखिएको छ भने सकेसम्म बालबालिकाबाट टाढै रहनुपर्छ, बालबालिकामा कोभिड पुष्टि भएपनि कम लक्षण देखिएको छ, शरिरमा कोभिड भाइरस भएपनि लक्षण नदेखिने हुँदा अर्को असर गर्छ।‘

बाक्लो लुगा नलगाइदिने

अभिभावकले जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर धेरै लुगा लगाइदिने गर्छन्। यसले बालबालिकालाई न्यानो हुने भन्दापनि थप समस्या ल्याउन सक्छ।

धेरै लुगा लगाइदिँदा बालबालिकालाई पसिना आउन सक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि चिसो लाग्छ, जसले रुघाखोक र निमोनियाजस्ता समस्या निम्त्याउँछ।

बाक्लो लुगा लगाइदिएको अवस्थामा बेलाबेलामा पसिना आए/नआएको हेर्नुपर्छ। यस्तै, बालबालिकालाई न्यानो होस् भन्नका लागि कपास भएको लुगा पनि लगाइदिने गरिन्छ। त्यसले पसिना सोस्छ र कपडा चिसो नै रहिरहन्छ।

आमा र बच्चाको सरसफाइमा विशेष ध्यान दिने

धेरै अभिभावकले बालबालिकालाई रुघाखोकी लाग्छ भनेर लामो समयसम्म ननुहाइ राख्छन्‌। यसो गर्नु बालबालिकाको स्वास्थ्यको लागि झन् घातक हुन्छ।

बालबालिकाको नियमित सरसफाइ गर्ने गरिएको छ भने जति पटक नुहाउँदा पनि रुघाखोकी लाग्ने सम्भावना रहँदैन। तर, सानो हुँदा कम नुहाइदिने गरिएको छ भने पछिसम्म पनि नुहाउँदा समस्या देखिन्छ। बालबालिकाको नियमित सरसफाइ गरिएन भने विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुनसक्छ। त्यसैले बालबालिकालाई नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ।

बालबालिकालाई रुघा लागेको अवस्थामा नाक टालिने गर्दछ। जसकारण स्वासप्रस्वासमा पनि असहज हुन्छ। यस्तो बेलामा भिक्स लगाइदिने चलन छ, जुन बालबालिकाको स्वास्थ्यको लागि राम्रो हुँदैन। भिक्समा रासायनिक पदार्थहरू हुन्छन्, जसले बालबालिकाको नरम छालामा असर गर्ने गर्छ। त्यसैले यस्तो बेलामा नरम कपडा वा कपासले नाक सफा गरिदिनुपर्छ।

जाडो महिनामा स्वस्थ राख्न बालबालिकालाई मात्र स्याहारसुसार गरेर पुग्दैन। आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। आमालाई संक्रमण भएको अवस्थामा बालबालिकालाई पनि सर्ने सम्भावना रहन्छ। विशेषगरी दूध खाने बालबालिकाका आमाले सरसफाइमा ध्यान दिनुपर्छ। स्तन र स्तनको निप्पल फोहोर भएमा बालबालिकाको मुखमा घाउ आउने सम्भावना हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.