तराईका जिल्ला सबैभन्दा बढी प्रभावित

|

विराटनगर : कोरोना संक्रमणबाट बढी प्रभावित बनेको प्रदेश १ मा संक्रमित हुनेको संख्या ३० हजार नजिक पुगेको छ। 

प्रदेशमा शुक्रबारसम्म २९ हजार १ सय ८७ संक्रमित रहेका छन। जसमा सबै भन्दा बढी प्रभावित विराटनगरमा मात्र संक्रमितको संख्या ८ हजार १३ रहेको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा कोरोनाबाट अहिलेसम्म १ सय ३५ महिलासहित ४ सय ५२ जनाले ज्यान गुमाएका छन। जसमा कोरोनाका कारण ज्यान गुमाएका मध्ये ३० जना प्रदेश बाहिरका छन्।

मन्त्रालयका अनुसार २१ देखि ३० उमेर समूहका मानिस सबैभन्दा बढी २६ दशमलव ५३ प्रतिशत संक्रमित हुनेको संख्यामा रहेका छन। यो उमेर समूहका ७ हजार ६ सय ३७ जना संक्रमित भएका छन। त्यसैगरी प्रदेशभरका सरकारी तथा निजीस्तरमा सञ्चालित विभिन्न ६ कोभिड अस्पतालमा  २५ जनाको आइसियुमा र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यसैगरी हाल ४ हजार ४८९ जना होम आइसोलेसनमा छन्। 

प्रदेशमा हालसम्म कोरोना निको हुनेको संख्या २४ हजार २४६ रहेका छन। प्रदेशभर कुल २ लाख २८ हजार ६४ जनाको पिसिआर परिक्षण गरिएको छ।

प्रदेशमा सबैभन्दा बढी तराईका जिल्ला प्रभावित

कोरोना संक्रमणबाट सघन बस्ती रहेका तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापा बढी प्रभावित भएका छन्। मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी मोरङ जिल्ला प्रभावित बनेको छ। त्यसमा पनि प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा संक्रमितको संख्या उच्च छ।

कुल १२ हजार ८ सय १३ संक्रमित रहेको मोरङमा विराटनगरमा मात्र ८ हजार १३ जना संक्रमित रहेका छन्। विराटनगर महानगरपालिकाभित्र मात्र जिल्लाको कुल संक्रमित संख्याको दुई तिहाइ बढी संक्रमित महानगरमा छन्। त्यसैगरी सुनसरीमा ८ हजार ८ सय ४ जना संक्रमित छन्। 

झापामा भने ४ हजार ४७४ जना संक्रमित छन्। यी तीन जिल्लाको तुलनामा अन्य पहाडी जिल्लामा संक्रमित संख्या अति न्यून छ।

प्रदेश सरकारसँग छैन आधिकारिक तथ्यांक 

महामारीको रोकथाम तथा नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको दाबी गर्दै आएको प्रदेश सरकारसँग कोरोना संक्रमणको वास्तविक तथ्यांकसमेत छैन। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको संक्रमणसम्बन्धी तथ्यांक र अस्पतालसँग भएको तथ्यांकबीच ठूलो अन्तर देखिएको छ। प्रदेशका अस्पतालमा उपचार गराएका र मृत्यु भएका संक्रमितको तथ्यांक फरक परेसँगै  मन्त्रालयले हचुवाका भरमा सूचना उपलब्ध गराइरहेको पुष्टि भएको छ। 

कोरोना महामारी रोकथाम,न्यूनीकरण तथा उपचारको जिम्मा पाएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हरेक दिन प्रदेशभरका ३७ वटा आइसोलेसन केन्द्रहरुमा भर्ना भएका, डिस्चार्ज भएका तथा ज्यान गुमाएका कोरोना संक्रमितको विवरण वेबसाइटमा अद्यावधिक गर्ने गरेको छ। तर, मन्त्रालयको वेबसाइटमा अपलोड गरिएका तथ्यांक सम्बन्धित आइसोलेसन केन्द्रको तथ्यांकसँग विल्कुलै मेल खाँदैन।

मोरङको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालसँग भएका तथ्यांक मन्त्रालयको भन्दा धेरै भिन्न छ। 

सामाजिक विकास मन्त्रालयको सूचनालाई आधार मान्ने हो भने उपचारका लागि अस्पताल भर्ना भएका, मृत्यु भएका र निको भएकाको तथ्यांकमा आकाश जमिनको फरक देखिन्छ।

मन्त्रालयले विराटनगरका तीन वटा निजी अस्पतालहरुमा अहिलेसम्म ७०३ जनाले उपचार गराएको र उनीहरुमध्ये १४८ जनाको मृत्यु भएको तथ्यांक दिएको छ। मन्त्रालयका अनुसार तीन अस्पतालमा ५५५ जना उपचारपछि घर फर्किएका छन्।

तर, ती अस्पतालहरुमा अहिलेसम्म उपचारका लागि १ हजार ४०२ जना भर्ना भएको, १ हजार २०० जना उपचारपछि घर फर्किएका र २०२ जनाको मृत्यु भएको पाइएको छ। वास्तविक संख्याभन्दा  करिब आधा मात्र रेकर्ड मन्त्रालयमा रहेको देखिन्छ। 

बुधबार बेलुकीसम्मको तथ्यांकअनुसार मोरङ बुढीगङ्गा–२ स्थित विराट मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या २३ हुँदा मन्त्रालयको वेबसाइटमा भने २५ छ। विराट कोभिड अस्पतालका इन्चार्ज अरविन्द मण्डलका अनुसार हालसम्म अस्पतालबाट ६ सय २९ जनाले कोरोना जितेका छन् भने ४४ ले ज्यान गुमाएका छन्।

मन्त्रालयको तथ्यांकमा भने विराट कोभिड अस्पतालबाट संक्रमणमुक्त हुनेको संख्या २९१ र ज्यान गुमाउनेको संख्या ४६ छ। विराटनगरको अर्को ठूलो अस्पतालको रुपमा रहेको नोबेल मेडिकल कलेजबाट ४ सय ३७ जनाले कोरोना जितेका छन् भने १३२ ले ज्यान गुमाएका छन्।

अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भएका संक्रमितको संख्या भने ६४ रहेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए। तर, मन्त्रायलको तथ्यांकमा भने नोबेलको कोभिड अस्पतालबाट संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ३४ र ज्यान गुमाउनेको संख्या ७९ मात्र छ। अस्पतालमा उपचाररत संक्रमितको संख्या शून्य रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।

सरकारी तथ्यांकअनुसार विराटनगरको महेन्द्र चौकमा अवस्थित न्युरोको कोभिड अस्पतालमा हाल एक महिला र ५ पुरुष गरी ६ जनाले उपचार गराइरहेका छन्। 
१३४ जना निको भई डिस्चार्ज भइसकेको र २६ जनाले ज्यान गुमाएको मन्त्रालयको रेकर्ड छ। तर, न्युरो अस्पतालको बुधबार बेलुकीसम्मको तथ्यांकअनुसार सो अस्पतालमा ४ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ।

जसमा ३ जनाको आइसियुमा र एक जनाको जनरल वार्डमा उपचार भइरहेको छ। अस्पतालका फोकल पर्सन अजितराज बस्नेतका अनुसार न्युरोको कोभिड अस्पतालबाट हालसम्म २३० जना संक्रमणमुक्त भई घर फर्किएका छन्। उपचारको क्रममा न्युरोमा २३ को ज्यान गएको छ।

यी तथ्यले प्रदेश सरकारसँग सूचना र तथ्यहरुको अभाव भएको र जथाभावी सूचना प्रवाह भएको पुष्टि हुन्छ। प्रदेश १ मा यीबाहेक अन्य ३४ वटा आइसोलेसन केन्द्रहरुमा कोरोना संक्रमितहरुको उपचार हुने गरेको छ। 

कोरोनासँग सम्बन्धित सम्पूर्ण तथ्यांकहरु दुरुस्त राख्ने जिम्मेवारी मन्त्रालयको हो। तर, मन्त्रालयको आधिकारिक वेबपेजबाट प्रवाह भएका तथ्यांक वास्तविकतासँग मेल नखाँदा सूचनाको सत्यतामाथि नै प्रश्न उठेको छ।

निजी अस्पताल तथा अन्य आइसोलेसन केन्द्रहरुले नियमित रिर्पोटिङ नगर्दा तथ्यांक अद्यावधिक राख्न अप्ठयारो भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए। अस्पतालहरुले ढिलो गरी रिर्पोटिङ गर्दा वेबसाइटमा राख्दा पुरानै तथ्यांक सर्दै आएको उनले स्वीकार गरे।

अस्पतालको रिपोर्टिङकै आधारमा हरेक दिन थपिएका संक्रमित, डिस्चार्ज भएका व्यक्ति र मृत्यु भएका व्यक्तिको संख्या मन्त्रालयले नियमितरुपमा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको छ।

सबैभन्दा बढी बिपी प्रतिष्ठानमा पिसिआर परीक्षण

प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले जानकारी दिए । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उनले बताए।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा बढीको कोरोना परीक्षण गरेको छ। उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

परीक्षण दर घट्दै

देशभर पिसिआर परीक्षण दर घटाइसँगै प्रदेश १ मा पनि कोरोना परीक्षण दर घटाइएको छ। प्रदेशमा पछिल्लो समय ५ सय हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको छ। विगतका दिनमा प्रत्येक दिन दुई हजार बढीको पिसिआर परिक्षण हुँदै आएको थियो।

महानगरको स्वाब संकलन बन्द

विराटनगर महानगरपालिकाले जैन भवनबाट गर्दै आएको स्वाब संकलन कार्य अनिश्चितकालका लागि रोकिएको छ। महानगरपालिकाले गएको बुधबार एक सूचनामार्फत स्वाब संकलन स्थगित गरेको जनाएको छ।

विराटनगरमा कोरोना भाइरसको संक्रमण बढेपछि जैन भवनलाई गत वैशाख ५ गतेदेखि स्वास्थ्यकर्मीका लागि क्वारेन्टाइनसहित स्वाब संकलन केन्द्रका रुपमा प्रयोग गर्न थालिएको थियो। त्यसपछि कात्तिक १ गतेबाट जैन भवन प्रशासनले महानगर र प्रदेश १ सरकारलाई भवन खाली गरिदिन आग्रह गरेको थियो।

खाली रहेको जैन भवनको प्रांगण ठूलो भएका कारण कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाब संकलन गर्न सहज हुँदै आएको थियो। तर उक्त भवनमा मारवाडी समुदायको विवाहलगायत कार्य हुने भएका कारण खाली गर्न दबाब बढेको थियो।

महानगरपालिकाले उक्त भवनबाट हुँदै आएको स्वाब संकलन कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ। उक्त सूचनामा अर्को व्यवस्थाबारे कुनै पनि जानकारी गराइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.