दाहाल–नेपाल एक हुँदा मुख्यमन्त्रीको पक्षमा जम्मा १९ जना

|

विराटनगर : प्रतिनिधिसभा विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहको असर अब प्रदेश सरकारमा पनि पर्ने देखिन्छ।

प्रदेश १ मा पार्टी केन्द्रीय सदस्य एव प्रदेश सहइन्चार्ज रहेका शेरधन राई नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ। तर केन्द्रमा देखिएको कलह र संभावित विभाजनपछि अब राई नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ।

प्रदेश १ सभामा ९३ जना सांसदमध्ये पूर्वएमाले र माओवादीबीचको चुनावी गठबन्धनबाट ६७ जना निर्वाचित भएका थिए। तीमध्ये पूर्वएमालेबाट ५१ जना र माओवादीबाट १६ जना छन्। सरकारलाई बहुमत पुग्न ४७ सांसद आवश्यक पर्छ। तर प्रचण्ड र नेपाल पक्ष एकातर्फ हुँदा मुख्यमन्त्री शेरधन राईको पक्षमा अहिले १९ जना संसद मात्र हुन्छन्।

पार्टीको केन्द्रीय सदस्य रहेका प्रदेश सरकारका ५ जना मन्त्रीमध्ये मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत ओली समूहका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रचण्ड–नेपाल समूहका हुन्। मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई सहयोग गरेर मन्त्री भएको कारण घिमिरेप्रति भने उनकै समूह विश्वस्त छैन भने उनी ओलीनिकट पनि हुन सकेका छैनन्।

यद्यपि पूर्व माओवादीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका प्रदेशमा कोही पनि देखिएका छैनन्। प्रमुख विपक्षी नेपाली कांग्रेसका २१ जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक जना सांसद प्रदेश सभामा छन्।

पूर्व एमालेभित्र माधव नेपाल पक्षभन्दा प्रधानमन्त्री केपी ओली पक्षका सांसद धेरै भए पनि पार्टी विभाजन हुँदाको अवस्थामा सरकार अल्पमतमा पर्ने निश्चित भएको नेकपा सांसद कुसुम श्रेष्ठले बताइन्। ‘पूर्व एमालेको कुरा गर्दा ओली पक्षका सांसद अलि बढी छन् तर अब बदलिएको परिस्थितिमा प्रदेश सरकार अल्पमतमा पर्छ,’ सांसद श्रेष्ठले भनिन्, ‘धेरै साथीहरु पर्ख र हेरको अवस्थामा छन्, सरकारको भावी कदमले पनि संख्या तलमाथि बन्न सक्छ।’

राष्ट्रिय राजनीतिको प्रभाव प्रदेश सरकारमा पर्दा त्यसको असर सत्ता समीकरणमा पर्ने बताउँदै श्रेष्ठले त्यस्तै अवस्था आए प्रचण्ड– नेपाल पक्षको संसदमा पकड बढी रहने बताइन्

तर प्रधानमन्त्री ओली पक्षका सांसद एवं नेकपा प्रमुख सचेतक बुद्धि कुमारराज भण्डारीले भने आफूहरुको पक्षमै बहुमत सांसद रहने र सरकार नढल्ने दाबी गर्छन्। ‘माथि (केन्द्र) को पिक्चरले धेरै कुरा तय गर्छ, तर यहाँको सरकार ढल्दैन, प्रचण्ड–माधव पक्षमा जाने संख्या देखिँदैन,’ राजभण्डारीको दाबी छ।’

सत्ता समीकरणको अवस्था भविष्यले  बताउने भन्दै राजभण्डारीले कतिपय साथी नेता सती गए पनि सत्ता समीकरणमा कुनै असर नपर्ने दाबी गरे। ‘प्रचण्ड र नेपाल पक्षका नेताहरुको पुच्छर पक्रिएर बैतर्नी नतर्ने कार्यमा धेरै माननीयहरु नलाग्दा मुख्यमन्त्री राई सुरक्षित रहनुभएको छ’,उनले थपे।

पार्टीमा पनि प्रचण्ड–नेपाल समूहको पकड दह्रो

संसद विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश १ मा नेकपाको शक्ति सन्तुलनको अवस्था के छ भन्नेबारे चासो समेत बढेको छ।

दुई पार्टी एकता भएर नेकपा बनेपछि तत्कालीन माओवादी केन्द्रमा आबद्ध अधिकांश प्रचण्ड–नेपाल समूहमै पकड बलियो छ। तत्कालीन एमालेका माधव नेपाल समूह प्रचण्ड समूहसँग मिलेकाले सो समूहको सबैतिर स्पष्ट बहुमत छ।

प्रदेश १ का पदाधिकारीमध्ये प्रधानमन्त्री ओलीको समूहको प्रतिनिधित्व अध्यक्ष देवराज घिमिरेले गर्छन् भने सचिव सुरेश किराँती प्रचण्डनिकट हुन्। प्रदेश १ का इन्चार्ज भीम आचार्य नेपालनिकट, सहइन्चार्जहरु सावित्रीकुमार काफ्ले प्रचण्ड निकट र नरेश खरेल नेपालनिकट रहेकोमा अर्का सहइन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राई ओलीनिकट हुन्। नेकपाले पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्लाको इञ्चार्ज र सहइञ्चार्ज बनाएको छ।

प्रदेश १ का १४ जिल्लामा इञ्चार्ज रहेका १४ जना केन्द्रीय सदस्यमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा छन् भने खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा छन्।

इन्चार्जहरुमा ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रवीन कोइराला, मोरङका घनेन्द्र बस्नेत, सुनसरीका धर्म निरौला,संखुवासभाका राजेन्द्रकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार र उदयपुरका बलदेव चौधरी नेपालनिकट हुन्। पाँचथरका इन्द्रबहादुर आङ्बो, इलामका धीरेन शर्मा, धनकुटाका हेमराज भण्डारी, तेह्रथुमका जयन्ती राई, भोजपुरका सुदन किराती र सोलुखुम्बुका हेमकुमार राई प्रचण्डनिकट हुन्।

यसैगरी १४ जिल्लाका २५ जना सहइञ्चार्जमध्ये १६ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। अध्यक्ष ओली समूहमा ७ जना छन् भने दुई जना जिल्ला सहइन्चार्ज कुनै समूहमा खुलेका छैनन्।

जिल्ला सहइन्चार्जमा झापाका धर्मशीला चापागाईं, ताप्लेजुङका पासाङ शेर्पा, मोरङका गोपी अछामी, सुनसरीका एकचन्द्र बराल, रामकुमारी चौधरी, तेह्रथुमका दुर्गा चापागाई, संखुवासभाका राजेन्द्र कार्की, खोटाङका रामकुमार राई र समिता कार्की प्रचण्डनिकट हुन्।

यस्तै मोरङका महेश रेग्मी र देउमान सम्बाहाम्फे, सुनसरीका मोहमद महुज अन्सारी, भोजपुरका हरिबहादुर राई, खोटाङका दुर्गाजयन्ती राई र राजन राई आफ्नो पक्षमा रहेको नेपाल समूहको दाबी छ।

ओली समूहमा खुलेका जिल्ला सहइन्चार्जहरुमा पाँचथरका अइन्द्रसुन्दर नेम्वाङ, झापाका देवेन्द्र दाहाल, सुनसरीका जगदीश कुसियैत, तैयव हुसेन र भगवती चौधरी, तेह्रथुमका विजय सुब्बा र उदयपुरका मञ्जु चौधरी छन्।

सहइन्चार्ज रहेका झापाका हरिबहादुर राजवंशी र ताप्लेजुङका तिलकुमार मेयाङ्बो कतै नखुलेको बताइन्छ। नेपालनिकट मानिने मेयाङ्बो प्रतिनिधिसभाको सदस्य दाबेदार भए पनि योगेश भट्टराईले टिकट पाएपछि असन्तुष्ट रहेको बताइन्छ।

प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लाका अध्यक्षहरु प्रचण्ड–नेपाल समूहमा खुलेका छन् भने ५ जिल्लाका अध्यक्ष ओली समूहमा छन्। दुई जिल्लाका अध्यक्षहरु तटस्थ रहेको मानिएको छ।

इलामका अध्यक्ष राम राना र धनकुटाका अध्यक्ष राजेन्द्र राई आफ्नो समूहमा रहने दुवै पक्षको दाबी छ। राना नेता झलनाथ खनाल निकट भए पनि प्रदेश सरकारमा मन्त्री रहेकोले नखुलेको प्रचण्ड–नेपाल समूहको दाबी छ। राई पनि आफूहरुसँगै रहेको सो समूहको भनाइ छ।

जिल्ला अध्यक्षहरुमा ताप्लेजुङका विजय बनेम, सुनसरीका योगेन्द्र मण्डल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का र उदयपुरका विनोद कटवाल प्रचण्ड निकट हुन्।

यस्तै तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे नेता नेपाल निकट मानिन्छन्। पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानबीर राई ओली समूहमा खुलेका जिल्ला अध्यक्षहरु हुन्।

जिल्लाका सचिवहरुमा धने प्रदेश १ का १४ जिल्लाकै सचिवहरु प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।

ताप्लेजुङका बलबहादुर साम्सोहाङ, सुनसरीका रमेश बस्नेत, खोटाङका राम दंगाल, ओखलढुंगाका मोहन श्रेष्ठ र उदयपुरका इश्वरमणि राउत नेपालनिकट मानिन्छन्। यस्तै पाँचथरका होम जबेगु, इलामका सोममाया राई, झापाका मणिकुमार साम्पाङ, धनकुटाका ऋषिराम ढुंगाना, तेह्रथुमका इन्द्रबहादुर इम्सुङ, संखुवासभाका कृष्ण याख्या, भोजपुरका विमल खड्का र सोलुखुम्बुका गोम्बु शेर्पा प्रचण्ड निकट हुन्।

प्रदेश १ मा जिल्ला सरहको हैसियत राख्ने विराटनगर महानगर कमिटीको इञ्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्ड–नेपाल समूहका हुन्। महानगरका अध्यक्ष सागर थापा भने ओली समूहमा छन्।

प्रदेश १ बाट नेकपाको सचिवालयमा प्रतिनिधित्व गर्ने दुई जनामध्ये अध्यक्ष केपी ओली र पूर्व अध्यक्ष झलनाथ खनाल फरक समूहमा रहँदा स्थायी समिति सदस्यहरु योगेश भट्टराई, भीम आचार्य र आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा प्रचण्ड नेपाल समूहमा छन्। स्थायी समिति सदस्य सुवास नेम्वाङ भने ओली समूहमा छन्।

जिल्लाका इञ्चार्ज तथा सहइञ्चार्ज रहेका बाहेक संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोरङका भानुभक्त ढकाल, कानुनमन्त्री मोरङकै शिवमाया तुम्बाहाम्फेसहित केन्द्रीय सदस्यहरु मोरङका विनोद ढकाल र गुरु बराल तथा संखुवासभाका राजेन्द्र गौतम ओली समूहमा छन्।

केन्द्रीय सदस्यहरु झापाका राम कार्की, ताप्लेजुङका टंक आङ्बुहाङ, भोजपुरका अजम्बर काङवाङ र पदम राई, सुनसरीका किरण राई, सोलुखुम्बुका शिवबहादुर वस्नेत,  उदयपुरका जगन्नाथ खतिवडा प्रचण्ड–नेपाल समूहमा खुलेका छन्।

नेकपाको प्रदेश १ कमिटी २०७ जनाको गठन भएको थियो। त्यसमा पछिल्लो पटक विधानअनुसार १० प्रतिशत सदस्य मनोनित गरी थप गरिएको छ। प्रदेश कमिटीमा साविक माओवादीको ४० प्रतिशत रहेकोले त्यसमा नेपालनिकट सदस्यहरु थप गर्दा ७० प्रतिशतभन्दा माथि आफ्नो पक्षमा हरेको प्रचण्ड–नेपाल समूहको दाबी छ। प्रदेशको पार्टी कमिटी मात्र नभएर प्रदेश १ को संसदीय दलमा पनि ओली पक्ष कमजोर छ। 

यसअघि साविक एमालेमा २ मतले शेरधन राईले भीम आचार्यलाई हराएर दलको नेता बन्दै मुख्यमन्त्री भए पनि अहिले पूर्वएमालेका ५१ सांसदमध्ये ओली पक्षमा २० जना मात्र रहेको दाबी गरिएको छ।

पूर्वमाओवादीका १६ जना प्रचण्डकै पक्षमा एकताबद्ध रहेकोले ६७ सदस्यीय नेकपा संसदीय दलमा ४७–२० को समीकरण रहेको दाबी छ। यद्यपि ओली समूहबाटै प्रदेश सरसकारको मुख्मन्त्री र बहुमत मन्त्री कायम रहेकोले आफ्नो बहुमत संसदीय दलमा कायमै रहेको सो समूहको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.