|

सात दशकको निरन्तर संघर्ष, धेरै मिहिनेत र परिश्रमपछि वि.सं. २०७२ मा दोस्रो संविधानसभामार्फत नयाँ संविधान जारी भयो। यसले नागरिक तथा नेतृत्व तहमा गणतन्त्रसहितको लोकतान्त्रिक संघीयता नेपाल अब नयाँ दिशातिर उन्मुख हुनेछ भन्ने आशा पलाएको थियो।

तर अहिले दुई तिहाईका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने चेष्टा गर्नुले संविधान निर्माण हुँदा नै जनताको अभिमत र विचारलाई महत्त्व दिइएन या संविधानमा नागरिकको कुनै भूमिका र मूल्य छैन भन्ने प्रश्न जागृत हुन थालेको छ। संविधान प्राप्तपछिको खुसियाली स्वदेशमा मात्र दीपावली भएन मित्र राष्ट्रहरु समेत खुसी भएका थिए।

मुलुकले संविधान पाउनासाथ विश्वकै उत्कृष्ट संविधान भनेर नाक  फुलाउने काम भयो। मानौँ यही संविधान कै कारण देश अराजकतामा गुज्रेको थियो अब त निकास मिल्यो। अब देशले समृद्धिमा फड्को मार्छ, स्थायी शान्ति प्राप्त गर्छ भन्ने आशा र विश्वासका तरंग आम जनतामा फैलियो।

हुनत तत्कालै मधेसी आन्दोलनका नाममा असन्तुष्टि र भागबन्डाका एजेण्डा पनि नआएका होइनन्। सबै सामना गर्दै, भूकम्पको पीडा, नाकाबन्दीलगायतका परिस्थितिको सामना नागरिकले गर्नुपर्‍यो। अनेक तिकडम गरेर, पार्टीको संयोजनको नाममा २०७४ को संघीय निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी ओली नेतृत्वको सरकार विजयी बनेको थियो।

गुटको वासना र कामना

चुनाव जित्न मात्र मिलेमतो देखिए झैं गरी चाँडै नै बहुमत प्राप्त नेकपाभित्र विवाद र गुट देखिन थाले। राजनीतिमा धर्म, अनुशासन, स्थिरता, लाज र इज्जत हुँदैन भन्ने मान्यतालाई पुष्टि गर्ने प्रयास धेरै हुन थाले। जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै विभिन्न तहबाट असन्तुष्टिका स्वर सुनिँदै आउनु र बीचमा लोकतान्त्रिक विधि र पद्धतिलाई नै चुनौती दिने गरी सरकार परिवर्तनको माग पनि सुरु हुन थाल्नुले आजको दिन पक्कै आउनेछ भन्ने अनुमान पार्टीगत गुटको वासना र कामनाले संकेत गरेकै हो।

राजनेता उच्च तहको नेतृत्व सम्हाल्न त व्यक्तिको संस्कार, अनुशासन, इमान्दारिता र स्वभावले पनि त साथ दिनुपर्छ । पुण्य कर्म गरेर जनभावना जित्न त व्यक्तिगत निस्वार्थ भाव र नागरिकप्रतिको कर्तव्यबोधलाई पनि ख्याल गर्न सकेको हुनुपर्छ। व्यक्तिगत स्वभाव र नागरिककको हितमा कर्म गर्ने विश्वका अन्य नेताका कर्मका उदाहरणबाट सिक्न सक्ने क्षमता पनि त हुनुपर्छ। संगठन, संघीयता सबै भागबण्डाको राजनीति बनाउनु थियो भने राज्यकोषको दोहन गर्नु अगाडि अलिकति सोच आउनुपर्ने थिएन।

कोरोना कहरमा रोजगारी गुमाउने नागरिकको वेदना, उखु किसानको वेदना, भोकमरी बाढी पहिरो र चिसोले कठयांग्रिएर कष्टकर जीवन भोग्न बाध्य नागरिकको देशमा यो राजनीतिक अस्थिरता सृजना गर्नुलाई आफ्नो उपलब्धि ठान्नुहुन्छ प्रधानमन्त्री ज्यू?  संविधान, यो राज्य, राज्यको सम्पत्ति कसैको निजी थिएन र होइन। तर सबै आफ्नो हातमा छ, मेरो कब्जामा छ भन्ने सरकारमा बस्नेले सोच्छन्। अहिले प्रधानमन्त्री यही सोचिरहनु भए जस्तो लाग्छ। नत्र रातारात यो स्थिति सृजना भएको थियो या धेरै गृहकार्य गरेर निर्णयमा पुग्नुभयो?

एकातिर आफ्नै दलभित्रका नेतृत्वहरूले प्रतिनिधिसभा विघटनको सिफारिस नै संवैधानिक हिसाबले गैर संवैधानिक हो, राज्यविरुद्धको कुठाराघात हो भनिरहेको अवस्थामा प्रधानमन्त्रीले यस्तो निर्णय लिनु गलत सल्लाह र गलत सूचनाका आधारमा भएको त होइन? प्रधानमन्त्रीको मनोभावनालाई नागरिकले कसरी बुझ्ने? गुटबन्दी कामना र अपेक्षामा निहित नेतृत्व या दबाब र कसैको इशाराबाट संचालित प्रधानमन्त्री? भुइँतहका नागरिकलाई कसरी सम्बोधन गर्नुहुन्छ? के जवाफ छ? आफैं कुहिरोको काग कता जाने, मार्ग कताको लिने थाहा नपाएर द्विविधामा पर्नुको कारण के होला। आफू र राज्यलाई दुर्घटना हुनबाट कसरी बचाउने सोच छ या दुर्घटना निम्त्याउने नै हो? सबै आश्चर्य छ।

दृष्टि हट्यो दुर्घटना घट्यो

संविधानअनुसार संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीसँग मात्र नभएको, यो विषय एउटा पार्टीको मात्र नभएर राष्ट्रिय सरोकारको विषय भएकोले सबै राजनीतिक दलहरु मिलेर राजनीतिक निर्णय लिनुपर्ने हुन्छ अन्यथा दुर्घटना निम्तिन सक्छ भन्ने आवाज आइरहेकै छ। जसरी चालकको लापरवाहीले सडक दुर्घटना, धेरैको ज्यान गयो भनेर समाचार आइरहन्छन्। यिनै दुर्घटना र चालकको भूमिकामा हाम्रो राष्ट्रको अवस्थालाई तुलना गरेर हेरौं त? हाम्रा कयौं चालकको लापरवाहीले आज राष्ट्र कुन दिशातिर गइरहेको छ? हाम्रो राष्ट्र यसरी नै बार-बार दुर्घटनामा परेको छ कि छैन?

कहिले संविधान त कहिले धर्म निरपेक्षता, कहिले प्रदेश त कहिले मधेश, कहिले चुनाव त कहिले सरकार परिवर्तन अनेक वहानामा राष्ट्रले धेरै दुर्घटना भोगिसकेको छ। भन्न मिल्छ कि मिल्दैन राष्ट्रिय दुर्घटनाका पछाडि सम्बन्धित र सरोकारवाला चालकहरुको दृष्टि कस्तो रह्यो ? कस्तो रहनेछ ? दुर्घटनाका कारण छन् भने समाधानका उपाय छन् कि छैनन् ? ति उपाय प्रति नियमित अनुगमन र मूल्यांकन हुनुपर्छ कि पर्दैन ?

सडक दुर्घटना होस् या राष्ट्रको अस्थिरता सबैमा सम्बन्धित व्यक्तिको दृष्टिले ठूलो महत्त्व राख्दछ। परिस्थितिलाई हेर्ने मनस्थिति र सोंचले दृष्टिमा प्रभाव पारेको हुन्छ। आफ्नो व्यक्तिगत स्वार्थ र निच सोचाइ अनि चेतनाको स्तरले गर्दा जीवनशैली र कर्मलाई सिधै असर गर्दछ। दृष्टि नगुमाउने र होसपूर्ण रहने हो भने दुर्घटना हुनै सक्दैन। दुर्घटना भैसकेपछि समवेदना प्रकट गर्नुले मात्र कुनै अर्थ राख्दैन। अब दुर्घटना नदोहोरिउन् भन्नका खातिर के कारणले दुर्घटना हुन्छन्? समाधानका उपाय के हुन सक्छन् र ती उपायलाई प्रभावकारी बनाउन समय-समयमा अनुगमन र मूल्यांकन हुनु जरुरी हुन्छ।

कुनै पनि घटनाका पछि जोडिएर आउने तथ्यलाई मनन गरी सत्यताको खोजी गरिनुपर्दछ। कर्म पछाडि लुकेको नियतलाई केलाउनुपर्दछ। मनस्थिति र परिस्थितिलाई दृष्टिगत गरी होसियारीपूर्वक गरिएका कामले अप्रिय घटना भरसक हुन दिँदैन। बेहोसी नै घटनाको कारण हो। सबैले आफ्ना कर्मप्रति होसपूर्ण र वफादार हुने कला जानेर व्यवहारमा उतार्ने हो भने किन दुर्घटना हुन्थ्यो र? बेहोसीकै कारण हो अरुलाई दुर्घटनामा पार्नु र आफू पनि खाल्डोमा खस्नुपर्ने अवस्था आउनु। सवारी साधन चलाउँदा मात्र होइन हरेक कर्ममा होस र ध्यानको जरुरत रहन्छ।

होस र ध्याननै सम्पूर्ण समस्याका समाधान हुन्। होस प्रत्येक व्यक्तिको स्वभाव हो। स्वभावबाट हटेपछि त अभाव भइनै हाल्छ नि। होसपूर्ण व्यक्ति ध्यानस्थ र प्रेमपूर्ण हुन्छ भने प्रेमपूर्ण व्यक्ति हमेसा होस/ ध्यानमा रहन्छ। त्यसैले होला ओशोले भन्नु भएको- "म तिमीहरुलाई दुईवटा मार्ग बताउँछु प्रेम र ध्यानको। यी दुई मार्ग अपनाएर हिँड्यौ भने जीवनको कुनै कर्ममा तिमी दुर्घटनामा पर्दैनौं। यी दुई मार्ग अपनाएर गरेका कर्मबाट कहिल्यै तिमी पछुताउनु पर्दैन।"

मनन् गरौँ, दुर्घटनाबाट बचौं, बचाऔं र एक क्षण पनि विनाअर्थमा खेर नफाली जीवनलाई सुन्दर ढंगले जिऔं। राष्ट्रका चालकदेखि लिएर सवारी चालक सबैमा होसपूर्ण अवस्था, सभ्यता, शिष्टता, संस्कार, कर्तव्यपराणयता, आचारविचार र सकारात्मक जीवनशैलीको खाँचो छ। यसलाई आत्मसात नगरे फेरि कयौं दुर्घटना बेहोर्न बाध्य हुनुपर्नेछ।

चुनावको  परिणाम र स्थायित्व

२०७४ को संघीय निर्वाचनको नतिजा पश्चात नै यस पंक्तिकारको एउटा आलेख प्रकाशित भएको थियो चुनावको परिणाम स्थायित्वमा परिणत हुन्छ कि हुन्न? साढे तीन वर्षपछि उक्त आलेख पढ्दा पनि आजको स्थितिबारे कति आशंका रहेछ नागरिक तहबाट भन्ने छर्लंग हुन्छ।

उतिबेलाको आलेखको एक अंश जस्ताको तस्तै– “जनताको अभिमत, रोजाई र चाहनाको परिणाम हो चुनावको विजय र नतिजा। त्यसो त समय समयका चुनाव र नतिजाले राष्ट्रको विकास कतातिर गइरहेको छ भन्ने हामीले अनभूति गर्दै आइरहेका छौं। स्वभाव नै हो मानिसको चुनावबिना ऊ बाँच्नै सक्दैन चाहे त्यो स्थानीय निकायको होस् या प्रतिनिधिसभा र प्रदेशसभा अनि राजनीतिक चुनाव होस् या आर्थिक, सामाजिक र व्यक्तिगत चुनाव।

रोजाइबिनाको जीवन, जे छ त्यसमा स्वीकार गर्ने र ‘सर्वे भवन्तु सुखिन:’ को भाव राखेर करुणादायी विकास गर्नको लागि त चुनावरहित भएर संतत्वको गुण धारण गर्न सक्ने हुनुपर्दछ। जसरी पनि चुनाव जितौं र चुनाव नै निकासको माध्यम हो भन्ने जानेकाहरुको लागि चुनावरहित जीवनको मर्म बुझ्न अवश्य कठिन हुन्छ। स्थायित्व र समग्र विकासका लागि चुनाव चाहिने परिवेशमा चुनावको नतिजा र त्यसपछिका अपेक्षा महत्त्वपूर्ण हुनु स्वाभाविक हो।

संविधानको कार्यान्वयन, संघीयताको प्रभावकारिता र स्थिर सरकार अनि त्यसले गर्ने विकासका कामहरु यो सरकारका महत्वपूर्ण अपेक्षा रहेका छन्। कुन हदसम्म यी कुराहरु पालना गरिन्छन् र नतिजा आउने हो त्यो त समयले नै बताउनेछ। तथापि अस्थिर सरकार र राजनीतिक अवस्थाकै कारणले अराजकता, अनैतिकता र भ्रष्टाचार मौलाउदै गएको छ।  त्यसले समग्र विकासमा बाधा पुर्‍याएको कारण अबको समय सबै दृष्टिकोणबाट सहज हुनेगरी नागरिकको भावना र देशको समृद्धिलाई ध्यानमा राखेर विकासका काम अघि बढुन् भन्ने अपेक्षा सरकारमार्फत गरिनु सकारात्मक पक्ष हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.