|

सुर्खेत : प्रतिनिधिसभा विघटन भएसँगै यतिबेला नेकपा फुटको संघारमा पुगिसकेको छ। नेकपामा ओली र प्रचण्ड–नेपाल पक्षले औपचारिक रूपमा पार्टी फुटिसकेको घोषणा नगरे तापनि दुई पक्षबीच द्वन्द्व, गुटगत भेला‍ र प्रदेशमा विभिन्‍न अड्कलबाजीहरू सुरु भइसकेको छ।

यतिबेला कर्णाली प्रदेशको सरकार के हुने भन्ने जिज्ञासा पनि बढ्दै गएको छ। पूर्व-माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेश सरकारमा अहिले पूर्व-माओवादी केन्द्रका मुख्यमन्त्री शाहीसहित दुई जना, केपी ओली पक्षका दुईजना र माधव नेपाल पक्षका एकजना मन्त्री रहेका छन्। केन्द्रमा पार्टीमा आएको फुटसँगै कर्णाली प्रदेशको सरकारका विषयमा पनि विभिन्न अड्कलबाजी भइरहेका छन्। प्रदेश सरकारका लागि आवश्यक बहुमत संख्या नेकपा विभाजनसँगै गुमेको देखिएको छ।

खासगरी पूर्व-माओवादीको कोटाबाट प्रदेशसभा सदस्य बनेका प्रदेश सभा सदस्यहरू दैलेखका धर्मराज रेग्मी र ठम्मर विष्टलाई ओली पक्षको केन्द्रीय समितिमा मनोनयन गरेसँगै प्रदेश सरकारका बारेमा अड्कलबाजी गर्न थालिएको हो। 

कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका पूर्वमाओवादी सांसदहरू ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्। मंगलबार केपी शर्मा ओलीले एकलौटी रूपमा थपेका ५ सय ५६ जना केन्द्रीय सदस्यमध्ये कर्णालीमा प्रतिनिधित्व गर्ने पूर्वमाओवादी सांसद पनि परेका हुन्।

विष्ट सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने रेग्मी दैलेखको प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन्। तत्कालीन माओवादी र एमालेको गठबन्धनबाट उनीहरूले माओवादीको तर्फबाट चुनाव जितेका थिए।

ओली समूहको केन्द्रीय सदस्यमा मनोनीत विष्ट र रेग्मीले यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेका थिए। त्यसबेला पूर्व-माओवादीको तर्फबाट प्रदेशसभाको उपसभामुख रहेकी पुष्पा घर्ती विष्टले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइन्। अहिले उनले भने मुख्यमन्त्री शाहीकै पक्षमा रहेकी छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित हुनको लागि प्रदेशसभामा रहेको  संख्याको बहुमत अथवा २१ जना सांसद प्रदेशसभामा सरकारको पक्षमा हुनु पर्दछ। तर, अहिले प्रचण्ड र नेपाल पक्षका १९ जना सांसद मात्र सरकारको पक्षमा रहन्छन्।

मुख्यमन्त्री शाहीले सरकार बचाइराख्‍नको लागि अरू ३ जना सांसदको आवश्यक पर्ने देखिन्छ। जसका लागि कि त नेपाली कांग्रेसको सहयोग लिन सक्नु पर्दछ कि त ओली पक्षका सांसद चोर्नुपर्ने देखिन्छ।

प्रदेश सभामा पछिल्लो अवस्था यस्तो छ

प्रचण्ड नेपाल समूह

महेन्द्र बहादुर शाही

सीता कुमारी नेपाली

विमला केसी

रातो कामी

वीरबहादुर शाही

विन्दमान विष्ट

पुष्पा घर्ती

गोपाल शर्मा

गणेशप्रसाद सिंह

प्रकाश ज्वाला

सुशील कुमार थापा

पद्मा खड्का

देवी ओली

चन्द्र बहाद्र शाही

कुर्मराज शाही

करवीर शाही

अमरबहादुर थापा

कृष्णा शाह (बादल समूह)

नरेश भण्डारी (बादल समूह)

ओली समूह

राजबहादुर शाही

यामलाल कँडेल

गुलावजंग शाह

दल रावल

बद्मीकुमारी बोहरा

राजु नेपाली

मिनासिंह रखाल

पदम बहादुर रोकाय

खड्क बहादुर खत्री  

शिलावती खत्री

नन्दसिंह बुढा

दानसिंह परियार

धर्मराज रेग्मी

ठम्मरबहादुर विष्ट

प्रदेशसभामा नेपाली कांग्रेसका ६ जना र राप्रपाका १ जना सांसद रहेका छन्। प्रचण्ड समूहका नेताले कर्णाली प्रदेश सरकार सुरक्षित रहेको बताएका छन्। प्रदेशसभाका प्रचण्ड पक्षका एक सांसदले अहिले सरकारले जसरी पनि बहुमत सिद्ध गरिने दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.