|

काठमाडौं :  उखु खेती गरेर घरबारविहीन हुन्छु भनेर सर्लाहीका उखु किसान गगनदेव यादवले कल्पना गरेका थिएनन्। जीवनको उतरार्धमा उनको जीवनमा कल्पना पनि नगरेको पीडा थपिएको छ।

बैंकबाट ऋण लिएर उखु खेतीमा लगानी गरेका उनलाई बैंकले २१ दिनको अल्टिमेटमको पत्र थमाएको छ। मंसिर २९ गते बैंकले ९ लाख ५० हजार रुपैयाँ कर्जासहित सम्पूर्ण भुक्तानी रकम बुझाउन पत्र काटिदिएको हो। ब्याजसहित उनले १० लाख १६ हजार ३ सय ३४ रुपैयाँ बैंकलाई तिर्नुपर्ने छ।

बैंकले पत्र काट्नु र यता आफ्नो ७१ सालदेखि उठ्न बाँकी करिब ४ लाख रुपैयाँ भुक्तानी नहुनु उनी घरबारविहीन हुने अन्तिम विन्दुमा छन्। यादवले अन्नपूर्ण सुगरमिलबाट करिब ४ लाख भुक्तानी रकम लिन बाँकी रहेको बताए।

माइतीघर मण्डला परिसरमा करिब ५० उखु किसान हलो, जुवा र उखुसहित आफ्नो भुक्तानी रकमका लागि आन्दोलनरत छन्। जसमध्ये बुढ्यौलीले निधार खुम्चिएका गगनदेव यादव ९ दिनदेखि आफ्नो भुक्तानी रकम पाउने आशामा आन्दोलनरत छन्।

यता, आन्दोलनले कुनै पार लगाउन नसकिरहेको बेला यादवलाई कृषि विकास बैंकले पत्र काटेपछि मर्नु र बाँच्नुको अवस्थामा पुगेका हुन्। 'आफूले पाउनु पर्ने रकम पाएको छैन। उता बैंकले पत्र काटिदिएको छ। मैले २१ दिनभित्र बैंकको रकम बुझाउन सकिनँ भने सबै विचल्ली हुन्छ', यादवले भने।

काठमाडौंको चिसोमा उनलाई दमले घेरेको छ। सर्लाहीमा श्रीमती आँखा देख्न छोडेकी बताउने उनी यो बेला के गर्ने भन्ने सोच्न सकिरहेका छैनन्।

उनी गहभरी आएको आँसु लुकाउन खोज्छन्। तर, गरिबीको चपेटामा समस्या नै समस्याले घेरिएको उनको जिन्दगी आँसुको मूल्य बुझ्ने सरकार सत्ताको खिचातानीमा व्यस्त छ। उनी चकित यो कारणले भएका छन् कि आफ्नो पसिनाको मूल्य खोज्दा सरकारले कानमा तेल हालेर बसिदिएको छ।

भिडियो :

'आफ्नो पसिनाको मूल्य खोज्न ऋण खोजेर काठमाडौं आएको हुँ। आफैँ बिरामी छु। घरमा श्रीमतीको आँखाको ज्योति गुमेको छ', उनी भन्छन्', अब म घर फर्किन पनि सक्दिनँ। यहाँ हाम्रो माग सुनुवाइ पनि भएको छैन।'

उखु खेती गरेर परिवारलाई पाल्ने सोच बनाएका उनी सुगर मिलको बदमासी र बढ्दै गएको बैंकको ऋणले घरबार बिहिन बनाउने अवस्थामा पुगेको बताउँछन्। । अब केही दिनमा आफ्नो रकम उठेन भने उनीसहित उनको परिवारको १२ सदस्य सडकमा बस्नुपर्ने छ।

साहु महाजनबाट सय कडा ४ को ऋण लिनुभन्दा बैंकबाट लिँदा सस्तो पर्ने भएकोले उनले बैंकबाट आफ्नो जग्गा धितो राखेर रकम लिएर उखु खेतीमा लगाएको बताउँछन्। कम्तीमा आफूले पाउनुपर्ने ४ लाख  रुपैयाँ सुगरमिलले भुक्तानी गरे बैंकलाई बुझाउने उनी बताउँछन्। ४ लाख दिएपछि बैंकले दया गर्छ कि भन्ने उनी आशावादी छन्। तर बुढेसकालमा सडकमा आउनुपर्छ भन्ने उनले सोचेका थिएनन्।

दिन घर्किंदै जाँदा उनको मुटुको चाप पनि बढ्दै गएको छ। अब उनी भगवानको भरोसामा छन्। 'सरकारले हामी गरिबको चित्कार सुनेन। मैले सबै आशा मारिसकेको छु। यदि भगवान् छन् भने मलाई बचाउँछन्', दबिएको स्वरमा यादव अन्तिम निर्णय सुनाउँछन्', रित्तो हात फर्किनुपरे आत्महत्या गर्छु। मसँग अर्को विकल्प छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.