|

धनगढी : कैलालीका झण्डै १ सय १६ योजनामा अनियमितता र भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेस कैलालीले प्रतिवेदन सार्वजनिक गरेको छ। 

सो प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा तीनै तहका सरकारहरूबाट सञ्चालन भएका विकास निर्माणका योजनाहरूमा चरम भ्रष्टाचार र अनियमितता भएको उल्लेख छ। 

संघ र प्रदेश सरकारबाट सञ्चालन भएका योजनाहरूमा सबैभन्दा बढी भ्रष्टाचार भएको कांग्रेसले दावी गरेको छ। गत आर्थिक वर्षभित्र जिल्लाका सबै स्थानीय तहमा संघीय र प्रदेश सरकार तथा स्थानीय सरकारबाट भएका विकास निर्माण योजनाहरूको अनुगमन गर्दै प्रतिवेदन तयार गरेको कांग्रेसले जनाएको छ।

अनुगमनका क्रममा १३ वटा स्थानीय तहका ३ सय ९६ वटा योजनामध्ये १ सय १६ विकास निर्माण योजनामा अनियमितता भएको कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले बताए। उनले सबैभन्दा बढी प्रदेश सरकार र संघबाट सञ्चालन भएका योजनाहरूमा भ्रष्टाचार भएको दावी गरे। 

कांग्रेसले सबैभन्दा बढी धनगढी उप–महानगरपालिकामा १७ वटा योजनामा, गौरीगंगा नगरपालिकामा १० वटा, घोडाघोडीको ७, टीकापुरमा ८, कैलारी गाउँपालिकामा ९, चुरे गाउँपालिकामा १२, भजनी नगरपालिकामा ६, जानकी गाउँपालिकामा ३, लम्किचुहा १४ योजनामा भ्रष्टाचार र अनियमितता भएको जनाएको छ।

यस्तै, मोहन्याल गाउँपालिकामा ९ र गोदावरी नगरपालिकामा १२ वटा योजनामा पनि भ्रष्टाचार भएको उल्लेख छ। बदगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा भ्रष्टाचार नदेखिएको सभापति शाहले बताए। 

कांग्रेसले भ्रष्टाचारका केही तथ्यहरू पनि सार्वजनिक गरेको छ। प्रतिवेदनमा योजनाहरू उपभोक्ता समितिमार्फत कार्यान्वयन भएपनि उपभोक्ता समितिले ठेक्कामा दिएर योजना कार्यान्वयन गर्दा अनियमितता भएको छ। 

यस्तै, योजनामा लागत इष्टिमेट अनुसार काम नभएको, गुणस्तरीय निर्माण सामग्री प्रयोग नभएको, हरेक योजनाहरू आर्थिक वर्षको अन्त्यमा सञ्चालन भएको र आर्थिक वर्षको समाप्तिसम्म पनि काम पूरा नभएको र योजनाको पूरै रकम भुक्तानी भएको उल्लेख गरेको छ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा स्थानीय तहले गरेको खर्चमा आर्थिक अनियमितता, अपारदर्शीता देखिएको उल्लेख गरेको छ। 

प्रतिवेदनमा प्रदेश सरकारका योजनामा भ्रष्टाचारको अधिकतम् प्रयास भएको र भ्रष्टाचारको अगुवाई सरकार स्वयम् उद्धत भएको आरोप छ। तयार गरेको उक्त प्रतिवेदन अख्तियार समक्ष पेस गर्ने कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.