|

कोरोना भाइरस महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको छ। दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्यु लगाइएको छ। 

कर्फ्यु रातको समयमा मात्रै लागू हुने भएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन्। यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यु लगाएको हो।

महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म जारी गरिएको छ। महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन्। 

नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै यस्तो गरिएको आदेशमा उल्लेख छ। 

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन्।

चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्यु लगाइएको अधिकारीहरूको भनाइ छ। भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोना भाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.