|

काठमाडौं : पूर्वमन्त्री एवं‌ विघटित प्रतिनिधि सभाका सदस्य शेरबहादुर तामाङले मुलुक निर्वाचनमा जानुपर्ने धारणा सार्वजनिक गरेका छन्‌।

पत्नी एवम्‌ प्रदेश सभा १ की सदस्य उषाकला राईसहित संयुक्त धारणा सार्वजनिक गर्दै राईले संसद विघटनको विषय अदालतले व्याख्या गरेपछि मात्र टुंगो लाग्ने तथा संसद पुनःस्थापना भए मुलुकको राजनितिक परिघटना पुनः अर्को कोर्सबाट बढ्ने उल्लेख गरेका छन्‌।

​संसद्‌ पुनःस्थापना नभए मुलुक सार्वभौमसत्ता सम्पन्न जनताको हातमा जाने हुनाले मुलुक पूर्णतः निर्वाचनमा जानुपर्ने राई दम्पतीले बताएका हुन्। 

अहिलेको परिस्थिति उत्पन्न हुनुमा सबैमा रहेका असहिष्णु, असहयोगी, असमझदारी, अहंकार, अविवेकी र असंवेदनशीलताका भावनाहरू नै कारक रहेको राई दम्पतीले उल्लेख गरेका छन्‌। 'हाम्रो नेपाली समाजमा रहेको खुट्टा तान्ने प्रवृत्ति अत्यन्त हानिकारक छ, कमवेशी सबैमा यो प्रवृत्ति हाबी छन्, एकातिर काम गर्नेले काम गर्न पाउँदैन भने अर्कातिर काम नगर्ने प्रवृत्ति भएकाहरूको बोलबाला निर्णायक ठाउँमा छन्,' राई दम्पतीले लेखेका छन्‌, 'जनताद्वारा, जनताले, जनताका लागि गरिने उत्कृष्ट शासन व्यवस्था लोकतन्त्र हामी सबैका साझा विषय हुन्, यसमा कतैबाट प्रश्न उठ्ने कुरा शोभनीय होइन।'

आफूहरूले पार्टी नेतृत्वबीच एकताका लागि नि:स्वार्थ प्रयास गरे पनि काम नलागेको भन्दै यो दम्पतीले प्रतिप्रश्न गरेका छन्‌, 'एउटै पार्टीभित्र यताउता हुँदा जघन्य अपराध गरेको जस्तो हुनुपर्ने हामीले कुन संस्कार विकास गर्‍यौं?'

जिल्लाका कार्यकर्तामा पार्टीप्रति निष्ठाका साथ एकताबद्ध भएर लाग्न आह्वान गर्दै उनीहरुले नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ भनी लेखेका छन्‌। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन तोकेपछि नेकपा विभाजित अवस्थामा पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.