बिरामी-बिहानै अस्पताल पुग्दापनि शय्या पाउँदैनन्

|

अतिन आचार्य/ श्याम राई

काठमाडौं : रुपन्देहीका ८ वर्षीय जीवन रोक्का उपचारका लागि यतिखेर त्रिवि शिक्षण अस्पतालमा छन्।

हाड जोर्नीको समस्या खेपिरहेका उनी एकसाता अघि काठमाडौंको चिसो सहँदै बिहानै अस्पताल पुगेका थिए। तर, पर्याप्त शय्या (बेड) नभएको भन्दै अस्पतालले उनलाई तत्कालै उपचार प्रकृयामा लैजान सकेन। अस्पतालका कर्मचारीहरूले यतिखेर बेडमा बिरामी खचाखच भएकोाले तत्कालै भर्ना लिन नसक्ने जानकारी उनका आफन्तलाई दिए।

बेड नभएपछि उनको भर्ना हुने समय २ बजेलाई सारियो। जीवनका आफन्त अस्पताल बाहिर भुइँमै बसिरहेका थिए। ‘अस्पतालले आज बिहानै उपचारको लागि बोलाएको थियो,’ अस्पतालमा भेटिएका जीवनका आफन्त दलबहादुर घर्ती मगरले थाहाखबरसँग भने, ‘हामी ९ बजे नै आइपुगेका थियौं। अस्पतालका डाक्टरले अहिले बेड खाली छैन हामीले २ बजेको समय लेखिदिएका छौँ भनेपछि पर्खिरहेका छौँ।’

उनका अनुसार लुम्बिनी अस्पतालमा बिरामीको उपचार हुन नसकेपछि अस्पतालले एक हप्ताअघि टिचिङ अस्पतालमा रिफर गरेको थियो। तर, अहिलेसम्म उनको उपचार हुन सकेको छैन।

‘यहाँ त बिरामीले समयमा उपचार पाउनै गाह्रो पर्ने रहेछ। उपचार नपाएपछि बिरामी व्यथा खेप्न बाध्य छन्। खै कहिले उपचार पाउने हो थाहा छैन, 'उनले थपे।

सर्लाहीका शम्भु चौधरी पनि १० दिनदेखि अस्पतालमा छन्। अस्पताल परिसरमा बसेपनि उपचार पाएका छैनन्‌। पाउन पनि कसरी ! अस्पतालका सबै बेड भरिएका छन्। उनले भने, ‘मेरो खुट्टा सुन्निएको छ। मृगौला बिरामी पनि हुँ। उपचार गर्न अस्पताल धाएको १० दिन भइसक्यो। राम्रोसँग उपचार पाएको छैन, बल्ल औषधी किन्न पाएको छु।'

पछिल्लो समय देशभर कोभिड संक्रमित संख्यामा कमी भइरहँदा काठमाडौं उपत्यकाका मुख्य-मुख्य सरकारी अस्पतालमा नन-कोभिडका बिरामीको संख्या बढ्दै गएको छ।

लकडाउन पूर्ण रूपमा खुलेसँगै मानिसहरूको आवतजावत सहज रूपमा हुन थालेपछि उपत्यका बाहिरबाट उपचार गराउन आउनेको संख्या बढ्दै गएको हो।

कोभिड त्रास बढेपछि नियमित स्वास्थ्य परीक्षण गर्नेसमेत रोकिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्य रोगका बिरामीले उपचार पाउनुपर्ने परिपत्र जारी गरेपछि सबै अस्पतालले नन-कोभिडका बिरामीलाई तीव्र रूपमा उपचार गर्न थालेको छ।

उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएकोले अस्पतालमा बेडको पनि अभाव हुँदै गएको छ। सरकारी अस्पतालमा अहिले पर्याप्त बेड नहुँदा समयमै उपचार पाउनबाट वञ्चित हुनुपरेको छ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न आउनेको संख्या बढिरहेको छ। चिसो मौसम रहेकोले मौसमी रुघाखोकी र निमोनियाका बिरामीहरूको संख्या थपिँदैछ। हाड जोर्नी, गाइनो, बालरोग, मानसिक, छाला रोग र शल्यक्रिया गर्नेको संख्या पनि बढेको छ।

कोभिडको त्रासले आकस्मिक शल्यक्रिया गर्नुपर्ने बाहेकका सामान्य रोगका बिरामीको शल्यक्रिया भएको थिएन।

'सार्वजनिक यातायात खुलेपछि बिरामीसंख्या बढ्यो'

उपत्यकामा बाहिरबाट उपचार गर्न आउनेको संख्या बढी भएकोले पनि अहिले अस्पतालमा चाप बढेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारी बताउँछन्। 

लामो समय लकडाउन र कोभिडको त्रास रहँदा नियमित उपचार गर्न नपाएकाहरू सार्वजनिक यातायात सञ्चालनमा आएपछि उपचारमा फर्किएको र त्यसैकारण बिरामीसंख्या बढेको उनले जानकारी दिए। उनका अनुसार अहिले एकैदिनमा ९ सय भन्दा बढी बिरामी आउन थालेका छन्। लकडाउनमा दैनिक २ सयदेखि ३ सय बिरामी अस्पतालमा उपचारका लागि आउने गर्थे।

'हाड जोर्नी विभागमा बिरामीको चाप बढी भएकोले पनि बेड अभाव भएको हो। अन्य विभागमा भने बिरामीको चाप कम छ, 'अधिकारीले भने, 'हाड जोर्नीका बिरामीहरू लामो समयसम्म उपचारमा बस्ने भएकोले बेड पर्याप्त उपलब्ध भएको छैन। उनीहरूको शल्यक्रिया हुन्छ, अस्पतालमा पूर्ण रूपमा ठीक भएर जाने भएकोले बेड पाउन समस्या भएको हो।'

छातीका समस्या, श्वासप्रश्वास र शल्यक्रियाको बढी बिरामी आउने गरेको उनले सुनाए। पछिल्लो समय बिरामीको चाप बढेकाले पनि त्यसलाई व्यवस्थापन गर्न अस्पताल प्रशासन गम्भीर भइरहेको उनको भनाइ छ। एकैदिन ५० जना बिरामी समेत बेड भर्ना भएको उनले जानकारी दिए।

वीरमा बेड अभाव छैन

वीर अस्पतालमा पछिल्लो समय स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको संख्या बढेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्। उनका अनुसार सामान्य ज्वरो, निमोनिया तथा छातीका समस्या लिएर आउनेको संख्या बढी रहेको छ।

दैनिक १४ सय भन्दा बढी बिरामी आउने गरेका छन्। दुई/तीन महिनाअघि ३ सयसम्म बिरामी आउने गर्थे। बिरामी संख्या बढेपनि बेडको अभाव नभएको उनले जानकारी दिए।

उनले भने, 'बिरामीको चाप केही दिन यता बढ्न थालेको छ। यातायातका सवारीसाधन सहज रूपमा सञ्चालन हुन थालेपछि बिरामीको संख्या बढ्न थालेको हो।'

बिरामीलाई लकडाउनमा समेत सेवा दिएको उनको भनाइ छ। वीरमा कोभिड संक्रमितको उपचार गर्न थालेपछि ट्रमा सेन्टरमा लगी उपचार गरिएको बताए।

पाटनमा उपचारका लागि सबै रोगका बिरामी आउँदै

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनयता बिरामीको चाप बढेको छ।

गर्भ परीक्षण आउनेको संख्या सबैभन्दा बढी छ भने मानसिक स्वास्थ्य परीक्षण, हाड जोर्नी, बालबालिकाहरू, रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र नाक तथा घाँटीको समस्या लिएर आउने बिरामीको संख्या बढेको प्रतिष्ठानका प्रशासनिक प्रमुख लिलाराज आचार्यले जानकारी दिए। उनका अनुसार अस्पतालमा अचेल दैनिक ८ सय हाराहारीमा बिरामीहरू परीक्षण र उपचार गर्न आउने गरेका छन्‌।

​केही दिनयता स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको संख्या बढ्दै गएको गएको आचार्यले बताए। जाडो मौसम भएकोले बढी चिसोका बिरामी आउने गरेको उनले जानकारी दिए। उनले भने, 'उपत्यकाका तीनै जिल्ला देखि अन्य वरिपरी जिल्लाका बढी आउँछन्। सार्वजनिक यातायात खुल्न थालेकोले पनि तराईका जिल्लाबाट बढी बिरामी आउने गरेका छन्।'

अस्पतालमा बिरामीको चाप बढेपनि बेडको अभाव भएर कुनै पनि बिरामीले गुनासो नगरेको आचार्य सुनाउँछन्। प्रतिष्ठानमा बेडको संख्या पर्याप्त रहेको छ। कोभिड संक्रमितलाई उपचार गराउन पनि बेड संख्या थपिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.