१५ लाखको ब्याज १ करोड १० लाख, दर्जनौंको उठीबास

|

विराटनगर : मिटरब्याज धन्दामा संलग्न कुख्यात मिटरब्याजी र गुण्डा नाइकेहरूको गिरोहलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि विराटनगरमा अपराध जालो झैं फैलिएको थाहा लागेको छ।

घरजग्गा राजीनामा पास गराउने र किर्ते कपाली तमसुक बनाएर अकुत ब्याज असुल्ने कुख्यात मिटर ब्याजीका नाइकेहरू यतिखेर धमाधम समातिन थालेका हुन्‌।

योसँगै कानूनी रूपमा अवैध ठहराएको मिटर ब्याजीको धन्दा वर्षौंदेखि विराटनगरमा हुने गरेको खुलेको छ। प्रहरीले मिटर ब्याजीको धन्दामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान गरिरहेको छ।

विराटनगर–९ घोघापुलका कुख्यात मिटरब्याजी ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार र एजाज अहमद पक्राउ परेपछि विराटनगरमा फस्टाएको अवैध मिटरब्याजको धन्दामा संलग्न गिरोहको पहिचान गर्दै उनीहरूविरुद्ध गहन अनुसन्धानमा मोरङ प्रहरी जुटेको छ। मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले अवैध मिटरब्याजी धन्दामा संलग्न गिरोहका नाइके मन्टु र एजाजको कनेक्सनबारे अनुसन्धान भइरहेको बताए।

एजाजले हालसम्म कुनै उद्यम, व्यवसाय नगरेको, तर केही वर्षभित्रै उनको आर्थिक हौसियत उकासिएको पाइएको प्रहरी प्रमुख खड्काले जानकारी दिए। ‘हामी अनुसन्धानको क्रममा छौं,यसबारेमा थप कुरा पछि खुल्नेछ,’ उनले थपे। 

पछिल्लो पटक प्रहरीको नियन्त्रणमा रहेका एजाज विराटनगरका गुण्डा नाइके आजम परवेजका भाइ हुन्। गुण्डा नाइके आजम अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय भोगेर जेल मुक्त भएका व्यक्ति हुन्। अहिले उनी युवा संघको विराटनगर महानगर संयोजक छन्। एजाजका दाजु रियाज अहमद विराटनगर महानगरपालिका–९ का वडा सदस्य हुन्। 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पछिल्ला दिनमा एजाजले विराटनगरका युवालाई गुण्डागर्दीमा प्रयोग गर्दै आएका छन्। विराटनगरमा मन्टु मिटर ब्याजको धन्दासँगै आपराधिक सम्पत्ति आर्जन गर्ने गिरोहको प्रमुख नाइके भएको प्रहरीको भनाई छ।

केहीअघि चर्को मिटर ब्याजमा ऋण लगाउँदै सर्वसाधारणको उठीबास लगाउने सर्लाहीका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) र रामबाबु राय यादव समातिएका थिए। मोरङको विराटनगर महानगरपालिका–९ घोगापुल चोकमा बस्दै आएका ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार उनीहरूभन्दा पनि ठूलो मिटरब्याजीका रूपमा कुख्यात छन्‌। उनले विराटनगरमा करिब १२ वर्षयता मिटरब्याज धन्दा चलाउँदै आएका थिए।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनले यो अवधिमा मिटर ब्याजमा रकम दिएर सर्वसाधारणबाट करोडौँ असुलिसकेको खुलेको छ। हालसम्म सर्वसाधारणको ४८ कित्ता जग्गा सञ्जयको नाममा देखिएको छ। यस्तै, उनकी श्रीमती ज्योति रौनियारको नाममा २३ कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ७ मंसिरमा दर्ता भएको उजुरीअनुसार २०७० सालयता रौनियारले अदालतमा सर्वसाधारण विरुद्ध ​लेनदेनसम्बन्धी ३ सयवटा मुद्दा दायर गरेको उल्लेख छ।

उनले मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ आर्जन गरेको अनुमान छ। यस्तै, उनीविरुद्ध परेको उजुरीअनुसार विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन्।

६ लाख रुपैयाँको साँवा ब्याज ६५ लाख

मोरङ धनपालथान–१ का युनुस हुसैनले छोरा मन्जरलाई विदेश पठाउन ११ कट्ठा जग्गा धितो राखेर सात वर्षअघि साहुकार मन्टुसँग ६ लाख रुपैयाँ ऋण लिएका थिए।

उनले अहिलेसम्म ११ लाख रुपैयाँ तिरिसकेका छन्। तैपनि मन्टुले जग्गा फिर्ता दिएका छैनन्। बरु, साँवा–ब्याज गरेर ६५ लाख ऋण पुर्‍याएका छन्।

हुसैन परिवारले ‘हामी गरिब त्यत्रो रकम कसरी तिर्न सक्छौँ’ भनेपछि उल्टै अदालतमा मुद्दा हालेर थप दुःख दिइरहेका छन्। ‘साहुले ऋण लिँदा ९ लाखको झुटो कपाली तमसुक बनाएको रहेछ, त्यसकै आधारमा उल्टै ऋण लिएर नतिरेको भन्दै अदालतमा लेनदेन मुद्दा हालिदिएको छ।’

मञ्जरले मोरङ धनपालथान गाउँपालिका–७ कमलपुरका भूपेन्द्र सिंह र उनकी पत्नी खगनी देवीले ०६९ सालमा नौ कट्ठा तीन धुर जग्गा राजीनामा पास गरिदिएर साहुकार रौनियारसँग ३ लाख रुपैयाँ ऋण लिए। तर, मन्टुले उनीहरूलाई झुक्याएर आठ लाख ऋण लिएको कपाली तमसुक बनाए। 

सयकडा तीन प्रतिशत ब्याजमा लिएको ऋण चुक्ता गर्न सिंह परिवारले १२ लाख रुपैयाँ तिरिसक्यो, तर धितो फुकुवा भएन। बरु, साहुकारले ऋणको साँवा–ब्याज गरेर ३५ लाख रुपैयाँ पुर्‍याएका छन्। ऋणकै तनावबीच ०७३ सालमा भूपेन्द्र र ०७६ सालमा खगनीको मृत्यु भइसक्यो।

उनीहरूका ३५ वर्षीय छोरा विनोद अहिले पनि निरन्तर मन्टुलाई ब्याज तिरिरहेका छन्। नतिरे धितो हडप्ने मात्रै होइन, मुद्दा लगाउने धम्की साहुकारले दिइरहेका छन्।

धनपालथान–१ का साजिद मियाँ, फिरोज खातुन र हरिलाल गनगाईले पनि ऋणभन्दा तेब्बर–चौब्बर रकम साहुकार मन्टुलाई बुझाइसकेका छन्। तर, साहुकारले धितो फुकुवा गरिदिनुको साटो साँवा–ब्याज झन्झन् बढाइरहेका छन्। नतिरे मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

दुई लाख ५० हजार रुपैयाँ ऋण लिएका साजिदको साँवा–ब्याज २० लाख, तीन लाख लिएका फिरोजको २१ लाख र एक लाख ५० हजार लिएका हरिलालको १० लाख रुपैयाँ पुगेको भन्दै मन्टुले तिर्न धम्क्याइरहेका छन।उनी जस्तै धेरै जना अहिले मिन्टुको मिटर ब्याजी धन्दामा परेर उनलाई मंहगो साँवा–ब्याज बुझाइरहेका छन।

तिर्न नसक्नेलाई अपहरण

विराटनगर–१५ रानीका रामकिशोर ठाकुरले एक वर्षअघि विराटनगर–९ घोघापुलचौकका एजाज अहमद समूहसँग १५ लाख रूपैयाँ ऋण लिएका थिए। ३ प्रतिशत ब्याजमा ऋण लिए। तर, एजाज समूहले २० लाख रुपैयाँको कपाली तमसुक बनायो।

ठाकुरका अनुसार आफूले विभिन्न समयमा एजाजको समूहलाई १५ लाख रूपैयाँ दिएपनि समयमा ऋण नतिरेको भन्दै साँवा कबोल गरेभन्दा बढी पैसा तिर्न दबाव दिएका थिए।

‘गत २५ मङ्सिरमा विराटनगरस्थित रोडशेषचौकमा एजाजसहित चारजनाको समूहले अपहरण शैलीमा बा. १८ च ८९९५ नम्बरको कारमा राखेर मलाई आँखामा पट्टी बाँधेर लिएर गए,’ ठाकुरले भने, ‘भएको २ लाख रूपैयाँ नगद लिए, ६० लाख र ५० लाखको चेकमा जबरजस्ती हस्ताक्षर गराए। चेकमा उल्लेख भएको मितिमा पैसा जम्मा गरिसक्नू भन्दै मानसिक यातना दिएर मलाई छोडिदिए।’

एजाजसहित चारजनाको समूहले १५ लाखको ब्याज १ करोड १० लाख रुपैयाँ भएको भन्दै कामना विकास बैङ्कमा ५० लाखको पुस ८ गते र ६० लाखको माघ १० गतेको चेक लिएर गएको ठाकुरको भनाइ छ।

१५ लाखको ब्याज भन्दै १ करोड १० लाख रुपैयाँको चेक लिएर गएका ठाकुरले एजाजको समूहले मानसिक रूपमा तनाव दिएको भन्दै पुस १ गते मोरङ प्रहरीमा उजुरी दिएका थिए।

उजुरी परेको पाँच दिनपछि एजाजलाई मोरङ प्रहरीले ६ पुसमा पक्राउ गरी अनुसन्धान शुरू गरेको छ।

एजाजले अन्य तीन जनाबाट मिटर ब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ। पीडितको उजुरी परेपछि विराटनगर–९ का ३५ वर्षीय तनवीर खान, सोही ठाउँका ३५ वर्षीय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षीय सावन दास फरार छन्।

उनीहरूले एजाजमार्फत् मिटरब्याजमा लगाएको पैसा असुली गरेको आरोप छ। प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ। 

यसरी खुल्यो पोल

एजाजको समूहबाट मिटरब्याजमा लिएको पैसाको ब्याजको स्याज बुझाउन नसक्दा पीडित भनिएका ठाकुर मानसिक रूपमा समस्यामा परेका थिए। 

उनी विराट मेडिकल कलेजमा काम पनि गर्दै आएका छन्। सम्पर्कमा आएका विद्यार्थीलाई ठाकुरले उक्त कलेजमा भर्ना गराइदिने काम गर्छन्‌।

ठाकुरले विराटनगरस्थित विकास मार्बल्सका सञ्‍चालक पवन अग्रवाललाई एजाजको समूहसँग मागेर १५ लाख रुपैयाँ रकम सापटी दिए।

अग्रवालको व्यवसाय विराटनगर धरान रोडको विराट नर्सिङतर्फ मोडिने सटरमा थियो। तर, मिटर ब्याजमा रकम लिँदा टाट पल्टिँदै गएका अग्रवालले ठाकुरको रकम बुझाउन सकेनन्।

ठाकुरले एजाजसहितको समूहलाई अग्रवालबाट रकम उठाइदिन सहयोग मागे। एजाज समूहले बारम्बार दबाब दिएपछि ३ लाख रुपैयाँ बुझाएर परिवारसहित  अग्रवाल भारत पसेको बुझिएको छ।

त्यहीबेला ठाकुरले एजाजसँग १५ लाख रुपैयाँ रकम सापटी लिएको दाबी गरेका छन्। तर, लकडाउनको समय चैत–वैशाखमा रकम फिर्ता गरिसकेको भएपनि एजाज समूहले अहिले धाक-धम्की दिँदै थप रकम असुलेको हो।

ठाकुरले फिर्ता गरिसकेको भनिएको रकमको ब्याजको स्याज जोडेर आलमले १ करोड १० लाख रुपैयाँको चेक नै लिएका छन्। एजाजको समूहले ठाकुरबाट लिएको उक्त चेक प्रहरीले फेला पारेको छैन।

मनलाग्दी रकम भरेर चेक लगेपछि पनि धम्की दिन थालेपछि ठाकुर प्रहरीको शरणमा पुगेका हुन्। त्यसपछि एजाजको समूहको मिटर ब्याजी धन्दाको पोल खुलेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.