अझै एकताको पक्षमै छु, कतै लाग्दिनँ : वामदेव

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन आग्रह गरेका छन्। खुमलटारमा भएको अध्यक्ष दाहाल र उपाध्यक्ष गौतम बीचको भेटवार्ताको क्रममा अध्यक्ष दाहालले आफ्नो पक्षमा आउन आग्रह गरेका हुन्। 

‘तपाईंले उठाएको कुराको हामी निष्कर्षमा पुग्यौँ। तपाईले अब हाम्रो पक्षबाट महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्‍यो’ अध्यक्ष दाहालको भनाइलाई उदृत गर्दै उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले थाहाखबरसँग भने। 

'प्रधानमन्त्री ओलीले विघटन गरेको संसद् पुनःस्थापना भए पनि वा चुनावमै जानुपर्ने भए पनि तपाईंले महत्वपूर्ण जिम्मेवारीसाथ भूमिका खेल्नुपर्छ' अध्यक्ष दाहालले भने। 

तर, उपाध्यक्ष गौतमले तत्काल दुवै पक्षमा लाग्ने मनस्थिति नराखेको जवाफ दिएको उनले बताए। ‘अहिले म दुवै पक्षमा तत्काल लाग्ने मनस्थितिमा छैन। एकताको पक्षमै छु’ उपाध्यक्ष गौतमले अध्यक्ष दाहाललाई भने, तपाईंहरूले अहिले जे जे काम गरिराख्नुभएको छ। भोलिका दिनमा एकता, सहमति र सहकार्य हुने ठाउँ राख्दै आफ्नो गतिविधि गर्नुहोला।’  उनले पार्टी अनौपचारिक विभाजनको अवस्थामा पुगिसक्दासमेत अझै सकेसम्म एकतालाई नै जोड दिइरहेको बताए। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले नेकपा अनौपचारिक विभाजन भइसकेको छ। यही क्रममा उपाध्यक्ष गौतम दुवै पक्षमा खुलेका छैनन्। पार्टी एकताको पक्षमा रहेको भन्दै उनले दुवै पक्षको बैठकमा नजाने घोषणा गरेका थिए। 

अध्यक्ष दाहालले गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेको भए पनि उपाध्यक्ष गौतम आफ्नो पक्षमा आउन सकारात्मक रहेको बताउँदै आइरहेका छन्। यता, प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.