|

विराटनगर : प्रदेश १ को चर्चित पर्यटन गन्तव्य हो, तिम्बुङ पोखरी। यस पोखरी पाँचथरको याङवरक गाउँपालिका, ताप्लेजुङको सिदिङवा गाउँपालिका र भारतको सिक्किम राज्यको त्रिकोणात्मक संगम स्थलमा अवस्थित छ।

तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनको पैदलयात्रा गर्नुपर्छ। पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजंघास्थित खेवाङ हुँदै यस पोखरीमा ठाउँ पुग्न सकिन्छ। तिम्बुङ पोखरी वरपर हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूधपोखरी, मयुर पोखरी, नीर पोखरीलगायत दर्जनाँै पोखरी रहेका छन्। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ। उक्त क्षेत्र चार हजार ४८१ मिटरको उचाइमा रहेको छ।

सिदिङ्वा गाउँपालिकाले अध्यक्ष नरबहादुर कडरियाका अनुसार लिम्बू भाषाको तिम्मकबाट तिम्बुङ पोखरी नाम रहन गएको हो। लिम्बू भाषामा तिम्मक भनेको बन्दुक र बुङ भनेको पड्एिको आवाज हो। यस पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने तथा पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।

अध्यक्ष कडरियाले जैविक, धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न महोत्सव समत आयोजना गर्ने गरिएको छ। जैविक, धार्मिक र सांस्कृतिक महत्त्वको बोकेको तिम्बुङ पोखरी पर्यटकीय हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण स्थल हो। तर सडक सञ्जालले जोड्न नसक्दा सोचेअनुसारको पर्यटन प्रवर्द्धन हुन सकेको छैन। यो क्षेत्रमा पुग्न जेठदेखि भदौसम्मलाई उपयुक्त मानिन्छ। असोजदेखि जाडो बढ्न थाल्छ। चौँरी गोठाला चौँरी लिएर बेसीतिर झर्छन्। हिउँदयाममा अत्याधिक चिसो हुने र बाक्लो हिउँ पर्ने हुनाले यो क्षेत्र पुग्न हिउँदयाममा निकै कठिन हुन्छ।

तिम्बुङ पोखरी क्षेत्र दृश्यावलोकन र तीर्थयात्राका लागि अब्बल मानिन्छ। चट्टाने पडाडबीचमा रहेको तिम्बुङ पोखरी मनमोहक छ। हिमालको काखमा रहेकोे सुन्दर तिम्बुङ पोखरी क्षेत्रमा विभिन्न प्रजातिका लेकाली जडीबुटी, लेकाली वन्यजन्तु, फराकिलो नागी चउर त कतै आङ नै जिरिङ्ग हुने खालका पहाडे चट्टानले यसको सौन्दर्यतालाई अझै मनमोहक बनाएको छ। पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिखुमा, कुटी, खोकिमजस्ता फूल र जडीबुटी यहाँ पाइन्छ।

तिम्बुङ पोखरी पुगेर दर्शन गरे पुन्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ। हरेक वर्ष पाँचथरसहित इलाम, ताप्लेजुङ, तेह्रथुम र तराईका जिल्ला र भारतको विभिन्न ठाउँबाट कैयौँ तीर्थयात्री तिम्बुङ पोखरी पुग्ने गर्दछन्। यस पोखरीको आसपासमा १७८ वटा कुण्ड रहेको जानकारहरु बताउँछन्।

कसरी पुग्न सकिन्छ तिम्बुङ पोखरी ?

पाँचथरको सदुरमुकाम फिदिमदेखि १८ कोस सुदूर उत्तरमा रहेको यस क्षेत्रमा पुग्न जुनसुकै रुट प्रयोग गरे पनि सवारीसाधनबाट ओर्लेपछि दुईदेखि तीन दिनसम्म पैदल हिँड्नै पर्छ।

यस क्षेत्रको नजिकै मानव बस्ती छैन। आवासका लागि चौँरी गोठ नै यहाँको होटल र लज हुन्। फिदिमबाट गणेशचोकसम्म मेची राजमार्ग र त्यहाँबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर पाँचथरको फलैँचा, ताप्लेजुङको कालीखोला हुँदै तिम्बुङ पोखरी पुग्न सकिन्छ। त्यस्तै, मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ भएर पनि यहाँ पुग्न सकिन्छ। अर्काे बाटो इलामको पशुपतिनगरबाट पर्यटककीय स्थल सन्दकपुर–फालोट रुट प्रयोग गरेर पनि तिम्बुङ पोखरीको यात्रा तय गर्न सकिन्छ।

न्यानो कपडा, हल्का खालको जुत्ता, टोपी, स्लिपिङ ब्याग र हाई अल्टिच्यूडबाट बच्न मकैको सातु, अदुवा, लसुन, केही एन्टिबायोटिक औषधि र बाटोमा भोक मेट्न प्रशस्तै ड्राइफुड बोक्न भने यस क्षेत्रमा यात्रा गर्दा बिर्सनु हुँदैन।

तस्वीर सौजन्यः मनोज उप्रेती

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.