भण्डारण तयारी तीव्र, प्राप्त भएको एक सातामै लगाइसकिने

|

काठमाडौं : विश्वका केही देशमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउन थालिएको छ। नेपालमा पनि सरकारले कोभिड विरुद्धको खोप सकेसम्म समयमै उपलब्ध गराउन तयारी तीव्र पारेको बताएको छ।

कुन देशमा बनेको खोप नेपाल आउँछ भन्ने अहिले नै यकिन नभएपनि सरकारले खोप ल्याउनुअघि खोपको भण्डार तथा अन्य प्रविधिक पक्षमा तयारी थालेको हो।

हाल विश्व बजारमा तापक्रमअनुसार कोरोनाविरुद्धका तीन किसिमका खोपहरू ल्याइएका छन्‌। सरकारले क्षमताअनुसार लागि सातै प्रदेशमा खोप भण्डारण स्थलका लागि गृहकार्य गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।

हाल विश्व बजारमा एउटा माइनस ७० डिग्री सेल्सियस, अर्को माइनस २० डिग्री सेल्सियस र अर्को २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोपहरू प्रयोगमा आएको छ।

२ देखि ८ डिग्री तापक्रममा राख्ने खोप र माइनस २० डिग्री तापक्रममा रहने खोप आएमा पनि लगभग भण्डारणको व्यवस्था मिलाइसकिएको मन्त्रालयका सचिव लक्षण अर्यालले बताएका छन्‌।

तर, माइनस ७० डिग्रीवाला खोप आएमा भने मन्त्रालयले भण्डारणका लागि शुरूदेखि नै तयारी गर्नुपर्ने हुन्छ। अहिले मन्त्रालयले माइनस ७० वाला खोप कम्तिमा ३ प्रतिशतका लागि भण्डारण गर्न सकिने गरी तयारी भएको जनाएको छ।

सचिव अर्यालले भने, ‘शुरूमै माइनस २० डिग्री तापक्रमवाला खोप आइहाल्यो भनेपनि २० प्रतिशत त सरकारी र निजी क्षेत्रका स्टोरहरू प्रयोग गरी भण्डारण गर्ने क्षमता तयार गरेका छौँ।‘

यस्तै, शुरूमै ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने खोप आएमा भने कम्तिमा ३ प्रतिशतका लागि पुग्‍ने खोप भण्डारण गर्ने र त्यो महामारी नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका योद्धाहरूलाई लगाउने गरी काम भैरहेको सचिव अर्यालले बताए।

खोप आएको एक हप्तामा लगाइसक्ने गरी तयारी

मन्त्रालयले नेपालमा खोप भित्रिएको एक हप्तासम्ममा लगाइसक्ने गरी तयारी गरेको समेत बताएको छ।

मन्त्रालयका सचिव अर्यालले भने, ‘एकैपटक २० प्रतिशतका लागि आयो भने पनि हामीले एक साताभित्रै खोप लगाउन सक्नेगरी तयारी गरेका छौं।'

हाल मन्त्रालयले सातवटै प्रदेशमा खोप भण्डारणका लागि वायरहाउसको तयारी गर्ने काम भएको बताएको छ। यता, हाल कोभ्याक्सले २० प्रतिशत खोप दिने प्रतिवद्धता गरिसकेको र सम्पुर्ण पत्रचारहरू पूरा भइसकेको अधिकारीहरू बताउँछन्‌।

कोभ्याक्सको नआए सरकारले नै किन्ने

कोभ्याक्सले २० प्रतिशत खोप दिने प्रतिवद्धता जनाइसकेको भए पनि कहिले आउँछ भन्ने निश्चित छैन।

कोभ्याक्सको खोप आउन ढिला भए सरकार आफैँले शुरूमा २० प्रतिशत खोप खरीद गरी लगाउन शुरू गर्ने भएको छ।

त्यसको लागि जी टू जी मार्फत खरीद गर्न कूटनीतिक नोट, खोप निर्माता कम्पनी र छिमेकका दुई देशसँग कुरा भइरहेको बताएको छ।

खोप ल्याउन ४८ अर्ब रुपैयाँ

हाल सरकारले कोभिड–१९ विरुद्धको खोप आयातका लागि ४८ अर्ब रुपैयाँको आर्थिक सुनिश्चितता गरेको जनाएको छ। 

नेपालको कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १६ लाख मानिसलाई खोप दिने योजनाका साथ काम भइरहेको र खोप प्राप्त गर्नेहरूको प्राथमिकीकरण निर्धारण गरिएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.