|

काठमाडौं : पशुपतिनाथ परिसरमा अव्यवस्थित तरिकाले सञ्चालित फूल, उपहार पसल हटाउन मंसिर १८ गते राष्ट्रिय दैनिक पत्रिकामा क्षेत्र विकास कोषले सूचना जारी गरेको थियो।

एक सातामा सम्पूर्ण व्यापारीहरूले त्यस्ता पसल हटाउनुपर्ने सूचना निकालिए पनि व्यापारी नहटेपछि कोषले कानुनअनुसार कारबाही गर्ने पनि चेनावनी दिएको थियो। तर, सूचना गरेको झन्डै एक महिना हुन लाग्दासम्म पसल हटेका छैनन्।

कोषले विभिन्न समयमा अव्यवस्थित पसल हटाउने प्रयास गरे पनि असफल हुँदै आएको छ। विभिन्न राजनीतिक दलको समर्थनमा व्यापारीहरूले पसल सञ्चालन गरिरहेका छन्।

त्यसैगरी, विकास कोषको जग्गामा अनधिकृत रुपमा सञ्चालित पसलले मन्दिरको सुन्दरतामा ह्राससमेत ल्याएको छ। पैदलयात्री तथा भक्तजन, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध हुने गरेको विकास कोषले जनाएको छ।

विकास कोषले यसअघि पनि पटक-पटक सूचना जारी गरे पनि पसल हटाउन सकेको छैन। यतिका धेरै अनधिकृत पसल सञ्चालन हुँदा पनि विकास कोष रमिते बनेर बसेको छ। यसरी वर्षौंदेखि सञ्चालित पसल हटाउन विकास कोषलाई फलामको च्युरा चपाएको जस्तै भएको छ। यतिका धेरै सूचना जारी गर्दा पनि किन पसल हट्न सकेका छैनन्?

'एक सातामा व्यवस्थापन गर्छौ'

व्यापारीहरुले कोषको सूचनालाई बारम्बार उल्लंघन गर्दै आएका छन्। अवैधानिक रुपले सञ्चालित पसललाई हटाउनको लागि पहल भइरहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताएका छन। थाहाखबरसँग कुरा गर्दै उनले भने, 'अहिले सञ्चालित पसलसँग सम्झौता गरिरहेका छौ। सम्झौतासहित व्यापारीले विस्तारै पसल व्यवस्थापन गर्न थालेका छन्।'

महामारीको समयमा व्यापारीमाथि बल प्रयोग गर्ने सोच नभएकोले पनि सहमति गरेर व्यापारीलाई व्यवस्थापन गर्ने तयारी गरिरहेको ढकालले बताए। अबको एक सातामा सम्पूर्ण व्यापारीलाई व्यवस्थापन गर्ने उनको दाबी छ।

पशुपति मन्दिर जाने बाटोमा अव्यवस्थित तरिकाले व्यापार गरिरहेका फूल व्यापारीलाई व्यवस्थापन गर्छ। उनका अनुसार ९० स्टल निर्माण गरिएको छ। २५ वटा स्टल वितरण गरिसकिएको छ। ६५ वितरण गर्न बाँकी रहेको छ। एक महिनाभित्र समिति निर्माण गरी चाँडै व्यापारीको व्यवस्थान गरिन्छ। 

ढकालले भने, 'मन्दिरको सुन्दरतामा यसले असर गरेको छ। बाटोमा हिँडिरहेका दर्शनार्थीलाई हातमा समातेर पसलमा तान्दा यस क्षेत्रको नराम्रो सन्देश जान्छ।' अहिले बनाएर राखेका स्टोरमा व्यापारीलाई राखेमा त्यस्तो समस्या नहुने उनको भनाइ छ।

'विकास कोषको सम्झौता मान्छौं'

एक-दुई जना व्यापारीलाई मात्र व्यवस्थापन गर्दा मात्र कोही नमान्ने तर, सबैलाई व्यवस्थापन गरेमा सहजै जान सकिने मन्दिरको दक्षिण गेट अगाडि वर्षौंदेखि फूल व्यापार गरिरहेका हरि बस्नेत बताउँछन्। सबैलाई व्यवस्थापन गर्ने भए विकास कोषले तयार गरेको सम्झौता मानेर अघि बढन पनि तयार हुने उनको भनाइ छ।

धेरै समयदेखि व्यापार गरिरहेकोले हामीलाई सहजै व्यवस्थापन गर्नुपर्ने उनको माग छ। 'कोषले प्रक्रिया पुर्‍याएर हामीलाई व्यवस्थापन गर्ने हो भने व्यवस्थापन हुन पनि हामी तयारी अवस्थामा छौ,' उनले भने, 'बलजफ्तीरुपमा व्यवस्थापन गर्ने हो भने त्यसलाई मान्दैनौं।'

केही व्यापारीलाई व्यवस्थापन गर्न नसकेकालाई छुट्टै भवन बनाएर भए पनि व्यापार गर्न ठाउँ दिनुपर्ने बस्नेतले बताए। लामो समयदेखि कोषलाई राजश्व पनि तिर्दै आएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.