यसरी बनाइन्छ यःमरी
भक्तपुर : मंसिर शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले ‘यःमरी पुन्ही’ पर्व धुमधाम मनाउँछन्। यसको धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ। यस दिन नयाँ धानको चामल, चाकु र तिलबाट बनेको अत्यन्त स्वादिलो रोटी ‘यःमरी’ खाने प्रचलन छ। यही रोटीको नामबाट नै यो पर्वको नाम यःमरी पुन्ही राखिएको संस्कृतिविज्ञहरुको भनाइ छ।
यःमरी पुन्हीको दिन नेवार समुदायले भर्खरै घरमा भित्र्याएको नयाँ धानको चामलको पिठोबाट यःमरी बनाउने र अन्नका भण्डारलगायत ढुकुटीमा पूजा गरी यःमरी चढाउने परम्परा रहेको छ। यसो गर्दा अन्नपूर्णदेवी खुसी भई घरमा अन्नले धनधान्य हुने धार्मिक विश्वास रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताउँछन्।
उनले भने, ‘यमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वती लगायतको मूर्ती बनाएर आफ्ना अन्नका भकारी र धुकु कोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न बृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रही आएको छ।’ यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यमरी पुन्ही सकिन्छ।
नेवार समुदायमा यःमरीको विशेष महत्त्व रहेको छ। विशेष गरी जन्म दिनेलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो। यःमरी मठ मन्दिर, मानिसको जोडा जन्म दिन जस्तै, दुई वर्ष, चार वर्षको जन्म दिनको अवसरमा नभई नहुने पकवान भएको धौभडेलले बताए।
उनले भने, ‘नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, ६ वर्ष र १२ वर्षको जोडा जन्म दिन मनाउँदा जोडा यःमरी चढाउने, भिमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन रहेको छ।’
यसरी बनाइन्छ यःमरी
यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पिठोलाई थोरै शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ। यःमरीका लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ। नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ। हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने र पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ।
त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नु पर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखको आकारमा परिणत हुन्छ। माथिल्लो भाग मन्दिरको गजुरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ। खोक्रो भागमा चाकु र तिलको मिश्रण राखेर बन्द गरिन्छ। र, यःमरी तयार हुन्छ। पछिल्लो समय खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँदमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। हाँसीमा यमरी राखेर वाफले यमरी पकाइन्छ। करिब पाँच मिनेट जति बफाएपछि स्वादिलो यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको पनि प्रयोग गरिन्छ।
यःमरी बनाउँदा बौद्ध धर्मावलम्बीहरुले स्तुपा वा चैत्य शैलीमा बनाउँछन्। हिन्दू धर्मावलम्बीले कलश आकारमा बनाउँछन्। यसलाई कलशकै रुपमा लिएको हुनाले धनधान्य अन्नपूर्णादेवीको प्रतिक मानेर ढुकुटी र अन्नका भकारीमा समेत चढाउने प्रचलन रहेको धौभडेल बताउँछन्।
पानीको वाफबाट पकाइने यःमुरी स्वादिलो हुन्छ। सबैलाई मनपर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको धौभडेलले बताउँछन्। यःमरी स्वादिलो मात्र नभएर पौष्टिक तत्वयुक्त पकवान समेत हो। जाडो याममा चामलको पिठोमा चाकु र तिल हालेर बनाइने पकवानले शरीरमा तागत दिने र न्यानो बनाउने गर्दछ।
यःमरी पुन्हीको अन्य पक्ष
नेवार समुदायमा यःमरी पुन्हीको साँझ यमरी सम्बन्धी लोकभाका गाउँदैं यःमरी माग्ने प्रचलन समेत रहेको छ। यो प्रचलनले नेवार समुदायमा विभिन्न खाले गीत संगीत, साहित्यिक लेखन समेत विकास भएको पाइन्छ।
यःमरी खाद्य वस्तु मात्र नभई साहित्यसँग समेत जोडिएको वस्तु भएको यःमरी माग्ने प्रचलनले पुष्टि गर्ने संस्कृतिकर्मी धौभडेलले बताए। उनले भने, ‘त्यछीं त्यः बकछीं त्यः, लातापाता कुलिचा जुछे त्यः, यमरी छगः तिय् भनी गीत गाउँदैं यःमरी माग्ने जुन नेवार समुदायमा छ, यसले नेवार समुदायको साहित्यिक धरातललाई समेत पुष्टि गर्दछ।’
संस्कृतिकर्मी धौभडेलले यःमरी खाने प्रचलनलाई अन्य समुदायमा समेत बिस्तार गर्न सके यसले धार्मिक र सांस्कृतिक पर्यटनको समेत विकासमा टेवा पुग्ने बताए। उनले भने, ‘यःमरी खाने प्रचलनलाई अरुले पनि अपनाउँदै जान सक्यो भने नेपालको धार्मिक सांस्कृतिक पर्यटनको विकासमा टेवा पुग्न सक्छ।’
यःमरी संस्कृतिको विकास र बिस्तार प्राचीन पाञ्चाल देशबाट भएको किंवदन्ती छ। लोककथनअनुसार पाञ्चाल देशका सुचन्द्र दम्पती अत्यन्त दयालु र दानी थिए। एक दिन उनीहरुको दया र दानको परीक्षा लिन धनपति कुवेर गरिवको भेष धारण गरी सुचन्द्रका घरमा पुगे। त्यहाँ गरिबरुपी कुवेरलाई सुचन्द्र दम्पतीले गरेको सत्कारले खुसी भई कुवेरले आफ्नो सक्कली रूप दर्शन दिएछन्। केही बेर ज्ञानगुणका कुरा गरी यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई कुवेर अन्तध्र्यान भएछन्। कुबेरले सिकाएबमोजिम सुचन्द्र दम्पतीले यःमरी बनाई पूजा गरेर अन्नमा चढाएर प्रसाद खाँदा अन्नले भरीपूर्ण भएको जनश्रुति पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।