|

स्याङ्जा : कालीगण्डकी-२ ,लसर्गाबेसीका विशाल राना काठमाडौंको एक सरकारी कार्यालयबाट फर्किनुपर्यो। नागरिकतामा अक्षर अस्पष्ट भएकोले उनी नागरिकताको प्रतिलिपि लिन इलाका प्रशासन कार्यालय वालिङ आए। राना जस्तै अहिले प्रतिलिपि नागरिकता लिनेको संख्या बढ्न थालेको छ।

राना भन्छन् ,‘ नागरिकतामा लेखिएको अक्षर नबुझिने र मसी लत्पतिने समस्या धेरै छ। नागरिकता पत्रको गुणस्तर र मसीको गुणस्‍तरमा राज्यले ध्यान दिए यस्तो समस्या आउने थिएन।’

नेपालीहरूको आधिकारिक परिचयपत्र नागरिकतामा लेखिएको अक्षर नबुझिने र मसी लत्पतिने समस्या आएपछि इलाका प्रशासन कार्यालय वालिङमा प्रतिलिपि नागरिकता लिनेको संख्या बढेको हो। 

नगरिकता लिएको केही दिनमा नै अक्षर नबुझिने र नगरिकतामा विवरण भर्दा प्रयोग गरिने मसी प्लास्टिकको कभरमा पुछिने समस्या आएपछि प्रतिलिपि नागरिकता लिने सेवाग्रही बढेका हुन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङले जारी गर्ने नागरिकतामा मसी लत्पतिने र  पोतिने समस्याले सेवाग्राही हैरान बनेका छन्।

नागरिकता वाहकले पनि आवश्यक परेको बेला मात्र खोज्ने अन्य बेला नागरिकताको बेवास्ता गर्ने गर्दा यस्तो समस्या आएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख क्रृषिराम सुवेदी बताउँछन्।

‘समस्या आएको थाहा पाएपछि सुधार गर्ने प्रयास गरेका छौँ।’ सुवेदी भन्छन् ,‘सेवाग्राहीले पनि नागरिकताको मसी नसुक्दै प्लास्टिक कभरमा हाल्न हतार गर्ने , आवश्यक परेको बेला मात्र नागरिकता खोज्ने अन्य बेला नागरिकताको स्याहार  नगर्ने जस्तो लापरबाही पनि गर्न भएन।’

अहिले दैनिक २ सयको हाराहारीमा सेवाग्राहीले प्रशासनबाट सेवा लिँदै आएका छन्। पछिल्लो ३ महिनामा मात्र इलाका प्रशासन कार्यालय वालिङबाट संशोधन नागरिकता र प्रतिलिपि लिनेको संख्या ५७२ पुगेको छ।

लामो समयको बन्दाबन्दीपश्चात चलायमान बनेको सरकारी कार्यालयमा एकातिर चाप पनि बढेको छ भने अर्कोतिर कर्मचारीको अभाव छ। ८ जनाको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा ६ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन्। पर्याप्त मात्रामा कर्मचारी र गुणस्तरीय स्रोतसाधन उपलब्ध हुन सके सेवाग्राहीले पनि सहजता महसुस गर्ने देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.