पहिलो चरणमा अग्रपङ्‌क्तिमा खटिएकालाई लगाइने, तर खोप आउने टुङ्‌गो छैन

|

काठमाडौं : दक्षिणी छिमेकी मुलुक भारतले आम नागरिकलाई कोरोना विरुद्धको खोप (कोभिड-१९ भ्याक्सिन) लगाउन शनिबार देशैभर 'ड्राइ रन' गर्‍यो। तर, नेपाल सरकारले भने अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य कार्यकर्तालाई खोप उपलब्ध गराउन बल्ल योजना तयार गर्दैछ। 

नेपालमा सन्‌ २०२० जनवरी १३ मा कोभिड संक्रमित पहिलो व्यक्ति भेटिएका थिए। नेपालमा संक्रमित भेटिएको १७ दिनपछि जनवरी ३० का दिन भारतको केरलामा पहिलो संक्रमित पहिचान भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका ३ प्रतिशतलाई लगाउन पुग्‍ने खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘कुन कम्पनीको खोप ल्याउने भन्ने अझै निश्चित त छैन, तर अब छिट्टै ३ प्रतिशतलाई लगाउन पुग्ने खोप आउँछ, त्यो खोप अग्रपङ्क्तिमा खटिएकाहरूलाई लगाइने छ।'

३ प्रतिशतलाई खोप लगाउन पनि नेपाल सरकारले भारततर्फ हेरेर बसिरहेको छ। भारतले जनवरीको दोस्रो सातादेखि खोप लगाउन शुरू गरे यता पनि फ्रन्टलाइन हेल्थ वर्करलाई मात्र लगाउने गरी ३ प्रतिशत खोप 'आउनसक्ने' मन्त्रालयका अधिकारीहरू बताउँछन्‌। उनीहरू भन्छन्‌ : भारतले आम नागरिकलाई खोप लगाउँदा नेपालमा अभियान मात्रै शुरू हुने सम्भावना छ।

भारतले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले तयार पारेको खोप लगाउने निर्णय गरिसकेको छ। त्यहाँको सरकारले अक्सफोर्ड कोभिड–१९ भ्याक्सिन लगाउन स्वीकृति दिएको हो। यो भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको समन्वयमा पुणेस्थित सीरम इन्स्टिच्युट अफ इन्डियामा तयार गरिएको हो।


नेपाल सरकारले खोप पाएपछि पहिलो चरणमा कूल जनसंख्याको ३ प्रतिशत अर्थात स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनर वर्कर गरी ९ लाख ११ हजार ३४२ जनसंख्यालाई खोप दिने बताउने गरेको छ। बाँकी ७२ प्रतिशत नागरिकलाई खोप भ्याक्सिन उपलब्ध गराउन ४८ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको दावी पनि सरकारी अधिकारीहरूले गरेका छन्‌। सरकारले दुई डोजका दरले ४८ लाख ३० हजार १४ गोटा भ्याक्सिन ल्याउने योजना बनाएको छ। जसमा १० प्रतिशत वेस्टेज भ्याक्सिन पनि जोडिएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले ९६ हजार स्वास्थ्यकर्मीलाई भ्याक्सिन लगाउने तालिम दिइसकिएको जनाएको छ। यी मध्ये २ हजार ३ सय ६० जनालाई नेशनल ट्रेनिङ अफ ट्रेनर्समा खोप लगाउने तालिम दिएको थियो। ५७ हजारभन्दा धेरै मानिसले जिल्ला तहमै खोप लगाउने प्रशिक्षण पाइसकेका छन्‌। तर, भारतमा भन्दा अघि संक्रमित भेटिएको नेपालमा यी कामहरू देखिनेगरी शुरू नै भएका छैनन्‌।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार 'बालबालिकासँग प्रधानमन्त्री' कार्यक्रममा कोभिड विरुद्धको खोप छिटो भन्दा छिटो ल्याउने तयारी गरेको बताएका त छन्‌, तर दक्षिणी छिमेकी खोप लगाउन तम्तयार भएर बस्दा नेपालमा कहिलेसम्म खोप आइपुग्छ भन्नेबारे सरकारले एकीन गर्न सकेको छैन। प्रधानमन्त्री ओलीले छिमेकी देशमा उत्पादित खोप नै आफूहरूको प्राथमिकता रहेको बताएका छन्‌।

​भारतको पूणेमा रहेको सिरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप उत्पादन गरिरहेको छ। सो खोपलाई बेलायत लगायत विभिन्‍न मुलुकहरूले मान्यता दिइसकेका छन्‌।

​यता, गत विहीबार नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भेटवार्ता गरेका थिए। सो भेटमा कोरोनाविरुद्धको खोप ल्याउने विषयमा छलफल भएको बुझिएको छ।

नेपालमा शुरूमा विश्व स्वास्थ्य संगठनको समन्वयमा तयार भएको कोभ्याक्स फेसिलिटीले दिने भनेको २० प्रतिशत खोपबारे चर्चा भएको थियो। तर, त्यो खोप आउन ढिलाई हुने देखिएको छ। त्यसैले, सरकार अब आफैँले खोप खरीद गर्ने र लगाउने योजना अघि सारेको छ।

शुरूमा कम्तीमा २० प्रतिशतका लागि खोप खरीद गर्ने योजना भएको, भारतले नेपाललाई समेत २० प्रतिशत हुने गरी खरीद गर्ने र सोको भुक्तानी नेपाल सरकारले गर्ने भन्नेबारे पनि छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

भारतीय अधिकारीहरूले भारतमा खोप लगाउन शुरू हुँदा नेपाललाई पनि २० प्रतिशत, यति उपलब्ध गराउन सम्भव नभए कम्तीमा ३ प्रतिशत भएपनि व्यवस्था गरिदिने आश्वासन दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्‌। उनीहरूका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा र औषधि व्यवस्था विभागका अधिकारीहरूलाई काममा खोपको लागि बाँकी कामहरूमा तीव्रता दिन निर्देश गरेको छ।

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको खोप ७० देखि ९० प्रतिशत प्रभावकारी रहेको बताइएको छ। यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ। सो खोप आएमा नेपालमा अहिले उपलब्ध भण्डार व्यवस्था नै पर्याप्त हुने सरकारको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.