|

सिमरा : हेटौँडाबाट सर्लाहीतर्फ जाँदै गरेको कारले बाराको पथलैयामा एक बयस्क पाटे बाघलाई ठक्कर दिँदा बाघको घटनास्थलमै ज्यान गएको छ।

आज (शनिवार) बिहान साढे ७ बजे बा १६ च ८११ नं को  ३ जना सवार कारले पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको पथलैया सडक खण्डमा ८ वर्षिय वयस्क पोथी बाघलाई ठक्कर दिएको हो। हाल सवारी चालकसहित कार पर्सा राष्ट्रिय निकुञ्जको नियन्त्रणमा छ।

अत्यन्त स्वस्थ्य र वयस्क बाघलाई  दुर्घटनामा गुमाउँदा ठूलो क्षति भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जनाएका छन्। ‘बाघको टाउकोमा गम्भीर चोट लागेको छ, अब पोष्टमार्टमपछि अगाडिको कारबाही शुरु हुन्छ’ निकुञ्जका प्रमुख साहले भने, ‘एउटा बाघलाई यो अवस्थामा पुर्‍याउन हाम्रो ठूलो मिहिनेत हुन्छ, तर अब एक सेकेन्डमा बाघलाई गुमाउन हामी बाध्य भयौँ।’

हाल पर्सा राष्ट्रिय निकुञ्जमा मात्रै झण्डै १९ वडा पाटे बाघ रहेका छन्। पथलैया–हेटौडा २ लेनको सडक खण्डका सवारी साधनको अत्यधिक चाप  र तोकिएको मापदण्डभन्दा अत्याधिक सामान बोकेका मालवाहक गाडीका कारण सो क्षेत्रको सडक खण्ड अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ। सो सडक खण्डमा मात्रै वर्षेनी दर्जनौँ दुर्लभ वन्यजन्तुले अकालमा ज्यान गुमाउने गर्दछन् भने मानविय क्षति पनि ठूलो संख्यामा हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.