आर नम्बर ३ सम्म, हाल बनेका खोपले काम गर्ने टुंगो छैन

|

अहिले विश्वलाई कोरोना भाइरस (कोभिड–१९) महामारीले गाँजेको छ। ८ करोड ४५ लाखभन्दा धेरै मानिसलाई यो भाइरसले आक्रमण गरिसकेको छ। भाइरस संक्रमित १८ लाख २५ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ। 

कतिपय देशमा महामारीको दोस्रो र तेस्रो लहर समेत देखिएको छ। एक चरणमा धेरै मानिसहरू संक्रमित हुने, केही समय सुस्ताउने र फेरि संक्रमण फैलने गरेको छ।

पछिल्लो पटक यो भाइरस नै उत्परिवर्तन (म्युटेसन) भएको छ। सबैभन्दा पहिले बेलायतमा उत्परिवर्तित कोरोनाबाट संक्रमण भएका मानिस भेटिएको थियो। 

उत्परिवर्तित कोरोनाको नयाँ स्ट्रेन अर्थात भेरियन्ट पहिलेभन्दा निकै संक्रामक रहेको पाइएको छ। अनुसन्धानअनुसार नव प्रजनन भएको भाइरसको 'आर नम्बर' (रिप्रोडक्सन नम्बर) ०.४ देखि ०.७ सम्मले बढेको छ।

बेलायतमा भेटिएको भाइरसको आर नम्ब १.१ देखि १.३ सम्म रहेको महामारी विज्ञहरूले बताएका छन्। संक्रमणको मामिला घट्न यो भाइरसको 'आर नम्बर' पनि १ भन्दा तल झर्नुपर्छ।

एकजना संक्रमित औषतमा अरू कति जनालाई संक्रमित तुल्याउन सक्छ भनी गरिने तथ्यांक आंकलन नै 'आर नम्बर' हो। यसको अर्थ : भाइरस फैलने क्षमता कति छ भन्ने हो। यदी यो नम्बर १ भन्दा माथि रह्यो भने महामारी बढ्छ।

रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) कमजोर रहेको समूहको 'आर नम्बर' १५ सम्म हुनसक्छ। यसको अर्थ एक संक्रमित व्यक्तिले १५ जनासम्मलाई संक्रमित तुल्याउन सक्छ। 

उत्परिवर्तित कोरोनालाई सार्स कोभिड–२ नामाकरण गरिएको छ। यो भाइरसको 'आर नम्बर' झण्डै ३ छ। यसको अर्थ हो : एक संक्रमितले अरू थप ३ जनासम्मलाई संक्रमित तुल्याउन सक्छ। 

कुनै भाइरस लागेर ज्यान गुमाएका मानिसहरू, अस्पतालमा भर्ना भएका र संक्रमित हुनसक्ने मानिसहरूको संख्याका आधारमा 'आर नम्बर' निकालिन्छ। यसै आधारमा भाइरस कुन हलसम्म फैलन सक्छ भनी अनुमान लगाइन्छ। 

'आर नम्बर' १ भन्दा धेरै हुनुको अर्थ संक्रमणको मामिला पनि बढ्नु हो। अर्थात, कुनै एक संक्रमित व्यक्तिले कम्तिमा अर्को एक जनामा संक्रमण फैलाउन सक्छ। 

भाइरसको 'आर नम्बर' १ भन्दा तल रह्यो भने यसको फैलावट रोक्न सकिन्छ। किनकी 'आर नम्बर' १ भन्दा तल रहेको भाइरसबाट संक्रमित बाहेक अरू व्यक्तिलाई असर नगर्न सक्ने सम्भावना धेरै हुन्छ।

बेलायतस्थित लन्डनको इम्पेरियल कलेजका प्राध्यापक एक्सल ग्यान्डीका अनुसार भाइरसका भेरियन्टहरूबीच निकै अन्तर हुन्छ। उनी भन्छन्, 'भाइरसको नयाँ प्रजाति कति सजिलो र छिटोगरी फैलन सक्छ, यसैलाई आधार मानी दुई भाइरसबीच अन्तर निकालिन्छ। जब कोरोना महामारी शुरु भयो, तब अहिले फेला परेको नयाँ भेरियन्टमा गम्भीरता निम्त्याउने परिवर्तन देखिएको छ।' 

इम्पेरियल कलेजले गरेको अध्ययनअनुसार इङ्ल्याण्डमा नोभेम्बरमा लकडाउन गर्दा पनि नयाँ प्रकृतिको संक्रमण तीन गुणासम्म विस्तार भएको थियो। त्यसपछि भेटिएको कोरोनाको नयाँ प्रजाति भेटिएको थियो र संक्रमण एक तिहाइले घटेको थियो। 

कोरोनाको दोस्रो लहर चल्दै गर्दा संक्रमणको मामिला तीव्र गतिमा बढेको थियो। गत विहीबार कोरोना भाइरसबाट भएको संक्रमणको मामिलाले यसअघिको रेकर्ड तोडेको छ। 

प्रारम्भमा यो भाइरस २० वर्षभन्दा मुनिका मानिसहरूबाट तीव्र गतिमा फैलिएको पाइएको छ। खासगरी माध्यमिक तहमा पढ्ने विद्यार्थीहरू यो भाइरसबाट बढी प्रताडित देखिएका छन्। 

तर, प्राध्यापक ग्यान्डी यो उत्परिवर्तित भाइरस सबै उमेर समूहका मानिसमा तीव्र गतिमा फैलने बताउँछन्। ग्यान्डी सदस्य रहेको टीमले कोरोनाको नयाँ भेरियन्टबारे अनुसन्धान गरेको थियो। 

वयस्क मानिसको कामकाजमा प्रतिबन्ध लागेको र स्कुल चाहिँ खुलेका बेलामा संक्रमितको तथ्यांक लिइएकाले विद्यार्थीहरू बढी संक्रमित रहेको पाइएको हुनसक्ने ग्यान्डीले बताएका छन्। यतिखेर भने नयाँ भाइरस सबै उमेर समूहका मानिसमा फैलिइरहेको उनको भनाई छ। 

कोरोना विरुद्धको खोप समेत बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक जिम नायस्मिथले नयाँ भेरियन्टको भाइरस फैलन नदिन तत्काल कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्। उनी भन्छन्, 'इम्पेरियल कलेजले तयार गरेको तथ्यांक अहिलेसम्मकै विश्वसनीय हो, अहिलेकै तयारीले हामीले कोरोनाको नयाँ भेरियन्टको 'आर नम्बर' १ भन्दा तल ल्याउन सक्दैनौं।' 

बुझिनेगरी भन्दा महामारी नियन्त्रणमा थप कडा नयाँ कदम नचाल्दासम्म यो खतरनाक भाइरस फैलिइरहेको हुनेछ। यो निकै संक्रामक छ। अब अस्पतालहरू फेरि खतरनाक कोरोना संक्रमण भएका बिरामीहरूले भरिनेछन्। मानवीय हताहति अत्यासलाग्दो ढंगले बढ्नेछ। 

इम्पेरियल कलेजले गरेको शोधले उजागर गरेको सबैभन्दा डरलाग्दो तथ्य के हो भने सामान्य लकडाउनले अब यो भाइरसलाई कुनै हालतमा रोक्न सक्दैन। 

इङ्ल्याण्डमा नोभेम्बरमा लकडाउन लगाउँदा पुरानो भाइरसबाट संक्रमित हुने दर एक तिहाइले घटेको थियो। तर नयाँ भेरियन्टको कोरोना फैलावट थप ३ गुणा बढेको थियो। त्यसैकारण बेलायतभर अहिले नयाँ प्रतिबन्ध लगाइएको छ। 

चलनचल्तीको प्रतिबन्धले कोरोनाको नयाँ भेरियन्टलाई नियन्त्रण गर्नसक्छ भन्ने निश्चित छैन। हाल लगाउने गरिएको लकडाउनले पुरानो भाइरसलाई मात्र नियन्त्रण गर्न सक्छ। धेरै वैज्ञानिकहरूले नयाँ प्रकारको कोरोना भाइरस फैलन नदिन राज्य र नागरिकले थप कडा रवैया अपनाउन आवश्यक रहेको बताइरहेका छन्।

कोरोना विरुद्धको खोप लगाउन थालेपछि संक्रमणदर कम हुने अपेक्षा गरिएको छ। तर, अब पहिलेभन्दा पनि बढी भौतिक दूरी र नयाँ दिशा निर्देश पालना गर्न अतिआवश्यक भएको छ। मास्क लगाउन र हात धुन छाडे कोरोनाको नयाँ भेरियन्टले हामीलाई कहाँ पुर्‍यानेछ : त्यो पछि नै थाहा लाग्नेछ। 

केही महिनाभित्रै जनजीवन सामान्य हुने अपेक्षासहित संसारले अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत त गर्‍यो, तर कोरोना भाइरसको नयाँ प्रजातिले हामीलाई आगामी धेरै समयसम्म लडाउने निश्चितजस्तै छ। 

ब्रिकबेक विश्वविद्यालयका प्रोफेसर लरेन्स योग भन्छन् कि अहिलेका ल्याइएका भ्याक्सिनले नयाँ भाइरसलाई परास्त गर्ने अपेक्षा मात्रै गर्न सकिन्छ। उनी थप्छन्, 'महामारी जसरी फैलिइरहेको छ : यो प्राकृतिक प्रकृयाकै हिस्सा हो। भाइरस पनि समय र मौसमअनुसार विकसित हुन्छ। मानिसको शरीरमा आफ्नो अवस्था पनि अनुकूल बनाउँछ, अनि हामीलाई अप्ठ्यारो बनाउँछ।' 

उनका अनुसार यसरी मानिसको शरीरमा अनुकूल भएको भाइरसले संक्रमणदर बढाउँछ र रोग प्रतिरोधात्मक क्षमता पनि निकै कमजोर तुल्याउँछ।

बदलिएको कोरोना भाइरसबारे बुझ्न र यसलाई नियन्त्रण गर्न अझै धेरै शोध तथा अनुसन्धान हुनु आवश्यक छ। यो भाइरस निकै तीव्र गतिमा फैलनुको कारण बुझ्नुपर्छ। अहिले बनाइएका भ्याक्सिन पनि नयाँ भेरियन्ट रोक्न प्रभावकारी हुनुपर्छ। 

नयाँ प्रकारको यो कोरोना नोभेम्बर महिनामा फेला परेको थियो। यो सबैभन्दा पहिले दक्षिण पूर्वी इङ्ल्याण्डमा गत सेप्टेम्बर महिनामै फैलिएको अनुमान गरिएको छ।

यो असाध्यै घातक छ भन्ने पर्याप्त प्रमाण त प्राप्त भएको छैन। तर आर भ्याल्यू र तीव्र गतिको फैलावटले यसबाट हुने जोखिम हाम्रा अघि मडारिइरहेको छ। यसले मानिसको मात्र नभई देशकै स्वास्थ्य प्रणालीमा दबाब बढाउने निश्चित नै छ। 

भाइरसको यो नयाँ प्रजाति अहिले उत्तरी आयरल्याण्डका साथै पूरै ब्रिटेनभर पाइएको छ। लण्डन, दक्षिण पूर्वी र पूर्वी इङ्ल्याण्डमा यसको प्रभाव निकै देखिएको छ। 

यो भाइरस दक्षिण अफ्रिका र भारत पनि फैलिइसकेको छ। धेरै देशहरूले नयाँ भेरियन्टको कोरोनाबाट संक्रमित नागरिक पहिचान गरिएको जानकारी दिइरहेका छन्। 

सार्वजनिक स्वास्थ्य सेवाको अवस्था कमजोर रहेका र परीक्षण दर घटाएका देशहरूले तत्काल नियन्त्रणका कदम नचाले धेरै नागरिकले ज्यान गुमाउने अवस्था आउनसक्छ। 

(बीबीसी हिन्दीमा प्रविष्ट सामग्री अनुवाद र सम्पादन गरिएको।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.