|

दोलखा : कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन्। बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ। 

वार्षिक लाखौँ पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीहरुमा उत्साह थपिएको हो। अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा हजारौँको सङ्ख्यामा पर्यटकको आगमन भएको छ। दश महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अंग्रेजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए। 

दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करिब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बताए।  दुई दिनमा करिब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ। चरिकोटदेखि १७ किलोमिटरको दूरीमा यातायातमार्फत सहज तरिकाले कुरी बजारसम्म पुग्न सकिने र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ। 

हिमाली जिल्ला दोलखा तराईका जिल्लासँग छोटो दूरीको सडक सञ्जालमार्फत सहज तरिकाले जोडिएसँगै कालिञ्चोक क्षेत्रमा तराई मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ। राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएका कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको चरिकोटका पर्यटन व्यवसायी दावा लामाले बताए।  

पर्यटनलाई लक्षित गरी करौँडौको लगानीमा कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालनमा आएका सयौँ होटल लामो समयदेखि बन्द हुुुुँदा व्यवसायी चिन्तित बनेका थिए। पर्यटकको चहलपहल शुरु भएसँगै व्यापार व्यवसायसमेत सञ्चालन हुने भएको हुँदा आफूहरु उत्साहित भएको त्रिपुरा रिसोर्टका सञ्चालक चन्द्र लामाले बताए।  

कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिबब १०० होटल सञ्चालनमा रहेका छन्। पर्यटकको माग सम्बोधन गर्ने गरी कालिञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको होटल सुनपातीका सञ्चालक व्यवसायी हरि ओलीले बताए। 

समुन्द्र सतहबाट तीन हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न तथा हिउँमा रमाउनका लागि पर्यटक कालिञ्चोक पुग्ने गर्दछन्। हिउँदका समयमा अधिकांश समय हिउँपर्ने भए पनि यस वर्ष जिल्लको अधिकांश क्षेत्रमा हिमपात भएको छैन।

हिउँदका समयमा प्राय हिँउ पर्ने हुँदा हिउँमा खेलिने साहसिक खेल स्की खेलनका लागिसमेत पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन्। यस क्षेत्रबाट हिउँको रमाइलोसँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमश्रृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन पनि गर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.