|

दैलेख : डुंगेश्वर गाउँपालिका–२ उमकी उमा गरुङलाई सहरमा झिलिमिली बिजुली बलेको देख्दा आफ्नो गाउँमा पनि यस्तै कहिले होला भन्ने लाग्थ्यो। सहरका मानिसजस्तै अँध्यारोबाट मुक्त हुने दिन कहिले आउँला भनी उनी सोच्थिन्। 

उमाले बाल्यकालदेखि देख्दै आएको सपना पूरा भएको छ। पारि रहेको दैलेख, दुल्लु बजारमा जस्तै उनको गाउँमा पनि बिजुली झिलिमिली भएको छ। बिजुलीको उज्यालोमा बस्ने इच्छा पूरा भएकामा उनको खुसीको सीमा नै छैन। यस गाउँका उमा मात्र होइन, अन्य गाउँलेमा पनि खुसीले सीमा नाघेको छ।

दियालोको भरमा घरायसी कामहरु गर्दै आएका यहाँका महिलाहरु लाई बिजुली बत्ती आएपछि सहज भएको छ। उमेरले ५० वर्ष लागेका स्थानीय महेन्द्र बुढाले दियालो बल्ने गाउँमा बिजुली आउँदा खुसीयाली छाएको बताए। 

पूरा भयो बिजुली बत्तीमुनि पढ्ने रहर

कक्षा ११ मा पढ्दै गरेकी डुंगेश्वर–२ उमकी वन्दना थापाको बिजुली बत्तीमुनि उज्यालोमा बसेर पढ्ने रहर पूरा भएको छ। ‘पहिले सोलारको उज्यालोबाट पढ्ने गरेका थियौँ। बर्खामा घाम नलागेर बत्ती जाने गरेकाले पढाइमा बाधा हुने गरेको थियो,’ उनले सुनाइन्, ‘अब जति बेला पनि पढ्न पाइने भयो।’

सोही ठाउँकी संगीता वलीको उज्यालामा बस्ने रहर पूरा भएको छ। स्थानीय सरकार आएपछि गाउँमा विकासले फड्को मार्दै गएकोे उनले देखेकी छन्। गाउँमा बिजुली आएसँगै कामको खोजीमा बाहिरी मुलुक जाने युवायुवतीले आफ्नै ठाउँमा उद्योग सञ्चालन गरी बस्ने बाटाहरू खुलेको उनले बताइन्। 

गाउँ झिलिमिली भएको देखेर खुसी भएका यहाँका बासिन्दा संघीयतापछि गाउँमा आएका सरकारले जनताको अपेक्षाअनुसार काम गरेको खण्डमा गाउँमा पनि विकासले फड्को मार्ने बताउँछन्। स्थानीय सरकारले  पनि जनअपेक्षाअनुरूप काम गरे समृद्धि खोज्न टाढा जानु नपर्ने उनीहरुको बुझाइ छ।

७० प्रतिशत घरधुरीमा बल्योे बत्ती 

डुंगेश्वर गाउँपालिकामा रहेका तीन हजार घरधुरीमध्ये ७० प्रतिशत घरधुरीमा बिजुली बत्ती बलेको छ। संघीय सरकारअन्तर्गतको ग्रामीण सामुदायिक विद्युतीकरण परियोजनाको ९० प्रतिशत र डुंगेश्वर गाउँपालिकाको १० प्रतिशत साझेदारीमा विद्युतीकरणको काम भई ७० प्रतिशत ठाउँमा बत्ती बलेको गाउँपालिकाले जनाएको छ।
 
गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लका अनुसार निर्वाचित जनप्रतिनिधि आउनु पहिले डुंगेश्वरमा २५ प्रतिशत घरधुरीमा बिजुली बत्ती बलेको र स्थानीय सरकार सञ्चालनपछि ७० प्रतिशतमा बत्ती बिस्तार गरिएको छ।

तीन हजार घरधुरी संख्या रहेको डुंगेश्वर गाउँपालिका २३ सय घरधुरीमा बिजुली बत्ती जडान भएको छ। बाँकी घरधुरीमा कोरोनाका कारण काम रोकिएको अध्यक्ष मल्ल बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.