प्रतिशोधको राजनीति, वडावडामा अलग कार्यक्रम

|

पर्सा : दुई पार्टीका टाउकोबाट एकीकरण सुरु भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोटो समयमा नै अनौपचारिक रुपमा फुटिसकेको छ। फुटको जस भने दुवै पक्षले औपचारिक रुपमा लिन आनाकानी गरिरहेका छन्। यद्यपि पार्टी सग्लो नभएको नेताहरूले नै स्वीकार गरिरहेका छन्।

पार्टी एकीकरणका लागि नेतृत्व गर्ने दुवै अध्यक्ष यतिबेला आ–आफ्नै गुटको पनि नेतृत्व गरिरहेका छन्। यति मात्र नभई उनीहरू एकले अर्कालाई आरोप–प्रत्यारोप र वक्तव्यबाजी गर्न चुकेका छैनन्। अनि पार्टीको संगठन विस्तार गर्ने बहानामा तल्लो तहसम्म कार्यकर्ता आआफ्ना गुटमा तान्न मरिहत्ते गर्न थालिसकेका छन्। लाग्छ, कि पार्टी एक हुँदा कसैको अपहरण परी बल्ल मुक्त भएर कार्यकर्तासम्म उतारिएर पुगेझैं जस्तो। 

पार्टी फुटको दलदल तल्लो तहसम्म 

दुई वर्ष ७ महिना पनि मिलेर काम नगरी आम जनता र कार्यकर्तालाई निराश तुल्याउँदै गुटगत संगठन विस्तारमा जुटेका नेतृत्व तहका नेताहरूको कारण जिल्ला–जिल्लामा पनि नेता कार्यकर्ता दुई फ्याकमा बाँडिन थालेका छन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी पार्टी २०७५ जेठ ३ गते एकिकरण भई बनेको नेकपाका वडा र गाउँसम्म नेता कार्यकर्तालाई विभाजन गराउन दुवै पक्ष लागिपरेका छन्। यसले पनि जिल्ला र पालिकास्तरका तल्लो तहमा हरेक दिनजसो नेकपाकै नाम रहेका ओली र प्रचण्ड–माधव गुटका अलग कार्यक्रम भइरहेका छन्। यो अर्थमा प्रदेश २ का पनि ८ वटै जिल्लामा नेकपा पार्टी फुटको दलदलमा फसिसकेको प्रस्टिन्छ। 

पुराना नेता सबै प्रचण्ड–माधव गुटमा  

पर्साको सन्दर्भलाई हेर्ने हो भने जिल्लामा कम्युनिष्ट पार्टीलाई स्थापित गराउने पुराना नेताहरू, चिरन्जीवी आचार्य, रामाश्रय राम, बालगोपाल थापा, नागेन्द्र चौधरी, रामचन्द्र साह, उर्मिला अर्याल, पिएल श्रेष्ठ, विजय महतो, छोटेलाल यादव र रहबर अन्सासीजस्ता नेता प्रचण्ड–माधव गुटमा नै छन्।

यो सिनारियो हेर्ने हो भने ओली गुट पर्सामा फिक्का हुनुपर्ने देखिन्छ। तर सेनाबिनाका सेनापति भनेजस्ता पनि केही नेताका कारण समयसापेक्ष तल्लो तहका नेता कार्यकर्ता समेट्न उनीहरूलाई हम्मेहम्मे पर्ने अड्कलबाजी जिल्लाका बुद्धिजीवीहरूले गरिरहेका छन्। 

खर्चिला कार्यकर्ता धान्ने नेता ओली गुटमा

जिल्लाका स्थापित ठूला नेताको मुख हेरेर मात्र समीक्षा गर्ने हो भने ओली गुट पर्सामा 'चट्' भन्ने खालको अवस्था भए पनि समयअनुकूल स्थानीय नेता कार्यकर्तालाई हाट्टहुट्ट पार्न र खर्चिला कार्यकर्तालाई समेत समेट्न सक्ने राजकुमार गुप्ता, बसुरुद्दिन अन्सारी, विचारले समेट्न सक्ने डा.विश्वम्भर शर्मा, संविधान सभाका सदस्य जयप्रकाश थारू, प्रद्युम्‍न चौहान, महिला नेतृ निर्मला देवकोटा र सँगोलका पार्टी जिल्ला अध्यक्षसमेत रहेका प्रभु हजारा पनि ओली गुटमा सक्रिय हुँदा पर्सामा नेकपाको अवस्था दुई फ्याकजस्तो देखिएको छ। 

माधव नेपालसँग रौतहटमा विपरीत आँकडामा हुने नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह ओली गुटमा आएपछि उनीसँगै भूमिगत जीवन बिताउने पर्साका थप तल्लो तहका नेता कार्यकर्ता पनि ओली गुटमा नै सामेल हुँदा अहिले नै पर्सामा कुन गुट बलियो भनिहाल्न सक्ने अवस्था छैन। यो भनेको झण्डै ५०⁄५० को अवस्था जस्तो स्थानीय समीक्षकहरूको भनाइ छ।   

दुवै गुटका समान उपस्थिति 

गएको पुस १४ गते नेकपा प्रचण्ड–नेपाल समूहले वीरगन्जमा शक्ति प्रदर्शन गर्दा पर्सामा कम्युनिष्ट कार्यकर्ता यो गुटमा नै बढि छन् कि भन्ने झल्को दिएको थियो। तर २४ घण्टा बित्न नपाउँदै ओली समूहको अर्को कार्यक्रममा उत्तिकै नेता कार्यकर्ता देखिनुले समीक्षा गर्नेलाई यसै भन्न सकस भएको छ।

अब आगामी २५ गते प्रचण्ड माधव गुटको पनि वीरगन्जको टाउन हलमा नै हुने कार्यक्रमले थोरै संकेत गर्ने अड्कलबाजी गरिँदै छ। त्यही ठाउँमा अस्ति पुस १५ गते ओली गुटले पनि कार्यक्रम गरेको थियो। 

बहुमतको दाबी 

१६५ जना जिल्ला सदस्य रहेको पर्सामा सोमबार बसेको ओली समूहको जिल्ला कमिटी बैठकमा १ सय २ जना सहभागी भई हस्ताक्षर गरेको सो समूहको दाबी छ। साविकको नेकपाको पर्सा अध्यक्ष तथा ओली समूहका पनि हालका पर्सा अध्यक्ष तथा केन्द्रीय सदस्य प्रभु हजाराले बहुमत सदस्य अर्थात १ सय २ जना जिल्ला सदस्य आफूहरूसँगै रहेका दाबी गरे। यति मात्र नभई जिल्लाका १४ पालिकाका अध्यक्ष तथा सचिवमध्ये अधिकांश मुलधारको नेकपा ओली समूहमा नै रहेको अध्यक्ष हजाराको दाबी छ। 

उनले जिल्लाको छिपहरमाई, धोबिनी, जगरनाथपुर, ठोरी, कालिकामाई, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, गाउँपालिकाका र पर्सागढी तथा पोखरिया नगरपालिकाका अध्यक्ष र सचिव पनि आफूहरूसँगै रहेको जिकिर गरे। वीरगन्ज महानगरका अध्यक्ष सहित बहुदरमाई नगरपालिका, विन्दवासीनी र पकाहामैनपुर गरी चारवटा पालिकाका अध्यक्ष र महानगर वाहेकका सचिव मात्र उता भएका अध्यक्ष हजाराले बताए।  

७०/३० को आँकडा!    

यता प्रचण्ड–माधव समूहका बालगोपाल थापा भने अध्यक्ष हजाराको दाबी सत्य नभएको जिकिर गर्छन्। १ सय ६५ जना जिल्ला सदस्यमध्ये ९७ जना त अहिले पनि आफूहरूसँगै रहेको उनले बताए। 'सबै कुरा अहिले नै नखोलौं। तर पार्टीको मुलधार ढुक्क हुनुस् हामीसँगै छ,' उनले भने। यता साविकदेखि हालसम्म वीरगन्ज महानगरपालिकाका नेकपाका अध्यक्ष रहवर अन्सारीले ओली गुट पर्सामा निकै कमजोर रहेको दाबी गरे। 

'पर्साको सन्दर्भमा ७०⁄३० को अवस्था हो,' उनले भने, 'हाम्रो दैनिक कार्यक्रम हुँदा अधिकांश नेता कार्यकर्ता हामीसँगै हुनुहुन्छ,' उनले थपे, 'हिजोसम्म वीरगन्ज महानगरकै १२ वटा वडाको भेला भइसकेको छ। आज ६ वटा वडाका अगुवा नेता कार्यकर्ताको भेला हुँदैछ। २५ गते पुस भित्र जिल्लाका सबै वडाको भेला सकेर २५ गते ठूलो आमसभा गर्ने तयारी गरिरहेका छौं,' नेकपा वीरगन्ज महानगर अध्यक्ष अन्सारीले बताए।

ओली सरकारले गरेको असंवैधानिक कदमविरुद्ध आन्दोलनका लागि आफ्नै संयोजकत्वमा ३५२ सदस्य आन्दोलन संघर्ष समिति बनिसकेको छ। र थप आन्दोलन सशक्त पार्ने तयारी भइरहेको छ।

'मंगलबार पनि जिल्लाका अन्तरपार्टीका नेता कार्यकर्तासँग छलफल गरी ओली सरकारले गरेको गलत कदमविरुद्ध मोर्चाबन्दी गरी आन्दोलनमा जाने निष्कर्षतर्फ केन्द्रित हुँदैछौं,' अध्यक्ष अन्सारीले भने। 

सञ्चारकर्मीको समेत कित्ताकाट! 

नेकपाका पर्साका सञ्चारकर्मीहरू पनि अहिलेसम्म खुलेर आइसकेका छैनन्। त्यसले पनि कुन समूहमा सञ्चारकर्मीको पल्ला भारी पर्छ भन्ने यकिन भइसकेको छैन। नाम चलेका पत्रकारहरू महेश दास, गोविन्द देवकोटा प्रचण्ड माधव समूहतर्फ जाने सम्भावना बढी देखिएको छ भने महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्सा अध्यक्ष, श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारीजस्ता अन्य केही पत्रकार ओली गुटतर्फ लहसिएका कारण  पनि यकिन भइनसकेको हो। 

इन्चार्ज, अध्यक्ष सचिव ओली गुटमा 

नेकपा प्रदेश २ कै सन्दर्भमा सम‍ीक्षा गर्ने हो भने प्रदेश २ का सँगोलका इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल नै ओली समूहमा रहेकाले प्रदेशको अवस्थामा भने ओली गुट बलियो हुन सक्ने अड्कलबाजी गरिँदै आएको छ। तथापि पछिल्लो समयमा कार्यकर्ता आफैं सचेत भइसकेकाले अहिले नै यसै भन्न हतारो हुने राजनीतिक विश्लेषकहरूको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.