सूचना पाए पनि समाउन सक्दैन प्रहरी

|

कपिलवस्तु : कपिलवस्तुकामा नदीजन्य पदार्थ संकलन गरी राखिएका स्थलहरू चोरी गरेका सामग्रीले भरिने गरेको स्थानीयले दाबी गरेका छन्।

स्थानीय सरकारले चासो नदेखाउँदा नदी छेउछाउमा चोरी निकासी बढेको छ। बुद्धभूमी, बाणगंगा, कपिलवस्तु  नगरपालिका आसपासका क्षेत्रमा दिनहुँ नदीजन्य पदार्थ चोरी हुने गरेका छन्। स्थानीय सरकारले ठेक्का नलगाउँदा नदी आसपासमा घर भएकाहरूले चोरी गर्ने गरेका स्थानीयहरू नै बताउँछन्। 

नदी दोहन गर्नेले खोलातर्फ जाने बाटोको मुख्य चोक चोकमा मानिस राखी उनहरूले चोरी गर्ने गरेका छन्। प्रहरीले सूचना पाएपछि पक्राउ गर्न जाँदा बाटोमा बस्नेले फोन गरी प्रहरी आएको जानकारी दिनेसम्म हुने गर्छ। 

जसका कारण चोरी गर्ने सवारी साधन समाउन प्रहरीलाई समेत धौधौ परेको छ। जिल्लाभरि बुद्धभूमि नगरपालिकामा ३ पटक, बाणगंगा नगरपालिकामा २ पटक र कपिलवस्तु नगरपालिकामा १ पटक चोरी गरेको सवारी साधन प्रहरीले पक्राउ गर्न सफल भएको छ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार नदी दोहन गर्दै गरेको अवस्थामा एक्स्काभेटर, ट्याक्टर पटक पटक पक्राउ गरेको छ। यसै गरी इलाका प्रहरी कार्यालय पिपराले एकै दिन १२ ट्याक्टर समाएको थियो।

सशस्त्र प्रहरीले कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा गरी २ पटक ट्याक्टर पक्राउ गरेको थियो। सूचनाका आधारमा पटक पटक खोलामा पक्राउ गर्न जाँदा प्रहरी खाली हात फर्कनु परेको थियो।

जनप्रतिनिधि नै चोरका नाइके, आफन्तको नामबाट नदी दोहन!

बुद्धभूमि–५ मुकुरघाटमा करिब २ महिनादेखि बालुवा डम्प गरिएको थियो। वडा नं ५ का अध्यक्ष बेचन यादवले भाइका नाममा बालुवा चोरी गरी बिक्री गर्दै आएका स्थानीय बताउँछन्।

उनले वडा नं ४ र ५ को सीमामा रहेको गुरुङ टोल नजिकको गुड्रुङ खोलाबाट बालुवा चोर्दै आएका थिए। बालुवा चोरी गर्न गौतम बुद्ध सामुदायिक वन क्षेत्रभित्र सडक बाटो बनाई खोलासम्म पुर्‍याइएको छ। बाटो निमार्णको बेला बन क्षेत्र सुरक्षाका लागि राखिएका ५ थान पोलसमेत ढलेको सामुदायिक वनका एक सदस्यले बताए। 

नगरपालिकाभित्र अवैध रूपमा नदीजन्य पदार्थ संकलन गरी राखिएको भए पनि नगरपालिकाले कुनै सोधखोज गरेको छैन। बिक्रीका लागि राखिएका त्यस्ता ठाउँमा बुद्धभूमिका केही वडाध्यक्षको पनि अप्रत्यक्ष लगानी भएको हुँदा नगरपालिकाले यसलाई बेवास्ता गरेको स्थानीयको आरोप छ।  

यता कपिलवस्तु नगरपालिकाको रुदैलाघाटबाट समेत दैनिक रूपमा बालुवा चोरी हुने गरेको छ। कपिलवस्तु नगरपालिका ६ का वडाध्यक्ष राम दिनेश यादवका भतिजा घनश्याम यादवले दैनिक रूपमा बालुवा चोरी गर्दै आएका छन्।

उनले स्थानीय पत्रकारलाई समेत मिलाएको भनेर धाक लगाउँदै हिँड्ने गरेका छन्। रातको समयमा चोरी गर्दा सुरक्षाकर्मी आउन सक्ने चोक चोकमा मानिस खडा गरेर उनले चोरी गर्ने गरेका स्थानीयको दाबी छ। 

ट्याक्टरको माध्यमबाट संकलन गरिएका सामग्री उनले खोला नजिकै राख्दै आएका छन्। नगरपालिकाको रिङ्गरोड बनाउन संकलन गरिएको स्थलमा लुकाएर राखेको हुँदा कसैले शंका गर्न नसक्ने हुँदा उनलाई सजिलो भएको छ। 

प्रहरीले समाउँछ तर जरिवाना नभई छुट्छन्

बुद्धभूमि नगरपालिकाभित्र चोरी गर्न लाग्दा गोरुसिंगे प्रहरीले ४ ट्याक्टर समाएको थियो। वडा नं १ मा नगरपालिकाबाट बजेट विनियोजन गरी सञ्चालन भएको योजनाका लागि ढुंगा चोर्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले समाएको थियो।

प्रहरी आएको सुइँको पाएपछि लोड गरेका ढुंगा चालकले खसालेका थिए। पक्राउ गरेको साधनमा सामग्री नभएपछि बिनाजरिवाना गाडी फर्काइएको थियो। प्रचलित कानुनअनुसार लोड नभएका सवारी साधनलाई जरिवाना गर्ने नियम नभएको हुँदा कागज गराई फर्काएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.