पाल्पा : तानसेन नगरपालिका-८, मदनपोखरास्थित देउरालीकी तुलसा चिदी गाउँमै रोजगार पाउँदा मख्ख छिन्। घर नजिकै रहेको ढाका उद्योगमा उनले जागिर पाएकी छन्। जहाँ उनले काम गर्न थालेको १२ वर्ष पूरा भयो। ढाका बुनेरै मासिक १२ हजार कमाउँछिन् चिदीले।
६ वर्ष मलेसिया काम गदै आएका श्रीमानलाई समेत उनले घरमा फर्काएकी छिन्। अहिले श्रीमान श्रीमती ढाका बुन्ने काममा नै व्यस्त छन्। श्रीमानले पनि मासिक १० हजार रुपैयाँ कमाउँछन्। 'गाउँघरमै रोजगार पाउँदा एकआपसमा दुख सुख साटेर सबै परिवार घरमा सँगै बस्न पाएका छौं। महिनामा १५ दिनजति यहाँ काम गर्छौ, बाँकी १५ दिन घरायसी काम गर्छौं,’ उनले भनिन् ‘जीविकोपार्जनमा निकै सहज भएको छ, आर्थिक समस्या टरेको छ।’ पारिश्रमिक कम भएकोप्रति भने उनले गुनासो गरिन्।
मदनपोखरास्थित भगवती टोलकी लक्ष्मी विश्वकर्माले पनि ढाका बुनेरै मासिक १० हजार रुपैयाँ आम्दानी गर्छिन्। उनले पनि यहाँ काम गर्न थालेको १२ वर्ष भयो। बिहान घरको काम सकेर ढाका बुन्न आउँछिन्। अनि साँझपख घरको काम गर्न पुग्छिन्।
‘घरको काम पनि बिग्रिएको छैन, घर खर्च चलाउन श्रीमानको मुख ताक्नु परेको पनि छैन,’ उनले भनिन्, ‘घर नजिकै पाएको रोजगारीले खुसी प्राप्ति भएको छ, श्रीमान रोजगारको सिलसिलामा विदेशमा हुनुहुन्छ, दुवैजना कुनै न कुनै रूपमा आर्थिक उपार्जनमा जोडिन पाउँदा खुशी लागेको छ।'
रानाटोलका ४५ वर्षीय चन्द्रबहादुर राना र उनकी श्रीमती मिनाकुमारी पनि ७ वर्षदेखि यहींँ कार्यरत छन्। फुर्सदको समयमा १५ दिनजति ढाका बुन्न आउँछन्।
ढाका बुनेर १५ दिनमा सरदर १५ हजार रुपैयाँ कमाउने गरेको चन्द्रबहादुरले बताए। उनीहरू दैनिक ५ घण्टा ढाका बुन्ने काममा खटिइन्छन्।
देउरालीकी जमुना राना र मनिषा चिदी क्याम्पस पढ्दै छन्। जमुनाले मस्याम एकीकृत क्याम्पसमा स्नातक तेस्रो वर्ष र मनिषा तानसेन बजारमा रहेको तानसेन बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययन हुन्। उनीहरू बिहानीपख क्याम्पस जाने र दिनभर ढाका बुन्ने काम गर्छन्।
२० दिन पहिलादेखि ढाका बुन्न आएका उनीहरूले दैनिक ३ सय रुपैयाँका दरले आम्दानी गरिरहेका छन्। एक जनाले मासिक कम्तिमा १५ हजार रुपैयाँ कमाउने लक्ष्य राखेका छन्। गाउँमा पाएको रोजगारलाई सदुपयोग गरेको जमुनाले बताइन्। पढाइसहित आफूलाई आवश्यक खर्चको लागि यहींको कमाइले व्यवस्थापन हुने मनिषाले सुनाइन्।
यहाँ २० जना महिला तथा पुरूषले प्रत्यक्ष रोजगार पाएका छन्। तानमा ढाका बुन्दा मिटरको हिसाबले पारिश्रमिक पाउँछन्। एक मिटर पाल्पाली ढाका बुनेको ३५० र एक मिटर पूर्वेली ढाका बुनेको १५ सय रुपैयाँसम्म पारिश्रमिक दिइने गरिएको ढाका उद्योग सञ्चालक दुर्गा बहादुर सारूले बताए। उनका अनुसार फूर्सदमा काम गर्दै आएका कामदारले पनि मासिक कम्तिमा १२ हजार रुपैयाँसम्म कमाउने गरेका छन्। उनी भन्छन्, 'मेहनत गर्नेलाई यहाँ काम र दामको समस्या छैन।'
यस उद्योगमा उत्पादन भएको ढाका कपडा जिल्लाको सदरमुकाम तानसेन बजार र बुटवल तथा भैरहवामा खपत हुँदै आएको छ। यहाँ पाल्पाली र पूर्वेली ढाका उत्पादन गरिन्छ। ‘स्थानीयले गाउँमै रोजगार पाएका छन्,’ उद्योग सञ्चालक सारूले भने, ‘परिवार पाल्नकै लागि मलाई पनि विदेश जानु परेको छैन, यसैमा खुशी छु।’
वार्षिक करिब २५ लाख रुपैयाँ बराबर कारोबार भइरहेको उनले बताए। उनी भन्छन्, 'राज्यले यस्ता उद्योग विस्तार गर्न आवश्यक आधुनिक सीप, प्रविधी र आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ।'
समाजसेवी सोमनाथ अर्याल पाल्पाली ढाकाको पहिचानलाई विस्तार गर्नुपर्ने बताउँछन्। विवाहमा दुलहाले लगाउने दौरासुरुवाल र दुलहीले लगाउने सारी समेत ढाकाकै प्रयोग गर्न उनी सुझाव दिन्छन्। पाल्पाबाट अन्य ठाउँमा विवाहमा जन्ती जाने सबैले ढाकाको कोट लगाए यसको बजार थप विस्तार हुने उनको भनाइ छ।
ढाका बुन्ने सीप भएकालाई व्यवसाय गर्न चाहेमा नगरपालिकाले बिना व्याज ऋण उपलब्ध गराउने तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले बताए। विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर ढाका व्यवसायीलाई ब्याज तथा धितो बिना नै ऋण उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।