|

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ मिति तय गर्ने विषय झन् अन्योल बनेको छ।  ०७६ फागुनमा नियमित कार्यकाल सकिएको सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले एक वर्ष कार्यकाल थप गर्दै आगामी फागुन ७ गतेलाई महाधिवेशनको नयाँ मिति तोकेको छ। 

तर, यो मितिमा महाधिवेशन नहुने पक्का भइसकेको छ। फागुनमा महाधिवेशन सम्भव नभएपछि २०७८ जेठ या भदौलाई नयाँ मितिको बहस भइरहेको बेला प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेसँगै कांग्रेस अलमलमा परेको देखिन्छ। 
 

फागुनबाट ६ महिनाको अवधिमा पनि महाधिवेशन नभए विधानअनुसार देउवा नेतृत्वको कार्यसमिति कामचलाउ हुने पक्का छ। 

क्रियाशील सदस्यता वितरण, नवीकरण र सांगठनिक समायोजनको काम समयमा नसकिएको र कोरोना भाइरस संक्रमणको कारण समयमै महाधिवेशन हुन नसकेको कांग्रेसको भनाइ छ।

‘पहिले नेतृत्वकै इच्छाशक्ति पनि भएन। पछि कोरोना भाइरसको संक्रमण फैलियो। क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजनको काम पनि तोकिएको कार्यतालिका अनुसार भएन,’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘अब झन् संसद् विघटनको विषयले महाधिवेशन कहिले हुन्छ भनेर यसै भन्न सकिने अवस्था छैन।’ 

घिमिरेले संसद् विघटनको विषयमा सर्वोच्चले फैसला नसुनाउँदासम्म महाधिवेशनको नयाँ मिति तय नगर्ने बताए। कांग्रेसले दोस्रो पटक संशोधन गरेको कार्यतालिका अनुसार स्थानीय तहको अधिवेशन माघको पहिलो हप्तामा गरिसक्नुपर्नेछ।

कांग्रेसले कार्यतालिका बनाएअनुसार कुनै पनि काम सम्पन्न हुन नसकेपछि फागुनको महाधिवेशन नयाँ मितिमा धकेलिने पक्का भएको हो।

केन्द्रीय सदस्य घिमिरेले माघ मसान्तसम्ममा स्थानीय तहले क्रियाशील सदस्यताको विवरण पठाउनुपर्ने समयसीमा तोकिएको बताए। क्रियाशील सदस्यताको काम, संगठन समायोजनको काम  संशोधित कार्यतालिका अनुसार सम्पन्न भए पनि मितिको विषयमा भने कांग्रेसभित्र अन्योल छ। 

‘फागुनमा महाधिवेशन हुन सम्भव छैन भनेर भनिरहनै परेन। संसद् विघटन विरुद्धको रिटमा के सुनुवाइ हुन्छ त्यसले नयाँ मिति तोक्न मार्ग प्रशस्त हुन्छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘ किन भने सर्वोच्चले संसद् विघटनकै पक्षमा सुनुवाइ गर्‍यो भने निर्वाचनको तयारीमा लाग्नुपर्ने हुन्छ। त्यसैले अहिले नै यसो होला भन्न सकिन्न। तर, भदौअघि महाधिवेशनको मिति तोकिन सम्भव छैन र महाधिवेशन हुन पनि सम्भव छैन भनेर भन्न भने सकिन्छ।’  

पौडेल पक्ष पनि पछि हट्यो

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि अहिले फागुनमै महाधिवेशन हुनुपर्छ भन्ने आफ्नो अडानबाट पछि हटेको छ। वरिष्ठ नेता पौडेल पछिल्लो पटकको केन्द्रीय समितिको बैठकमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा भन्दा पनि संसद् विघटनविरुद्ध सडक आन्दोलन चर्काउनुपर्नेमा केन्द्रित भएको बताइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.