|

धनगढी : धनगढी सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि शुक्रबार बिहानै विमानस्थलमा तीनवटै सुरक्षा निकायका प्रमुखहरु पुगेका छन्। 

 विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सुरक्षार्थ विमानस्थलदेखि खुला मञ्चसम्म नेपाली सेनाको विशेष टोली समेत परिचालन गरिएको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको जनाएको छ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिए। 

सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत बिहीबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रम स्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन गरिएका छन्।

चेकजाँचका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको छ। नेकपा विभाजनपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन्।

ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भएपनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.