|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आज सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध कांग्रेसले प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो। गत पुस १९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्य भएको भन्दै विरोध कार्यक्रम तय गरेको थियो।

यसअघि कांग्रेसले सरकारको कदमविरुद्ध प्रतिनिधिसभाका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिसकेको छ। केन्द्रीय कार्यसमिति बैठकले आज प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन एवं विरोध सभा गर्ने, माघ ३ मा देशैभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने र माघ ८ मा सबै वडामा विरोध प्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ।

आज दिउँसो हुने विरोध प्रदर्शन र सभामा अधिकांश शीर्ष नेताहरु काठमाडौंमै आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन्। सभापति शेरबहादुर देउवाले काठमाडौं क्षेत्र नम्बर ५ बुढानीलकण्ठमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने अन्य नेताहरुले पनि पायक पर्ने प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.