भद्रपुर : झापाको भद्रपुरमा राष्ट्रिय भक्का दिवस मनाएको छ। राजवंशी समाज विकास भद्रपुर नगर समितिको आयोजनामा शनिवार भद्रपुर ४ वडा कार्यालयको परिसरमा भक्का दिवस मनाइएको हो।
भद्रपुर ४ अध्यक्ष तथा समितिका नगर अध्यक्ष हंसधर राजवंशीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन प्रदेश सांसद पूर्णसिंह राजवंशीले गरेका थिए। प्रमुख अतिथि समेत रहेका सांसद राजवंशीले जातीय परिकार भक्का बनाएर दिवसको उद्घाटन गरे। जातीय भेषभुषामा सजिएका उनीहरूले विविध सांस्कृतिक नृत्य र भक्का बनाउने तरिका समेत प्रदर्शनी गरेका थिए। कार्यक्रममा एक सय ५ वर्षीया सुमित्रा राजवंशीलाई सम्मान गरिएको थियो।
खगेन राजवंशी र सुजता राजवंशीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ लगायतले मन्तव्य राख्दै भक्का दिवसको बारेमा जानकारी गराएका थिए। १० जना महिलाले भक्का पकाएर सहभागीहरूलाई खुवाएका थिए। कार्यक्रममा आङ्राधुम्ना नाचगान कल्चर टिमले पाचाली, नटुवा , कोच गायक विन्दास राजवंशीले र्याप गीत प्रस्तुत गरेका थिए।
विशेष गरी धान बाली भित्र्याएपछि जाडो महिनामा चेलीबेटीहरूलाई बोलाएर नयाँ चामलको पिठोबाट निर्मित भक्का खुवाउने परम्परा रहेको स्थानीय पत्रकार इन्द्रसिंह राजवंशीले बताए। यो राजवंशीको मात्र नभई गनगाई ,ताज पुरिया लगायत आदिवासी जनजातिको दिवस रहेको उनको भनाइ छ। यो दिवस मनाउने कुनै तिथि मिति नरहेको उनले प्रष्टयाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।