केही सवारीसाधन तोडफोड, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

|

सर्लाही : ​अतिक्रमणमा परेको भवन खाली गराउने क्रममा विवाद बढ्दै जाँदा सर्लाहीको चक्रघट्टा गाउँपालिकामा झडप भएको छ। 

गाउँपालिकास्थित बजारमा (आज)आइतबार मध्याह्न गाउँपालिका अध्यक्ष विक्रम यादव पक्ष, नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको हो। झडपमा केही व्यक्ति घाइते भएका छन्। 

झडप हुनासाथ अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाबाट एसपी, डिएसपीसहितको टोली घटनास्थल पुगेका छन्। झडपमा क्रममा गाउँपालिका अध्यक्ष यादव चढ्ने गाडी र गाउँपालिकाका अन्य सवारीमा समेत तोडफोड भएको गाउँपालिका कार्यलयले जनाएको छ।

घटनालगत्तै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ, भने, घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार घटनास्थल अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छ। झडपको वास्तविक कारण नखुले पनि बजारमा रहेको एउटा पसल हटाउने विषयमा विवाद भई पसल सञ्चालकमाथि कुटपिट भएको र अवस्था तनावपूर्ण बनेको बुझिएको छ।

गाउँपालिका कायम हुनुपूर्व निर्माण भएको कृषि सेजको भवनमा रहेको एक लेथ पसल हटाउन पटक पटक आग्रह गर्दा पनि नमानेको गाउँपालिका कार्यालयले जनाएको छ।

पसल संचालकलाई गाउँपालिकाले पटक पटक जानकारी गराउँदा भवन खाली गर्नुको सट्टा उल्टै एक्कासि गालीगलौजमा उत्रिएका गाउँपालिकाका अध्यक्ष यादवले बताए। घटना सामान्य भए पनि राजनीतिक मुद्दा बनाएर उचालिएको उनले आरोप लगाए। 

गाउँपालिका प्रमुखका अनुसार उक्त भवन गाउँपालिका कार्यालयले पछिल्लो समय कोरोना अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको थियो। आठ वर्षअघि कृषि सेजको रुपमा निर्माण भएको उक्त भवनमा ती व्यक्तिले पसल चलाउँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.