|

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा ज्ञापनपत्र पेस गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। 

मौका परीक्षा (रिटेक इक्जाम) दिन पाउनुपर्ने मागसहित ज्ञापन पत्र उपकूलपतिले नबुझेपछि विद्यार्थी नाराबाजीमा उत्रिएका थिए। त्यसपछि झडप भएको हो। बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म पनि ज्ञापनपत्र बुझ्न नमानेपछि विद्यार्थी नाराबाजीमा उत्रिएका थिए।

कार्यालयको गेटमा नाराबाजी गरेर बसेका विद्यार्थीलाई छिन्नभिन्न पारेर उपकूलपति रजिष्ट्रारलगायत पदाधिकारी कार्यालय बाहिर निस्कन खोजेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा विद्यार्थीमाथि लाठी चार्ज भएको थियो भने विद्यार्थीले पनि ढुंगामुढा गरेका थिए। सो क्रममा प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। ​

ज्ञापन पत्र नबुझेर विश्वविद्यालय प्रशासनले विश्वविद्यालयलाई सैनिक अखडा बनाउन खोजेको अनेरास्ववियू केन्द्रीय सदस्य महेश जिसीले आरोप लगाए। माग पूरा गरे पनि नगरे पनि ज्ञापन पत्र बुझ्नुको साटो विश्वविद्यालयले प्रहरीको आडमा विद्यार्थीमाथि धरपकड गरेको भन्दै जिसीले दुख व्यक्त गरे। 

‘मागपत्र बुझिदिए उपकूलपतिको के जान्थ्यो, समस्या सहजीकरण गर्नुको साटो विद्यार्थीलाई उत्तेजित पारेर झडप पार्ने काम भएको छ’, उनले भने, ‘विश्वविद्यालयमा निरंकुशता लादेर राज गर्ने सपना कसैले नदेखे हुन्छ।’

विश्वविद्यालयका एक प्राध्यापकले भने, 'प्रक्रियाबाट आउनुहोस्, पहिला क्याम्पस, डिनको कार्यालय हुँदै आउन भनेको सीधै माग पत्र लिएर केन्द्रीय कार्यालयमा नै नआउन भनेकाले विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीलाई क्याम्पसभित्रै थुनेर राखेको हामीले सुनेको हो, तर पछि के भयो हामीलाई थाहा छैन।’

लाठी चार्जबाट विद्यार्थी तर्क शाही र रोशन बस्नेतसहित र अन्य एक जना घाइते भएका छन्। 

उता उपकूलपतिको सचिवालयले भने उपकूलपतिमाथि भौतिक आक्रमणको दुष्प्रयास भएकाले सुरक्षार्थ खटिएका प्रहरीले सामान्य बल प्रयोग गरेको बताए। साथै विभिन्न सञ्चारमाध्यममा आएजस्तो गोली प्रहार नभएको पनि उनले बताए।

उक्त कुप्रचारप्रति उपकूलपति कार्यालयले घोर भर्त्सना गरेको उपकूलपति कार्यालयद्वारा जारी प्रेस नोटमा भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.