प्रवक्ता भन्छन्‌ : सेवाग्राहीले नै प्रकृया मिलाउन जानेनन्‌

|

काठमाडौं : सेवाग्राहीले नागरिक लगानी कोषमा रहेको खातामा पाँच महिनासम्म आफ्नो रकम जम्मा नभएको गुनासो गरेका छन्। कोषले समयमा पैसा जम्मा नगरिदिँदा सेवाग्राही मारमा परेका हुन्।

थाहाखबरको सम्पर्कमा आएका एक सेवाग्राहीका अनुसार कोषले उनको खातामा चार महिना अघिदेखि रकम राखिदिएको छैन। उनले भने, ‘चार महिनाअघि मैले कोषमा पठाइसकेको पैसा अहिले खातामा गएको छैन।’ यसबारे गुनासो गर्न जाँदा विभिन्न कारण देखाएर झुलाउने गरेकाे उनले बताए।

‘कोषमा दैनिक देशभरबाट यस्ता समस्या लिएर आउने गरेको देखेँ ,’ अर्का सेवाग्राहीले भने, ‘जागिरबाट अवकाश पाएर भुक्तानी लिनेले बैंकमार्फत रकम पाउँछन्। तर छुट रकम लिन फेरि धाउनुपर्ने रहेछ, यो कोरोनाका बेला उपत्यका आउन सजिलो छैन नि’। 

अर्का सेवाग्राहीले पनि ६ महिना बितिसक्दा समेत आफ्नो खातामा पैसा जम्मा नभएको जानकारी दिए। ‘६ महिना बित्दा पनि कोषले अझै मेरो खातामा पैसा हालिदिएको छैन,’ ती सेवाग्राहीले भने, ‘मैले जागिर छाडेपछि कार्यालयको पत्र लिएर पैसाको लागि पहिले पनि गएको थिएँ, फेरि पनि चिठी ल्याउनु भनेर कोषले भनिरहेको छ, अर्कातर्फ बीचको रकम नै खातामा देखिएको छैन।’ 

अनलाइन​ रजिष्ट्रेशन भएन

कोषमा पैसा जम्मा नहुने मात्रै होइन, सेवाग्राहीले अनलाइन प्रणालीबाट समेत सेवा पाउन सकेका छैनन्।

सोमबार कोषको कार्यालयमा भेटिएका उदयपुरका छोटेबाबु जसराजले भने, ‘मैले गत २४ गते कोषमा पैसा हालेको थिएँ, अहिलेसम्म कर्मचारी र मेरो खातामा पैसा जम्मा भए/नभएको पत्तो पाइनँ, अनि रकम नै हराउने डर भएपछि म आफैँ काठमाडौं आएँ।’ 

उनले अनलाइन प्रणालीबाट कुनै सेवा पाउन नसकेको भन्दै दुखेसो पोखे। ‘यति ठूलो लगानी कोषमा त अनलाइन सुविधा हुनुपर्छ नि!’ उनले भने, ‘अनलाइन प्रणालीबाट सेवाग्राहीले सेवा पाउन सकेका छैनन्, मैले अनलाइनबाट नाम दर्ता गरौं भनेको थिएँ, हुन सकेन।’ 

कोष भन्छ : नयाँ सफ्टवेयरले झन्‌ ढिलाई, रकम पेन्डिङमा बस्छ

लगानी कोषका प्रवक्ता उद्धव सिलवालले नयाँ सफ्टवेयर राखिएको र सबै कर्मचारी यसमा अभ्यस्त नभएकाले काममा ढिलाई भएको बताए।

उनले भने, ‘जेठबाट नयाँ सफ्टवेयर जडान भएको छ, यसमा सबै कर्मचारी दख्खल छैनन्, त्यसैले रकम समयमै  खातामा जम्मा गर्न नसकिएको हुनसक्छ, तर पनि सक्दो काम भैरहेको छ।’

प्रकृया नमिल्दा पनि पैसा जम्मा हुन समय लाग्ने गरेको उनको तर्क छ। ‘बैंकको रकम र सम्बन्धित कार्यालयको रकम एक रुपैयाँ पनि तलमाथि हुँदा पेन्डिङमा रहन्छ, सबै रकम मिलेपछि मात्रै पेन्डिङमा रहेको काम हुन्छ।’ उनका अनुसार बैंकको भौचरमा जति रकम छ : त्यति नै रकम सम्बन्धित कार्यालयको हुनुपर्छ।

उनले भने, ‘पेन्डिङमा रहेकालाई अफिसबाट फोन गर्छौं, त्यो बेला अरुले उठाएका हुन्छन्‌, फोन उठाउनेले जानकारी दिँदैन, त्यसपछि कोषले पैसा जम्मा गर्न ढिलाई गर्‍याे भनेर सेवाग्राही गुनासो पोख्छन्।

सिलवालका अनुसार अहिले कोषमा साढे चार लाख सेवाग्राही छन्। उपत्यकाबाहिर पोखरा र विराटनगरमा यसको शाखा रहेकाे छ। सबै सेवाग्राहीको कात्तिकसम्मको रकम जम्मा गरिएको र मंसिर महिनाको मात्रै बाँकी रहेको उनले दावी गरे।

उनले भने, ‘रकम र कागजपत्र नमिलेर पेन्डिङमा रहे अफिसले ती सबै कागजपत्र मिलाएको खण्डमा जम्मा गरेको महिनाबाट नै सम्बन्धित व्यक्तिले ब्याज पाउँछन, यसो नगरे पाइँदैन।’ अनलाइन रजिष्ट्रेशन नभएको विषयमा उनले भने, ‘अनलाइन प्रणाली अहिले पनि सूचारु छ, नयाँ सिस्टम भएकाले सेवाग्राहीले भर्न नसकेको हुनुपर्छ।’

उनका अनुसार अनलाइन सुविधाका लागि पहिला सेवाग्राहीले कोषको वेभसाइटमा जानुपर्छ। रजिष्ट्रेशनको लागि पहिला आइटीमा रिक्वेष्ट पठाउनुपर्छ। आइटी विभागले एसेफ्ट गर्न ढिला गरेमा रजिष्ट्रेशन गर्न समय लाग्ने उनको भनाई छ।

उनका अनुसार दैनिक २ सय जनाले अनलाइनबाट सेवा पाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.